के गगनचुम्बी महल र चिल्ला सडक मात्रै समृद्धिका सूचक हुन् ?

सन्तोष अधिकारी
सन्तोष अधिकारी

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर अधिकारी हाल डेनमार्कको डेमन्फोन्ट युनिभर्सिटीमा अध्ययरत छन् ।

मार्टिनले त्यसदिन मलाई अलिक चर्को स्वरमै भन्यो – आर यू नन सेन्स (तँ मुर्ख होस्) । के तँ तेरो देशमा पनि बाटो काट्दा ट्राफिक लाइट नहेरी बाटो काट्छस् ? नियम पालना गर्दैनस् ?

सायद धेरै पटक उसले मलाई पहिले नै सडकमा बाटो काट्दा र बस चढ्दा हतार नगरी चढ्न  सम्झाइसकेकाले हुन सक्छ, त्यसदिन अलिक बढी नै झर्किएको थियो ।


Advertisement

कोपनहेगनको भेस्टरपोर्ट प्रायः बढी नै व्यस्त हुने ठाउँ भएपनि मैले खासै गाडी आएको नदेखेपछि रातो बत्ती बलेपनि बाटो काट्न खोजेको थिएँ । मार्टिनले  वास्तवमा सही भनेको थियो – यहाँ मान्छेहरू गाडी नआएपनि रातो बत्तीमा बाटो काट्दैनन् र सवारी चालक पनि जेब्राक्रस खाली नै भएपनि गाडी नचलाइ रोक्छन् । मार्टिनलाई नेपालका सडकमा ट्राफिक लाइट छैन भन्ने पनि थाहा थिएन र हामी नियम मिचेर काम गर्न पायौं भने आफूलाई आफैंमाथि गर्व गर्छाैं भन्ने पनि हेक्का थिएन । उसले यो दुवै समस्या मेरो व्यक्तिगत नियतसँग मात्र सम्बन्धित छ भन्ने लागेर नै हुन सक्छ, त्यो दिन भने मैले गल्ती गर्दा उसले बढी नै झपारेको । तर ममा नेपाल हुँदा जस्तै डेनमार्क आएपछि पनि सामान्य कुरामा के नियम पालना गर्नुपर्छ र भन्ने सोचको भने अन्त्य भइसकेको थिएन ।

सायद यसरी नियम मिच्न पाएकोमा म आफूलाई गर्व गरी राखेको थिएँ कि ! अहिले त्यस्तै भान हुन्छ । यो नियम मिच्ने प्रवृत्ति केहीबाहेक हामी आम नेपालीको संस्कृति नै हो कि जस्तो लाग्छ । मार्टिनले मलाई यत्तिकैमा गम्भीर भएर सम्झायो – यू नीड टू फलो द रुल फर्म सिम्पल थिडस ! 


Advertisement

उसले थप्यो – यदि तैले सामान्य कुरालाई बेवास्ता गरिस् भनेपछि ठूला–ठूला काममा पनि केयर गर्दैनस्, किनकि तँलाई नियम पालना नगर्ने बानी बसिसकेको हुन्छ । यस्तो बानीको विकास अभिभावकमा भयो भने भोलि बच्चाले पनि त्यस्तै सिक्छ र तेरो बच्चामा पनि नियम कानून र कर्तव्यको व्यावहारिक ज्ञानको विकास नहुने भन्दै सम्झाउने प्रयास गर्‍यो ।  अनि उसले जीवनभर पढेको कुरा उपदेश दिने हो र व्यवहारमा भने नियम पालना गर्न जरुरत छैन भन्ने नै कुरामा विश्वास राख्नेछ । मेरो साढे ३ वर्षको छोरा छ, कहिलेकाहीँ म विकेन्डामा केही ढिला पुगें र धेरै गफ गर्न थालेको बेला बिउँझियो भने के तपाईले आज धेरै पिएर आउनुभएको छ भनेर सोध्छ । अनि जिस्काउँछ पनि । म र उसको ममीले उसलाई भनेका छौं कोही मान्छे धेरै ड्रिंक गर्‍यो भने अरुलाई डिस्टर्ब गर्छ भनेर । सायद छोरा निद्राबाट बिउँझँदा हामी बोलेको सुन्यो भने त्यस्तै सोच्छ होला ।

