विश्व नेपाली साहित्य महोत्सवको अन्तर्य : भाषिक, साहित्यिक, सांस्कतिक जागरण र एकता

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

आउँदो फागुन ६ देखि १२ गतेसम्म कैलालीको धनगढीमा विश्व नेपाली साहित्य महोत्सव आयोजना हुँदैछ । जहाँ विश्वभरिका लेखक तथा साहित्यकारहरूको जमघट हुँदैछ । महोत्सवको अन्तरवस्तुवारे अयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष समेत रहेका मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीसँग लोकान्तरकर्मी लखन चौधरीले गरेको कुराकानीको सम्पादित अंश :

विश्व नेपाली साहित्य महोत्सव २०७६ को तयारीमा हुनुहुन्छ,तयारी कस्तो हुँदैछ?


Advertisement

धनगढीमा हुने महोत्सवको तयारी जारी छ । महोत्सवको तयारी अलि अगाडिदेखि नै शुरूआत गरेका हौं । हामीले विभिन्न क्षेत्रमा, यहाँको प्रदेश सरकार, स्थानीय निकाय, जनप्रतिनिधिहरू, समाजसेवी, पत्रकारसहित सुदूरपश्चिम सहित्य समाजले विविध विषयमा छलफल थालेको छ । तयारीकै चरणमा छौं । देश विदेशका तथा संसारभरिका सहित्यकारहरूसँग सम्पर्क स्थापित गर्ने क्रम शुरू भएको छ ।


Advertisement

नेपाली भाषा,साहित्य र संस्कृतिको उद्गमस्थलको रूपमा कालीकर्णाली हो भन्ने दाबी गर्दै आउनुभएको छ । यसका आधारहरु केके हुन्?

अहिलेसम्म नेपालका विद्धानहरूले खोजी गरेको नेपाली भाषा कहाँबाट शुरूआत भयो ? यसको पहिलो शिलालेख कहाँ भेटिएको छ ? खोजीनीति गर्दा अहिलेसम्मको पहिलो प्रमाणित शिलालेख अशोक चल्लको शिलालेखलाई मानिन्छ जुन जुम्लाको सिञ्जामा छ । त्यो वि.स. १३१२ को शिलालेख हो । जुम्ली राजा अशोक चल्ललाई मल्ल पनि भनियो । शिलालेखमा ‘हाम्रा आली अटली अटल करी अक्र्‍र्याछु’ भनेर नेपाली वाक्य लेखिएको छ । जसको तात्पर्य हाम्रो राज्यको साँध सिमानाहरूलाई, त्यतिबेलाको कर्णाली राज्य, सिञ्जा राज्यको साँध सिमाना अटल गरेको छु । तोकेको छु, सुरक्षित राखेको छु भन्ने अर्थमा लिइन्छ । त्यो शिलालेख अहिलेसम्म पाइएको छ । तर त्यसभन्दा अझ अगाडि पश्चिमतिर बढ्ने हो भने हाम्रो गाथाहरू जो डोटी राज्यको, हालको सुदूरपश्चिम प्रदेशमा मागलका रूपमा, धमारीका रुपमा, गीतको रूपमा पाइन्छन् । त्यसैले नेपाली भाषाको स्रोत, नेपाली भाषाको माउ थलो अथवा नेपाली भाषाको जन्म काली–कर्णाली क्षेत्रमा भएको हो । जुम्लाको सिजा त प्रमाणिक रुपमा नेपाली भाषाको उद्गम थलोको रूपमा नेपाली भाषाका विज्ञहरूले अनुसन्धानबाट पत्ता लगाएका छन् । त्योभन्दा अगाडि पनि त थियो होला नि नेपाली भाषा । शिलालेख लेख्ने बेलामा नेपाली भाषा बनेको त होइन होला । त्योभन्दा पहिलेका तथ्यहरू सुदूरपश्चिमको गाथाहरूमा पाइन्छ । जुनकारण हाम्रो दाबी काली–कर्णाली क्षेत्र नेपाली भाषाको माउ थलो, उद्गम थलो हो ।

