आलमको औकात: प्रतिस्पर्धीलाई ‘सिध्याउनै’ लाग्थे, यस्तो छ इतिहास

गौर–चन्द्रनिगाहपुर सडक खण्डको बमनहरबाट झन्डै ७ किलोमिटर पश्चिम गएपछि राजपुर फरदहवा गाउँ आउँछ ।

बाक्लो बस्ती र साँघुरो सडक रहेको त्यही गाउँका नेता हुन् मोहम्मद आफताब आलम । १२ वर्षअघिको बम विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेका आलम अहिले पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।


Advertisement

राजपुरमा मुस्लिम समुदायको झन्डै ६ हजार ५ सय परिवार छ । त्यहाँ अन्य समुदायका मानिस कम छन् । राजपुरमा जोकोहीले सजिलै प्रवेश पाउन सक्दैनन् । गाउँमा नयाँ मानिस आयो भने स्थानीयले केरकार गर्छन् । एकैछिनमा वरपरका मानिस जम्मा हुन्छन् । त्रास देखाएर फर्काउँछन् ।

यस क्षेत्रमा २०१५ सालदेखि नै शेख परिवार राजनीतिमा हाबी हुँदै आएको छ । त्यसबेला शेख इद्रिसले राजनीति गर्थे । इद्रिसको राजनीतिक बिँडो उनका भतिज आलमले थामे । उनका भाइ महताबले पनि कांग्रेस जिल्ला सभापतिमा दुईपटक प्रतिस्पर्धा गरेका थिए तर हारे । आलमका बुबा सिद्धिकी भने राजनीतिमा त्यति चासो राख्दैनथे ।


Advertisement

२०५१ सालमा इद्रिस वनमन्त्री हुँदा आलमले सबै काम हेर्थे । मन्त्रालयमा उनकै हालीमुहाली थियो । कांग्रेस नेता इद्रिसको निधनपछि २०५३ मा भएको उपनिर्वाचनबाट आलम पहिलोपटक संसद्मा पुगेका हुन् । उनी हक्की र जिद्दी स्वभावका छन् । त्यो स्वभाव अहिलेसम्म कायम छ । २०५३ सालको संसदीय निर्वाचनमा कांग्रेसका आलमसँग तत्कालीन एमालेका जिल्ला नेता शेख अब्दुल कलामले प्रतिस्पर्धा गरेका थिए । पछिल्लो २०७४ को संसदीय निर्वाचनमा तत्कालीन एमालेका शैलेन्द्र साह प्रतिद्वन्द्वी थिए ।

आलमले बुथ कब्जा गरेर चुनाव जित्दै आएको आरोप लाग्ने गरेको छ । उनले बम पड्काएर, मतदातालाई त्रासमा परेर र हतियार देखाएर बुथ कब्जा गरेको भन्दै विपक्षी उम्मेदवारहरू हरेक पटक निर्वाचन आयोगमा उजुरी गर्न जान्थे । नेता कलामका अनुसार आलमका मानिसले चुनावको अघिल्लो दिन घरघर पुगेर मतदातालाई धम्क्याउँथे । अन्य पार्टीका मानिसलाई मतदान केन्द्रमा जान दिँदैनथे र उनीहरूले नै पालैपालो मत खसाल्थे । आलम पक्षधरको नारा हुन्थ्यो, ‘हारेङ्गे तो हुरेङ्ग (हार्‍यौं भने पिट्छौं) ।’ त्यसैले उनको विरोध गर्ने आँट स्थानीयले गर्दैनथे ।

आलम २०७० को संविधानसभामा निर्वाचनमा भने आफ्नै भान्जा मुस्ताक राजासित हारेका थिए । आलमले बेवास्ता गरेपछि मुस्ताक तत्कालीन फोरम लोकतान्त्रिकबाट चुनावमा उत्रिएका थिए । उनले आलमलाई बुथ कब्जा गर्न दिएका थिएनन् । राजपुर फरदहवाका मतदाताले २०७० सालयता मात्र मतपत्र देख्न पाएको स्थानीय रामबहादुर साहले सुनाए । ‘राजपुरमा पूर्ण लोकतन्त्र आएको छैन,’ उनले भने, ‘आलमकै मानिसले गाउँभरिका मतदाताको नाममा भोट हाल्थे ।’

स्थानीयका अनुसार चुनावका बेला आलमका कार्यकर्ताले बमबारुद प्रयोग गर्थे । प्रायः मतदानको अघिल्लो रात बम पड्काइन्थ्यो । बुथ कब्जा गर्न बिहारबाट मानिस ल्याइन्थ्यो । ससुराली भारतको बिहार भएकाले चुनावमा उतैबाट धेरै सहयोग आउने गरेको उनका निकटस्थहरू बताउँछन् । सीतामढी जिल्लास्थित मुहवरको धनाढ्य बेगम परिवार आलमको ससुराली हो । आलमसामु उनका कार्यकर्ता खुलेर बोल्न सक्दैनथे । २०६४ चैत २७ को बम विस्फोटबारे बुझ्न गएका मानव अधिकारीकर्मीलाई दुर्व्यवहार गर्न खोजिएको थियो । विस्फोटमा परेका घाइतेलाई जलाएको भनिएको ठाउँको तस्बिर खिच्न अहिले पनि प्रतिबन्ध छ । विस्फोट भएको गोठमा कसैलाई छिर्न दिइँदैन ।

शेख इद्रिसको मृत्युपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आलमलाई च्यापेका थिए । तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का २०५३ सालको चुनावमा आलमलाई जिताउन रौतहट आएका थिए । मधेस आन्दोलनका बेला आलम मधेसकेन्द्रित दलहरूप्रति आक्रामक रूपमा प्रस्तुत हुन्थे । उनीहरूका मागको विरोध गर्थे ।

आलमसित चुनावी प्रतिस्पर्धा गरेका पूर्वएमाले नेता अब्दुल कलाम आजादका अनुसार भारतमा ससुराली भएकाले आलमलाई पारिको गुन्डा प्रयोग गर्न सहज थियो । ‘आलम आफ्ना प्रतिद्वन्द्वीलाई भ्याएसम्म सिध्याउने प्रयास गर्थे,’ उनले भने, ‘उनले झूटो मुद्दा लगाएर विपक्षीलाई फसाएका कैयौं घटना छन् ।’ तत्कालीन माओवादीले ०५४ मा आलमको घरमा आक्रमण गरेको थियो । ‘तर राजनीतिक प्रतिशोध साध्न आलमले मेरो नाममा उजुरी दिएर फसाउन खोजे,’ कलामले भने । उनका अनुसार ०६५ मा राजपुरकै मोजरे आलमलाई आफन्तको खेतको निहुँमा विवाद हुँदा बलात्कारको मुद्दा चलाएर फसाइएको थियो । पूर्वएमाले नेता साहले आलमले बुथ कब्जा गरेर मात्र चुनाव जित्दै आएको बताए । राजपुर बमकाण्डका बेला प्रहरीसमक्ष घटनाको निवेदन दिने साह नै पहिलो व्यक्ति हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्