एकै ठाउँमा काम गर्ने भएकाले मार्टिन र म प्रायः घर फर्कंदा सँगै फर्कन्थ्यौं ।  उ मलाई धेरै डेनिश सिस्टमबारे सुनाउने गर्थ्यो र आफू डेनिश भएको एक खालको गर्व पनि गर्थ्यो । उसको कुरा गराइबाट यो प्रष्ट हुन्थ्यो ।
‘हामी विकेन्डमा जतिधेरै ड्रिंक गरेपनि आफूलाई सम्हाल्छौं र अरुलाई डिस्टर्ब हुने गरी हल्ला गर्दैनौं, हामी नियम मान्नुपर्छ भन्ने कुरामा चाहिँ अरु युरोपियनभन्दा पनि अगाडि छांैं जस्तो लाग्छ,’ उसले थप्यो, ‘किनकि मैले युरोपका अरु धेरै देश घुमिसकेको छु र देखेको पनि छु ।’ उ कुरा गर्दा ‘म’भन्दा पनि ‘हामी’ भन्ने शब्दलाई प्रयोग गर्थ्यो । यसको तात्पर्य थियो, यो सबै सिस्टमको विकास, नियमको पालना, सबैतिर यस्तो लोभलाग्दो व्यवस्थापन एक जनाको त्यागबाट मात्र होइन, सबै नियमप्रति बफादार भएर सम्भव भएको हो भन्ने नै । हो मार्टिनले भनेजस्तै सडकदेखि शहरसम्म, घरदेखि अफिससम्म प्रत्येक डेनिश आफ्नो कर्तव्य, दायित्व र समयप्रति बढी नै संवेदनशील र सचेत देखिन्छन् । नियमको पालना गर्नुमा यिनीहरू आफूलाई गर्व गर्छन् ।

जति नै हतारमा भएपनि परिचित वा अपरिचित सबैसँग भेट्ने बित्तिकै  हाँस्नु र काम वा कार्यालय जता जाँदा पनि तोकिएको समयभन्दा ५ देखि १० मिनेटसम्म अगाडि नै पुग्नु यिनीहरूको संस्कृति नै जस्तो लाग्छ । सायद यहीँ नियम प्रतिको बफादारिता र चुस्त व्यवस्थापनको कारणले नै हुन सक्छ, डेनमार्क विश्वकै खुशी जनता बस्ने देशमा चिनिँदै आएको छ । मैले यस्तो सोचिराख्दा मार्टिन भने मलाई अर्को पटक यस्तो गल्ती नदोहोर्‍याउन सचेत गराउँदै मसँग छुट्टिने अनुमति माग्दै थियो । 

अर्को अविस्मरणीय क्षण छ मेरो । डेनमार्क आएको  लगभग ३ महिना मात्र भएको थियो । कोपनहेगनबाट करीब २ सय किलोमिटर टाढा डेल्बीमा सीपीआर रजिस्टरको लागि साथी र मसँगै गएका थियौं । सीपीआर रजिस्टर डेनमार्कमा स्थायी या अस्थायी बसोबास गर्नका लागि अत्यावश्यक कुराभित्र पर्छ । जुन रजिस्टर नभएसम्म डेनिश सरकारले दिने सेवा सुविधादेखि अन्य धेरै कुरा प्रभावित हुन्छ । जसरी पनि सीपीआर बनाउनु परेकाले म कोपनहेगनभन्दा धेरै टाढा पुगेको थिएँ तर संयोग त्यहीँ दिन मेरो कलेजमा ग्रूप प्रिजेनटेसन समेत थियो । म त्यतिबेला फसादमा परें, जतिबेला कामका लागि कम्युनमा कुर्नपर्ने अवस्था आयो । यता कुर्दा उता कलेजको प्रिजेनटेसन नै छुट्ने जुन अति नै महत्त्वपूर्ण थियो । अनि  नकुर्दा यति लामो यात्रा गरेर फेरि आउनुपर्ने र सीपीआर पनि तत्काल नबन्ने । म ठूलै धर्म संकटमा परें । तत्काल मैले  मेरो समस्या कम्युन कि एक जना महिला कर्मचारीलाई बताएँ । 

उनको सिधा जवाफ थियो, ‘तिम्रो समय तिमीले नै पहिल्यै व्यवस्थापन गर्नुपर्ने थियो । यहाँ अरु पनि तिमी जस्तै हतार भएकै मान्छेहरू पालो कुरेर बसेका छन्, मैले यसबारे केही गर्न सक्दिनँ ।’ नेपालमा हरेक अफिसमा चिनजानको आधारमा वा कुनै ठूला मान्छेको नाम लिएर गएकै आधारमा सयौंको लाइन हुँदा पनि पहुँचको आधारमा फटाफट काम हुने देखेको म ती कर्मचारी महिलाले गरेको नियमको कुराले केही क्षण तिल्मिलाएँ तर मसँग कुर्नु वा जानुको विकल्प थिएन । पालो आएपछि म पुनः गएँ, ती कर्मचारीले सरी भन्दै भनिन्, ‘दुःख नमान्नु होला । हामी सिस्टमभन्दा बाहेक केही गर्नै सक्दैनौं । तिमीलाई सहयोग गर्न नसकेकोमा म क्षमा चाहन्छु ।’ अनि फटाफट  मेरो काम पनि उनले सकिदिइन् । 

