सडक दुर्घटना पीडितको सम्झना दिवस : बस्ती रित्याउने त्यो दुर्घटना

अनुहार मलिन छ । हरपल रसाएझैं देखिन्छन् आँखा । ६१ वर्षीया दीपा अधिकारी रिजाललाई १४ वर्षअघिको दुःखान्तले आज पनि झस्काइरहन्छ । उनी चाहन्छिन्, त्यो घटना दिमागबाट मेटिएर जाओस् । तर अहँ, त्यो त आज पनि उत्तिकै ताजा छ ! उत्तिकै पीडादायी ।

दुर्घटनामा अधिकांश पुरुष गुमाएको टारीगाउँ, जहाँका १० परिवारले बस्ती नै छाडेर विस्थापित भए । 


Advertisement

०६१ माघ ८ गते शुक्रबार दाङको देउखुरीबाट बेहुली लिएर प्यूठानको टारीगाउँ फर्केको जन्तीबस गर्जेनीमा दुर्घटनामा परेको थियो । त्यो भयानक दुर्घटनामा परिवारका सबै सदस्य गुमाएकी थिइन्, बुहारी भित्र्याउने प्रतीक्षामा रहेकी बेहुलाकी आमा दीपाले । बुहारी ल्याउन आफूले अन्माएर पठाएको जेठो छोरो लोकराजसहित पति भीमकान्त, कान्छो छोरो माधव, देवर, भान्जा, भतिजालगायत ४१ आफन्तलाई त्यो दुर्घटनाले उनीबाट हठात खोसेको थियो ।

त्यसको एक वर्षपछि दीपाले गाउँको सबै सम्पत्ति बेचेर टारी छोडिन् । दाङको घोराही बजारनजिक एकतले घर किनेर छोरीज्वाइँको रेखदेखमा बस्न थालिन् । १४ वर्ष एक्लै बिताएको घरको एउटा कुनोमा थचक्क बस्दै उनले भनिन्, ‘भित्रभित्रै पोलिरहे पनि बाहिर खाटा बसिसकेको त्यो घाउ अब फेरि नकोट्याऊँ होला बाबु !’ निरन्तरको तनावले उनको रक्तचाप बढेको छ । नियमित औषधि खान्छिन् । रुँदारुँदा दुवै आँखा कमजोर भएका छन् । भर्खरै आँखाको शल्यक्रिया गरेकी छन् । कालो चस्मा लगाएर चिनजान गरेपछि बिस्तारै भनिन्, ‘मेरा लागि मात्र नभएर हाम्रो टारीगाउँकै लागि त्यो कालो दिन थियो ।’


Advertisement

घटनापछि टारीगाउँ पुरुषविहीन भयो । टारीका मात्र २२ महिला विधवा भए । तीमध्ये केहीले दोस्रो विवाह गरे । कति छोराछोरीसहित बसाइँ सरे । दीपाले भनिन्, ‘सिंगो गाउँको खुसी त्यो दिन त्यही एउटा बसभित्र थियो । गर्जेनीमै बिलायो ।’ मृत्यु भएका सबै ४१ जनालाई झिमरुक नदी किनारमा लहरै जलाइएको थियो । सबै मलामीका आँखा नदीजस्तै उर्लिएका थिए । वर्ष दिनपछिको बर्खान्त पनि एकै ठाउँमा सामूहिक रूपमा गरिएको थियो । त्यसलगत्तै दीपाले गाउँ छोडेकी हुन् ।

‘१८ वर्षमै जेठो छोरो जन्मेको थियो । बेलैमा जन्मेको छोराले बुढ्यौलीमा सुख देला भनेर एमएसम्म पढायौं । उसैको बिहेमा बज्रपात पर्‍यो,’ दीपा बिस्तारै खुलिन्, ‘ऊ सबैसँग मिल्ने स्वभावको थियो । आफ्नो बिहेमा धेरै जन्ती जानुपर्छ भनेर उसैले धेरै आफन्त बोलाएको थियो । टीकाटालो गरेर पठाएकी थिएँ । बेलुका बुहारीसहित खुसी लिएर फर्केलान् भनेको त सबै कहिल्यै नआउने गरी गए ।’

६० जना जन्ती लिएर गएको बसमा फर्कंदा ५६ जना थिए । तीमध्ये ३३ जनाले घटनास्थलमै ज्यान गुमाए भने पाँच जनाको प्यूठान अस्पतालमा, दुई जनाको बुटवलस्थित अञ्चल अस्पतालमा र एक जनाको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको थियो ।

चालकसमेत १५ जना घाइते भएका थिए । मृत्यु भएकामा टारीगाउँका मात्र २८ जना थिए । दाङका दुई जना र अरू प्यूठानकै पुण्यखोला, विजयनगर र खलंगाका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्