अर्कोकुरा, नेपाली भाषाको मात्रै होइन, साहित्य र संस्कृतिको पनि उद्गम थलो । यो प्राचीन देव भूमि हो । यहाँ विभिन्न देवस्थल छन् । वैदिक कालदेखिका देवताहरूको बास छ । यो विभिन्न जातजाति, आदिवासीहरूको थातथलो हो । यिनीहरूको सभ्यता, संस्कृति भनेको अहिलेको सभ्यता, संस्कृति होइन । धेरै पुरानो हो । त्यसैले जति पनि जातजाति यताबाट पूर्वतिर बसाईं सरे, तिनीहरूको उद्गम थलो पश्चिम क्षेत्र नै हो । त्यसैले भाषा सुदूरपश्चिमबाटै गएको हो भनेर हामी दाबी गर्छौं । भाषाको जन्म यहीँ हो भने साहित्यको उद्गम पनि यतै हो । किनभने सहित्य भनेको भाषामा नै अभिव्यक्त हुने कुरा हो । हामी धेरै अगाडि त जान सक्दैनौं तर जति पनि शिलालेख, ताम्रपत्रहरू, गाथाहरू, लोकगीतहरु छन् पश्चिममा नै छन् । ऋतु मल्लको युद्ध गाथा ‘चाँचरी’, नाटकमा पहिलो नेपाली दुखान्त नाटक पहलमान सिंह स्वाँरले ‘अटल बहादुर’ लेख्नुभयो । त्यो भन्दा पहिले लेखिएको थिएन । जय पृथ्वी बहादुर सिंहले ‘अक्षारांकन शिक्षा’ लेखे । उनी राजा भएपनि राजपात त्यागेर पनि लेखेका थिए । यसरी पहिलो लेख्ने क्रम यहाँबाटै शुरूआत भएको हो ।

महोत्सवबारे अपिल जारी गर्दै मुलुक र मुलुक वाहिरका साहित्यकार,लेखक,पत्रकारहरूको जमघट हुने बताउँदै आउनु भएको छ,खासमा जमघटको अन्तर्य के हो?

