यी हुन् गौचरणमा परिणत विमानस्थल [सूचीसहित]

तस्वीर सौजन्य : नयाँ पत्रिका

यात्रु नै नहुने स्थानमा राजनीतिक स्वार्थमा बनेका १७ विमानस्थल गौचरणमा परिणत भएका छन् । बन्द विमानस्थलमध्ये बझाङ विमानस्थलमा हालसम्म परीक्षण उडानपछि कुनै पनि उडान भएको छैन भने जिरी विमानस्थलमा उडान हुनसक्ने जहाज नै नेपालका कुनै पनि कम्पनीमा छैन । बन्द विमानस्थलमध्ये बाग्लुङको बलेवा, भरतपुरको मेघौली र मनाङ विमानस्थल आंशिक सञ्चालनमा छन् । केही विमानस्थल भने सडक पुगेपछि बन्द भएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा रहेका ४९ विमानस्थलमध्ये ३२ वटा सञ्चालनमा छन् । 

यी हुन् गौचरणमा परिणत विमानस्थल


Advertisement

बैतडी विमानस्थल 
१ सय ७५ रोपनी क्षेत्रफल रहेको बैतडी विमानस्थल ०३४ फागुन १६ देखि सञ्चालनमा आएको थियो । तर, बन्द भएको १५ वर्ष भइसकेको छ । विमानस्थलको रनवे ५ सय ९० मिटर लम्बाइ २० मिटर चौडाइ छ । विमानस्थलमा भएको कन्ट्रोल टावर र टर्मिनल भवन द्वन्द्वकालमा भत्काइयो । त्यसपछि पुनर्निर्माण भने भएको छैन ।
  
बझाङ विमानस्थल 
१ सय ३० रोपनी क्षेत्रफलको यो विमानस्थल ०३३ कात्तिकदेखि सञ्चालनमा आएका थियो । रनवे ६ सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यहाँ टेस्ट फ्लाइट मात्रै भयो । तर, चालू आवमा पिच बनाउन ३ करोड ३३ लाख विनियोजन गरिएको छ । विमानस्थलमा टावर र टर्मिनलको भए पनि प्रयोगविहीन छ । यो विमानस्थल बन्द भएको पाँच वर्ष भइसकेको छ ।  

दार्चुला विमानस्थल 
दार्चुला विमानस्थल ०४२ माघ १३ देखि सञ्चालनमा आएको थियो । ८९ रोपनी क्षेत्रफल रहेको विमानस्थलको रनवे ५ सय ९० मिटर लम्बाइ र ३० मिटर चौडाइको छ । अहिले यो विमानस्थलको रनवेअगाडि नै पुल निर्माण गरिएको छ । सोहीकारण विमानस्थल पुनः सञ्चालन गर्न सक्ने–नसक्ने भन्ने विषयमा प्राधिकरण अन्योलमा छ । १० वर्षदेखि बन्द रहेको विमानस्थल सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ ।   


Advertisement

ढोरपाटन विमानस्थल 
ढोरपाटन विमानस्थल ०३० असोज ८ गते सञ्चालनमा आएको थियो । २ सय १५ रोपनीमा फैलिएको विमानस्थलको रनवे ३ सय ६५ मिटर लम्बाइ र ३० मिटर चौडाइको छ । विमानस्थलमा घाँसे मैदानबाहेक अन्य केही संरचना छैन । ढोरपाटन आरक्षण क्षेत्रमा जाने पर्यटकका लागि बनाइएको विमानस्थल १० वर्षदेखि बन्द छ ।   

डोटी विमानस्थल 
डोटी विमानस्थल ०३० असोजदेखि नै सञ्चालनमा आएको विमानस्थल १ सय ४ रोपनीमा फैलिएको छ । ४ सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थलको पिच ५ करोड ८२ लाखमा बनाइएको छ । यो आवमा पनि विमानस्थल बनाउन १ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । तर, १० वर्षदेखि यहाँ कुनै वायुसेवा कम्पनीले उडान भरेका छैनन् । 

