उपनिर्वाचनमा क्षमतावान उम्मेदवारलाई मत दिन नेता अधिकारीको आग्रह

फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीले उपनिर्वाचन जितेर मन्त्री बन्ने क्षमता भएको उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन् ।

निर्वाचन परिचालन कमिटी वडा नम्बर ११ ले शनिवार आयोजना गरेको चुनावी प्रचार तथा घरदैलोअन्तर्गत आयोजित कोणसभामा उनले नेकपा उम्मेदवार विद्या भट्टराई निर्वाचन जितेपछि मन्त्री बन्ने भएकाले विकासका लागि उनलाई मत दिन आग्रह गरे ।


Advertisement

‘३ वर्ष अन्य पार्टीले कसैलाई पनि मन्त्री बनाउन सक्दैनन्, नेकपाले मात्र सक्छ । त्यसैले त्यस्तो उम्मेदवारलाई जिताएर आफ्नो ठाउँको विकास गरौं,’ उनले भने । पूर्व मन्त्रीसमेत रहेका नेता अधिकारीले वर्तमान सरकारले भूमिहीन, दलित तथा सुकुम्वासीलाई लालपूर्जा दिने कानून बनाउनका लागि नेकपाको विजयको विकल्प नभएको उल्लेख गरे । 


Advertisement

प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराईले स्व. रविन्द्र अधिकारीका बाँकी रहेका अभिभारा र प्रतिबद्धतालाई आफूले हुबहु पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । जनताले अघिल्लो निर्वाचनमा ५ वर्षका लागि अभिमत दिएपनि अकल्पनीय घटनाबाट पुनः चुनावमा आउनुपरेको भन्दै उनले आम पोखरेली जनताको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको स्पष्ट गरिन् ।

गोर्खा मेजर चन्द्रबहादुर पुनले वर्तमान सरकार आएपछि मात्र देशले विकासको लय समातेको बताउँदै वृद्धवृृद्धा, असहाय र अशक्तलाई हेर्ने पार्टीलाई जिताउन आग्रह गरेका थिए ।

घरदैलो अन्तर्गत नेकपाका नेता कार्यकर्ताले वडाका फूलबारी, मणिपाल, धरहरामार्ग अन्तर्गतका टोलहरूमा चुनावी प्रचारप्रसार गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्