एक त हामी सुदूरपश्चिम कला, साहित्य, संस्कृति, पहिचान, जातिय विविधताले धनी क्षेत्र हो । यहाँ जति प्रकृतिको वरदान छ, त्यति नै सांस्कृतिक रूपमा वैभवशाली छ । पहाडीहरूको संस्कृतिमा भुवा, हुड्केली, गमरा, देउडा, छलिया, पुतला छ । तराईमा बस्ने थारु जातिका विभिन्न संस्कृति छन् । सखिया, मंग्रहुवादेखि लिएर विभिन्न भेषभुषा, चालचलन, खानपान रहेका छन् । रानाथारुको आफ्नै पहिचान छ । हिमाली क्षेत्रका सौकाहरूको आफ्नै संस्कृति छन् । यहि सांस्कृतिक वैभवतालाई, प्राकृतिक सुन्दरतालाई विश्वसामु लैजानुपर्छ भन्ने हाम्रो मान्यता हो । किनभने हामीले हाम्रो प्रचार नगरिकन अरूले हामी कति सम्पन्न छौं भन्ने कुरा चिन्न सक्दैनन् । चिनाउने हामीले नै हो । विश्व सामु कसरी चिनाउने, लैजाने हो भन्दा यहि माध्यम हो । गोष्ठी, सेमिनार, महोत्सव, सांकृतिक प्रदर्शन नै हो । अर्कोकुरा, नेपालीहरू संसारभरि पुगेका छन् । संसारको विश्वविद्यालयहरूमा नेपाली भाषामा पढाइ भइरहेको छ । नेपालीहरूको एकताको माध्यम बनेको छ । त्यो नेपाली भाषा, जसले संसारभरिका नेपालीलाई एकजुट गरायो, त्यो यहाँबाटै गएको हो । पश्चिमबाट गएको भाषा आज परिष्कृत भएको छ । सबैको साझा भएको छ । त्यसकारण आज देशभन्दा बाहिर गइसकेपछि नेपाली भाषा र साहित्यको स्थिति कस्तो छ त ? नेपालीहरुलाई जोड्ने काम कसरी गरिरहेको छ त ? नेपालीहरु चाहे जहाँ बसुन्, चाहे भुटानमा बसुन्, चाहे बर्मामा, चाहे दाजिलिङ, सिक्किम, असाममा बसुन् । ती नेपालीहरूले अन्ततः त्यहाँ बसेर गरेको काम भनेको भाषिक एकता हो । नेपाली भाषाको प्रवर्द्धन, संरक्षण नै हो । नेपाली साहित्यको प्रचार गरिरहनु भएको छ । उहाँहरूलाई यहाँ ल्याइसकेपछि उहाँहरूबाट हामीले सिक्ने कुरा, हाम्रो साहित्य कति विशाल भयो ? अंग्रेजी भाषासँग प्रतिस्पर्धा गर्ने कसरी भयो ? आज विश्वविद्यालयहरूमा अंग्रेजी भाषामा मात्रै पढाई हुँदैन । फ्रेन्चमा मात्रै हुँदैन । नेपालीमा पनि हुन्छ । त्यो स्तरसम्म पुर्‍याउने काम त बाहिर बसेका नेपालीले गरेका हुन् नि । साहित्य साधकले गरेका हुन् । त्यसैले तिनीहरूलाई एक ठाउँमा जमघट गराउने, हाम्रो यो क्षेत्र चिनाउने, स्वागत गर्ने र बाहिरबाट पनि हामीले सिक्नुपर्ने कुरा के छ ? भन्ने कुराको अन्तरक्रियाको लागि हामीले उहाँहरूलाई बोलाएका छौं ।

सुदूरपश्चिम भन्ने बित्तिकै यहाँको अविकास,पछौटेपन,छाउपडी प्रथा,कमैया प्रथा,गरीबी,अशिक्षालाई सतहमा ल्याउँछ । वास्तवमा यहाँको भाषा,साहित्य र संस्कृतिभित्रका पस्किन लायक कुरा छन् र उहाँहरू माझ?

होइन, सुदूरपश्चिममा केही त्यस्ता अँध्यारा पक्षहरू, विवस्ताहरू छन् । तपाईले भनेको सहि हो । छाउपडी जस्तो विडम्वना, महिलाहरु माथि गरिने अत्याचार पनि यहिका महिलाले भोगे । हाम्रै भूमिपुत्र दाजुभाइले कमैयाका जिन्दगी पार गरेर आए । गरीबी यही छ, अँध्याराहरू यही छन् । तथापि त्यति मात्रै होइन सुदूरपश्चिम । सुदूरपश्चिमका धेरै उज्याला पाटाहरू पनि छन् । सबैभन्दा ठूलो कुरा यहाँको वैभवशाली संस्कृति नै छ । यस्तो अरू ठाउँमा भेटिन्नँ । त्यो भएकोले आज यो विश्वमा लैजान जरुरी छ । प्रस्तुत गर्न जरुरी छ, हामी धनी र सम्पन्न छौं भनेर । हामीले हाम्रो हिजोको गरीबी, पछौटेपन लगायत अध्यारा पाटाहरु उहाँहरू समक्ष पस्कन जरुरी छैन । यो त हामीले हिजो मुद्धाको रूपमा उठायौं । लेख्यौ । बोलेर, साहित्यमा लेखेर उठायौं । त्यो राज्यले सम्बोधन गरोस् भनेर । तर हामीले बाहिरी दुनियाँसमक्ष त्यो मुद्दा लग्ने होइन । हामीले वाहिरी दुनियाँसमक्ष हामी केमा सम्पन्नता छौं । संसारलाई के दियौं भन्ने कुरा उजागर गर्न चाहान्छौं ।

पछिल्लो समय मेला र महोत्सवको चिनारीपशुपति नाथको जात्रा सिद्राको व्यापारझै भएको छ,यो महोत्सव पनि त्यहि श्रृंखलाबाट अभिप्रेरित त छैन?

