ग्यासको माग घट्न थाल्यो

 भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन राममन्दिर या बाबरी मस्जिदलाई दिने निर्णय गर्नुअघि सम्भावित दंगा टार्न भारत सरकारले कात्तिक २३ मा नेपालगन्ज नाका एक दिन बन्द गरेको थियो।

त्यसलगत्तै सार्वजनिक भएको भारतको नयाँ राजनीतिक नक्सामा सुदूरपश्चिम नेपालको सीमानाको भूभागसमेत समावेश गरेपछि सम्भावित नेपाल–भारत तनाव र नाकाबन्दीसम्मको अनुमानले खाना पकाउने ग्यासको जम्माखोरी (होर्डिङ) भएको छ।


Advertisement

नियमित आपूर्ति भइरहे पनि जम्माखोरीका कारण ग्यासको सुलभ आपूर्ति गर्न समस्या भएकोमा यो साताभित्र समस्या समाधान भइसक्ने एलपी ग्यास उद्योग संघले जनाएको छ। ‘केही दिनमै आपूर्ति सहज हुन्छ, पालोमा बस्नु पर्दैन,’ एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले भने, ‘अघिल्लो साता एक्कासी बढेको माग अब क्रमशः पुरानै लयमा फर्कन थालेको छ।’


Advertisement

उद्योगीका अनुसार हल्लाका भरमा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर साटेर भण्डारण गरेका कारण ग्यास आपूर्तिमा समस्या भएको हो। ‘यस्ता गलत प्रचारबाजीका कारण आमउपभोक्ता त्रसित भएर आवश्यकताभन्दा बढी परिमाणमा सिलिन्डरमा ग्यास भरेर घरमा भण्डारण गर्न थालेका छन्’, भण्डारीले भने,‘मासिकरूपमा एक थान सिलिन्डर खपत गर्ने उपभोक्ताले अहिले एकैपटकमा चारवटा सिलिन्डर भरेर घरमा जम्मा गरेका छन्। यसले गर्दा एउटाले अत्यधिक पाएको र अर्कोले एउटै नपाएको अवस्था सिर्जना भएको हो।’

भण्डारीले भारतबाट दिनहुँ पर्याप्त परिमाणमा ग्यास आपूर्ति भइरहेकाले हल्लाको भरमा परी आवश्यकताभन्दा बढी परिमाणमा सिलिन्डर भण्डारण नगर्न आग्रहसमेत गरेका छन्। उनका अनुसार भ्रमपूर्ण हल्लाका कारण अहिले बजारमा करिब ३० प्रतिशतले ग्यास सिलिन्डरको माग बढेको छ। ‘यो माग जाडो बढेर होइन, हल्लाका कारण माग बढेको हो’, भण्डारीले भने,‘जाडोयाममा पुस माघतिर मात्रै माग बढ्छ। तर यो बेला हल्लाले माग बढायो।’ अन्नपूर्ण पोस्टमा खबर छ। 

कमेन्ट गर्नुहोस्