जिरी विमानस्थल
०३३ कात्तिकदेखि सञ्चालनमा आएको जिरी विमानस्थल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थलको रनवे ३ सय ६८ मिटर लम्बाइ र १८ चौडाइमा छ । यो विमानस्थलमा पिलाटस पोटर जहाज मात्रै उडान भर्न सक्छन् । तर, नेपालका वायुसेवा कम्पनीले यस्तो खालका जहाज हटाइसकेका छन् । विगत १० वर्षदेखि यो विमानस्थलमा व्यावसायिक उडान 
भएका छैनन् । 

कांग्रेलीडाँडा विमानस्थल
सोलुखुम्बुको कांग्रेडाँडा विमानस्थल ५ वर्षदेखि बन्द छ । ०५९ फागुनदेखि सञ्चालनमा आएको विमानस्थल १ सय ३४ रोपनी क्षेत्रफलमा छ । विमानस्थलको रनवे ५ सय २० मिटर लम्बाइ र २६ मिटर चौडाइ छ । 

लाङटाङ विमानस्थल
रसुवास्थित लाङटाङ विमानस्थल १ सय ६० रोपनीमा फैलिएको छ । रनवे ४ सय २० मिटर लम्बाइ र ३० मिटर चौडाइमा रहेको विमानस्थल नेपालको दोस्रोमा उचाइमा पर्छ । पाँच वर्षदेखि बन्द विमानस्थलमा कुनै संरचना छैन ।  

महेन्द्रनगर विमानस्थल
महेन्द्रनगर विमानस्थल ०३० पुस १५ मा स्थापना भएको हो । ६ सय ९९ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको रनवे ८ सय ८५ मिटर लम्बाइ र ३० मिटर चौडाइ छ । महेन्द्रनगरनजिक धनगढीमा पनि विमानस्थल छ । जसका कारण यात्रुहरूको चाप कम रहेको प्राधिकरणले बताएको छ । साथै, विमानस्थलनजिक शुक्लाफाँट आरक्षण पर्छ । यो विमानस्थलको रनवे नर्थ साउथ ओरिएट्सन भएका कारण जोखिमपूर्ण रहेको प्राधिकरणले बताएको छ । यो विमानस्थलमा ५ वर्षदेखि व्यावसायिक उडान भरेका छैनन् । 

मसिनेचौर विमानस्थल 
डोल्पाको मसिनेचौर विमानस्थल ०७० पुसमा निर्माण भएको हो । १ सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको रनवे ६ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ छ । विमानस्थल रनवे पिच गर्न २० करोड रुपैयाँको दुई वर्षअगाडि नै सम्झौता भएको हो । यो आवमा १० करोड रकम विनियोजन गरिएको छ । तर, विमानस्थालमा ५ वर्षदेखि उडान भएको छैन ।  

पालुङटार विमानस्थल
गोरखाको पालुङटार विमानस्थल ०१७ मा निर्माण भएको हो । ४ हजार २ सय ३५ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको रनवे १ हजार ६७ मिटर लम्बाइ र ३० मिटर चौडाइ छ । यो विमानस्थलमा १५ वर्षदेखि व्यावसायिक उडान भएको छैन । 

रोल्पा विमानस्थल
८३ रोपनी क्षेत्रफलमा रोल्पा विमानस्थल ०३७ मंसिर १ गते निर्माण भएको हो । यसको रनवे ४ सय ५७ मिटर लम्बाइ र ३० मिटर चौडाइ छ । द्वन्द्वकालमा यो विमानस्थलको प्रयोग गरियो । तर, अहिले यहाँ कुनै भौतिक संरचना छैन । 

स्याङबोचे विमानस्थल 
३ हजार ७ सय ४८ मिटर उचाइमा रहेको स्याङबोचे विमानस्थल सबैभन्दा बढी उचाइमा रहेको छ । १ सय ६ रोपनीमा फैलिएको विमानस्थलमा ४ सय ५ मिटर लम्बाइ र ३० चौडाइको रनवे छ । धेरै उचाइमा भएका कारण यो विमानस्थलमा ठूला विमानले उडान भर्न सक्दैनन् । त्यसैले यहाँ उडान भर्ने जहाजको अभाव छ । 
 
टीकापुर विमानस्थल 
टीकापुर विमानस्थल ०४१ मंसिर १ गते निर्माण भएको हो । विमानस्थल २ सय २३ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थलको रनवे ५ सय ७३ मिटर लम्बाइ र ३० मिटर चौडाइ छ ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।
 

कमेन्ट गर्नुहोस्