वैकल्पिक शक्तिलाई उपनिर्वाचनले दिएको सन्देश र अबको बाटो

साझा पार्टी स्थापनाको छोटो अवधिमा नै र विवेकशील नेपाली दलसँगको एकतालगत्तै तराजु चुनाव चिन्ह लिएर केन्द्र र प्रदेशको निर्वाचनमा होमिएको विवेकशील साझा पार्टीको एक स्पष्ट नारा थियो 'समृद्धि हाम्रै कालमा' ।

समृद्धि हेरेरै मर्ने हो भन्ने अठोटका साथ बीबीसी नेपाली सेवा प्रमुख पत्रकार रविन्द्र मिश्र, विकासविद् डा. सूर्यराज आचार्यले बौद्धिक जगतमा राम्रै चर्चासमेत बटुले । काँग्रेसका महामन्त्रीसमेत रहेका प्रकाशमान सिंहलाई उनकै थातथलोमा झण्डै पछारेर अनि देशव्यापी एकप्रकारको सकारात्मक सन्देश प्रवाह गरेर विकल्पको रुपमा आफूलाई उभ्याउने संकेत पनि दिए ।


Advertisement

यसका लागि साथ थियो अन्तर्मुखी उज्वल थापा र जोसिली युवा रञ्जु दर्शनाको । साथमा थियो, हजारौं युवाको दरिलो हात र जोसिलो साथ ।

'यो पटक राष्ट्रिय पार्टी अर्को पटक नेतृत्व' भन्ने आशलाग्दो नाराले राजनीतिप्रति वितृष्णा राख्ने युवा जमातलाई त आकर्षित गर्यो नै साथै छोराछोरी विदेशिएका हजुरबुवा हजुरआमा र बाआमा पुस्तालाई पनि आफ्ना बालबच्चा आफूसँगै राखेर खुसी साथ जीवन बिताउनु उत्तम जीवनयापन हो, जुन सम्भव छ भन्ने प्रकारको सकारात्मक सन्देश पनि दियो ।


Advertisement

नतिजास्वरुप सो पुस्ताले पनि यो सन्देशलाई उत्साहपूर्वक नै लिएको देखियो ऊक्त चुनावताका । तर राष्ट्रिय दल हुन आवश्यक तीन प्रतिशत र केन्द्रीय निर्वाचनमा कम्तिमा १ सांसद हुनुपर्ने बाध्यकारी थ्रेसहोल्डको नजिक पुगेर पनि विसा राष्ट्रिय पार्टी हुनबाट रोकियो ।

यद्यपि जकडिएको राजनीतिक संस्कार बोकेको नेपाल जस्तो समाजमा दशकौंदेखि राजनीतिमा रहेका अन्य कयौं दललाई समेत राष्ट्रिय दल हुनबाट रोकेको यो अवस्थामा जे जस्तो मत विसाको पोल्टामा पर्यो त्यो आम नागरिकको कांग्रेस/कम्युनिस्टको विकल्पको खोजीको संकेतको रुपमा लिन सकिन्थ्यो ।

राजनीतिको धरातलमा टिकिरहन वा प्रभावकारी अस्तित्वमा आउन केवल सामाजिक सञ्जाल र शहर केन्द्रित मात्र नभएर देशको कुना कन्दरा जानुपर्ने र पार्टीको मार्गदर्शक सिद्धान्त, नीति तथा कार्ययोजना र संगठन विस्तार योजना के कसरी अघि बढाउने भन्ने विषयमा गहन छलफल सहितको ठोस योजना जनमानससमक्ष त्यो पनि गाउँसम्म लैजानुपर्ने चुनौती विसासामु खडा भयो ।

चुनावी समीक्षा सँगै विसा स्पष्ट खाका र कार्यदिशासहित सो मार्गका लागि विकल्प खोजिरहेका आमजनतासामु विकल्पको आशा जगाउने माध्यम पनि बन्नु थियो ।

उक्त भावसहितको सन्देश राजनीतिमा नभए पनि राजनीतिको वातावरणसँग परिचित मिश्र, तथा विकासविद् आचार्य, केही पार्टीका कार्यमा अनुभव बटुलिसकेका मुमाराम खनाल तथा गम्भीर प्रकृतिका उज्वल थापा अनि उर्जावान मिलन पाण्डे र रन्जु दर्शना सहरी विकास विज्ञ किशोर थापा तथा प्रदेशसभा सदस्य भैसकेका रमेश पौडेल लगायतले पक्कै पनि मनन गरिसकेको हुनुपर्छ ।

विसा उपर पलाउँदै गरेको आशा भरोसालाई एकीकृत रुपमा शक्तिमा बदल्ने अवसर थियो र सामाजिक सञ्जालमा सुपरिचित र सहरी नागरिकले शंकास्पद लाभ दिएका विसाले यो बन्दै गरेको परिचय र शंकाको लाभ लाई भरपुर उपयोग गर्दै पार्टीको परिचय स्थानीय तह र दुरदराज सम्म लैजानुपर्ने एउटा ऐतिहासिक जिम्मेवारी पाएको थियो ।