होइन, यहाँले भन्न खोजे जस्तो मेला, महोत्सव, जात्राहरूमा हाइफाइ गर्ने, रमाइलो गर्नेजस्ता यसमा हुँदैन । यो अति संवेदनशील कुरा हो । यसमा हामीले व्यापारिक मेलाको रूपमा लिँदैनौं । यसमा व्यापार प्रवर्द्धन हुँदैन । यसमा स्टल राखेर, कलाकारलाई ल्याएर, गीत गाएर, मनोरञ्जन गराएर पठाउँदैनौं । यो त्यस्तो मेला होइन । यो मेला हाम्रो भाषा, संस्कृति, सभ्यता, रहनसहन, खानपान र पहिचानलाई उठाउने मुद्दा हो । त्यहि हुनाले अति संवेदनशील कुरा हो । यसलाई हाइफाइका रूपमा, मनोरञ्जनको रूपमा लिने होइन । हामीले यसमा भाषा, संस्कृतिको उठानको लागि बहस गर्नेछौं । हामीले अब चाल्नुपर्ने कदम के हुन सक्छन्, साहित्य लेखनको क्रममा, संस्कृति अगाडि बढाउने सवालमा, विकासको मुद्दा के–के हुन् ? गहन बहस गर्छौं । नाम महोत्सवको नाम दिएपनि मनोरञ्जन गर्ने महोत्सव होइन । यति हो, यसमा हाम्रो साहित्यको चिनारी र प्रवर्द्धनको लागि केही किताबका स्टलहरू राख्छौं ।

प्रधानमन्त्रीबाट उद्घाटन हुने महोत्सवमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल 'प्रचण्ड', झलनाथ खनाल, माधव नेपाल, डा. बाबुराम भट्टराई, शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्ददेखि शान्ता चौधरी, लक्ष्मण थारुसम्म, राष्ट्रकवि माधव घिमिरे, सत्यमोहन जोशी, वरिष्ठ कवि वैरागी काइलादेखि थारु संस्कृतिका विज्ञ डा. कृष्णराज सर्वहारीसम्म प्यानल डिस्कर्सन गर्नेछौं । यतिमात्रै होइन, भारतको असम गुहाटी निवासी साहित्यकार लीलबहादुर क्षेत्री, सिक्किमका पूर्व मुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङ, सिलोङ विश्वविद्यालयका डा. टेक नारायण उपाध्याय, गुहाटी विश्वविद्यालयका प्राध्यापक डा. खगेन शर्मा, पश्चिम बंगाल विश्वविद्यालयका डा. कृष्णराज घतानीबीच पनि प्यानल बहस गर्छौं । साथै उहाँहरूलाई यहाँको भौगोलिक अवस्थाको अवलोकन भ्रमण गराउने योजना पनि हाम्रो छ ।

महोत्सवले कस्तो सन्देश दिन्छ?

नेपाली भाषा, साहित्यको उद्गम थलो हो- सुदूरपश्चिम । अर्कोकुरा संस्कृति, प्रकृति र सम्पदाको वैभवशाली सम्पन्न क्षेत्र हो । यसलाई विश्वसामु लैजान अब सुदूरपश्चिम जाग्नुपर्छ । बढ्नुपर्छ । नयाँ पिँढीमा पठन संस्कृतिको विकास गर्नुपर्छ र संसारभरिका नेपालीहरू नेपाली जातिको अस्तित्व, नेपाली भाषा र नेपाली साहित्यको लागि संसारभरिका नेपालीहरू एक ठाउँमा उभिनुपर्छ भन्ने यसको मूलभूत सन्देश हो ।

कमेन्ट गर्नुहोस्