सीमित स्रोत साधन पार्टी प्रति आस्था राख्ने सीमित युवा र अनुभवी टोली केन्द्रीय समितिको निर्णयबमोजिम पूर्व-पश्चिम अभियानमा लाग्यो पनि । दुर्भाग्य सो अभियान नसकिँदै थापा नेतृत्वको विवेकशील नेपाली दल प्रदेश सदस्यसहित विसाबाट अलग भयो र पुरानै पार्टीको हैसियतमा रहने कसरतमा लाग्यो ।

केही आन्तरिक विवाद रहेको संकेत यसअघि नै बेलाबखत सतहमा नआएका हैनन, तर अस्तित्वको खोजीमा रहेको दल जो आफूलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गराउने कोशिसमा लागेका र जो उपर कैयन अस्पष्ट नीतिदेखि स्रोतको अस्पष्टतासमेतका आरोप लाग्ने गरेका अवस्थामा एकजुट भएर यी आरोपलाई चिर्दै परम्परावादी दलहरूको हैकमवादी भ्रष्ट चरित्रविरुद्ध उभिएर जनतालाई सुसूचित गराउने जिम्मेवारी वहन गर्दै आफ्नो अस्तित्व रक्षा गर्नु थियो ।

यस्तो प्रतिकूल अवस्थामा रहेको दल फुट्नुले जनतालाई दुवै पार्टीप्रति अझ संसयपूर्ण विचार राख्न बाध्य गरायो । चारित्रिक रूपमा आफूलाई अलग दावी गर्ने र अस्तित्वका लागि नै संघर्षरत एक पार्टी अलग हुनुले यिनीहरु विकल्प होईनन र यिनीहरुको पनि विकल्प खोज्नुपर्छ कि भन्ने आभाष जनतालाई भएको सन्देशका रुपमा भर्खरै भएको उपनिर्वाचनको नतिजाले संकेत गरेको छ ।

अब आफैलाई अस्तित्वमा राखिरहन र विकल्पका रूपमा स्थापित गराउन अझ बढि कसरत गर्नुपर्ने एकमात्र म्याण्डेट यो उपनिर्वाचनले बैकल्पिक शक्तिहरुलाई दिएको छ । विशेषगरी साझालाई ।

अबको बाटो के ?

अस्तित्वका लागि संघर्षरत सम्पूर्ण वैकल्पिक शक्तिहरुका लागि यो उपनिर्वाचनले गतिलै सन्देश दिएको छ । त्यसमा पनि तुलनात्मकरूपमा आशा गरिएको साझाले यो अस्तित्वको लडाइँमा अझ जिम्मेवार भएर अघि बढ्नुपर्ने खबरदारी पाएको छ ।

आफू अस्तित्वमा आउन अर्काको अस्तित्वउपर धावा बोल्नैपर्छ भन्ने परम्परागत विचारभन्दा माथि उठ्नु जरुरी छ । यसका अलावा विचारमा अझ स्पष्टता र दूरगामी महत्वका विषयमा कठोर नीति लिनु जरुरी छ ।

विकास के हो अनि विकास र समृद्धिमा कस्ता भिन्नता छन, हामीले खोजेको विकासको आधारभूत मोडल कस्तो हुनु जरुरी छ, हाम्रो विकासका आधार के के हुन् र तिनको अधिकतम उपयोग कसरी सम्भव छ, पार्टीको भारत, चीन र अन्य मुलुक प्रतिको धारणा के, भएका भनिएका परिवर्तनप्रति पार्टीको स्पष्ट दृष्टिकोण के ? जस्तो कि धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता आदिमा पार्टीको मूल धारणा कस्तो हुने

आदि विषयमा दूरदर्शी, पारदर्शी र स्पष्ट धारणा बाहिर ल्याउनु अपरिहार्य छ ।

झट्ट हेर्दा यी धारणाहरू हालको अवस्थामा पार्टी हितविपरित नै किन नहुन तर दूरगामी रूपमा ती विचारहरु देशको हितमा रहने छन र कालान्तरमा पार्टीको पनि ।

यसका अलावा आरक्षण, समानुपातिक प्रणाली, सीमाविवाद, वैदेशिक नीति, देशको शिक्षा स्वास्थ्य र सार्वजनिक यातायात क्षेत्रमा के कस्ता नीति अवलम्बन गर्ने, विकासका नाममा भएका र हुँदै गरेका विनासको वैकल्पिक नीति के हुने, भ्रष्टाचार लगायतका विसंगति र अन्य कुरीतिको प्रतिस्थापनका लागि के-कस्ता संयन्त्र खडा गर्ने, धर्म, संस्कृति, कला भाषा आदिप्रति कस्तो नीति लिनेदेखि लिएर देशको समग्र आर्थिक, सामाजिक तथा सांस्कृतिक विषयमा दस्तावेज तयार गरी सो दस्तावेज अनुसारको कार्यकर्ता प्रशिक्षणलाई आफ्ना नीति तथा कार्ययोजनालाई आवश्यकताअनुसार जनस्तरमा लैजान सके मात्र आफ्नो अस्तित्व प्रमाणित गर्न सक्लान् ।

अन्यथा केवल मुट्ठीभर सुनिएका नाम र सुपरिचित अनुहार जतिसुकै भागदौड गरेपनि नतिजा सोचेअनुरुप नआउने पक्का छ । यी नीतिगत कार्यबाहेक रणनीतिक कार्ययोजना बनाउनु पनि उत्तिकै आवश्यक छ । आफूलाई विकल्पका रूपमा उभ्याउन प्रयासरत तथा नीतिगतरुपमा समनिकट रहेका सम्पूर्ण शक्ति, पार्टी र अभियान हरुसँग कार्यकर्ता र पार्टीगत एकता गर्नु अत्यन्त जरुरी छ ।

विवेकशील नेपाली दलसँगको एकताले दिएको सकारात्मक सन्देश उक्त दलको बहिर्गमनसँगै नकारात्मक शक्तिमा परिणत भएको तितो यथार्थ उपनिर्वाचनको नतिजा हो भन्न हिच्किचाउनु प्राणघातक हुनसक्छ ।

संख्यात्मक रुपमा कसले कति मत ल्याए भन्ने कुरा गौण हुन् तर सँगै रहँदा एक र एक दुईमात्र नभई एघार पनि हुने भन्ने कुरा जति छिटो मनन गर्यो त्यति नै फलदायी हुने कुरामा साझा र विवेकशीलले मात्र होइन अन्य विकल्पका कुरा गर्ने वैकल्पिक पार्टी, शक्ति वा अभियानहरुले पनि बेलैमा बुझेको लाभप्रद होला ।

यसको अर्थ देखिने आकारको वृद्धिका लागी बिचार नमिल्ने जोकोहीसङ्ग हातेमालो गरीहाल्ने भन्ने अवश्य हैन । अन्यथा काङ्ग्रेस र कम्युनिस्टको चितवनको लगनगाठो जस्तो हुन जान्छ जुन सरासर गलत थियो, गलत हो र गलत नै रहनेछ । यसका लागि विचारको निकटतालाई अनिवार्य शर्तका रुपमा लिनु पर्छ ।

बाँकी मिल्ने र मिलाउने गौण कुराहरु हुन । तसर्थ सम्पूर्ण वीकल्पिक शक्तिहरुलाई एक ठाउँमा उभ्याउन छोटै समयमा भए पनि सङ्गालेको त्यो एकता प्रकृयाको अनुभवलाई साझाले अबिलम्ब आरम्भ गरी नयाँ यात्राको थालनी गर्नु जरुरी छ ।

एकातिर आमजनता कांग्रेस र कम्युनिष्टको भ्रष्ट आचरणबाट आजित छन् भने अर्कोतिर तिनै पार्टीबाट आफूलाई विविध कारणले अलग्याउन सक्ने वातावरण पनि छैन । यो केवल सैद्धान्तिक समर्थन र राजनीतिक आस्थाको मात्र कुरा होइन । आफूलाई पुराना पार्टीबाट अलग्याउँदा अकल्पनीय रुपमा कैयन तनाव उत्पन्न हुने र कतिपय अवस्थामा अप्रत्यक्ष सामाजिक बहिष्कारमा परिने त्रासलाई कम आँक्न मिल्दैन ।

यसका अलावा सार्वजनिक लगायतका सेवाका लागि समेत कुनै एक पार्टीको नजदिकी अपरिहार्य बनिसकेको र यसलाई समाजले पनि लगभग पचाइसकेको अवस्थामा आफूले विकल्प रोज्न खोज्दा आफ्नो जीवनयापन नै कष्टकर हुने भयले खुलारुपमा यस्ता पुरातन पार्टी त्याग गर्न नसक्ने तीतो यथार्थ बदल्न कम्मर कस्नु पनि यस्ता वैकल्पिक शक्तिको लागि जरुरी छ ।

यद्यपि जनता कुनै न कुनैरुपमा विश्वासिलो विकल्पको पर्खाइमा रहेको र विभिन्न विकल्पलाई नजिकबाट नियालिरहेको भने यथार्थ हो । आमजनताको यो खरो परीक्षामा उत्तीर्ण हुन साझाले अझै कडा परिश्रम गर्नु जरुरी छ र आफूलाई जनताको उक्त परीक्षा पार गरेर जाने चुनौतीका लागि नीति, विचार, सिद्धान्त र रणनीति हरेक कुरामा खरो उतार्दै जानु अपरिहार्य छ ।

 

रोशन खतिवडा
रोशन खतिवडा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्