समस्या बताउँदा पनि छिटो पालो नदिएकोमा शुरूमा केही चित्त दुखेपनि पछि बुझें – यहाँ सोर्सफोर्स र दयामायामा यस्ता अफिसियाल काम प्रभावित गरिँदो रहेनछ । लिकमा ट्रेन प्रतिघण्टा १२० किलोमिटरको स्पीडमा दगुरेको भएपनि मलाई भने गति कम भएको जस्तै भान भइराखेको थियो । किनकि सीपीआरको काम बनेपनि म भने कलेजको प्रिजेनटेसनमा समयमा पुग्ने हो वा होईन भन्ने कुराले थप हतास र चिन्तित बनिरहेको थिएँ ।

ज्यादै हतारका साथ कलेज पुग्दा अब पालो आउन केही मिनेट मात्र समय बाँकी भएको कुरा ग्रूप मेम्बरहरूले सुनाए । अनि सबैको कमेन्ट थियो, ‘कलेजमा यति महत्त्वपुर्ण प्रिजेन्टेसन एक्जाम हुँदाहुँदै किन आजै त्यति टाढा पुगेको ? त्यो काम त एक दिन अगाडि वा पछाडि गरेको भएपनि हुने थियो ।’

कमेन्ट  सही  थियो । कलेजले पूर्व निर्धारण गरेको तालिकालाई खासै वास्ता नगरेर भ्याइँ हालिन्छ नि भन्ने  झारा टार्ने सोच राखेर म त्यहीँ दिन नै डेल्बी गएको थिएँ । जसका कारण मैले त्यस दिनको प्रिजेनटेसन खासै राम्रो दिन सकेको थिइनँ । म ढिला हुनुको सबै समस्या सुनिसकेपछि लेक्चर क्याथ्रिनले पनि भनिन्, ‘तिमीले आफ्नो समयको व्यवस्थापन आफैंले मिलाउने हो । त्यसमा तिमी नै जवाफदेही हुन्छौं । कतिबेला के गर्ने भन्ने कुराको समयतालिका बनाएर गरेको भए तिमीले यतिधेरै मानसिक तनाव व्यहोर्नुपर्ने थिएन । तनाव र हतारहतासमा काम गर्दा राम्रो गर्न पनि सकिँदैन ।’

उनले भनेजस्तै त्यस दिनको मेरो प्रस्तुति तनावकै कारण राम्रो हुन सकिरहेको थिएन । म धेरै पटक रोकीरोकी बोलिरहेको थिएँ । प्रस्तुत गर्छु भनेको केही डाटाहरू भुलेको थिएँ । यसको मूल कारण थियो समय व्यवस्थापनमा चुक्नु र जे होला वा भइहाल्छ नि भन्ने मेरो कमजोरी ।

अर्को प्रसङ्ग । नरेबोरोको फोटेक्स सुपर मार्केटमा केही सामान किन्नका लागि गएको थिएँ । जाडोको बेला भएकाले बाहिर फुसफुस हिउँ परिरहेको थियो । छिटो सपिङ गरेर फर्कने योजना बनाएको थिएँ । आफूलाई चाहिएका केही सामान लिएर काउन्टर भएतिर अघि बढें तर सबैजसो काउन्टरमा कस्टुमरको लाइन रहेछ । 

पसलमा सामान किन्दा पैसा तिर्न कहिल्यै यसरी लाइन नबसेको म फटाफट अगाडि बढी राखें तर म अगाडि गएको देखेर पछाडि भएका कस्टुमर मलाई अनौठो मानेर हेरिरहेका थिएँ, मैले कुनै पर्वाह गरिनँ । किनकि उनीहरू काउन्टरमा पैसा तिर्न पालो पर्खेर बसेका रहेछन् भन्ने त्यतिबेला थाहा भयो, जब क्यासियरले मलाई ‘यू नीड टु गो लास्ट अफ दिस रो, योर्स टर्न ईज लेफट सरी प्लिज’ भन्दै फर्काए ।

म वाक्क न बक्क भएर फर्किएँ, ओके मात्र भनें । म ८–१० मिनेट लाइनमा बस्नुपर्ने भयो । त्यति नै बेला नेपालमा हुँदा १ जना साथीले पसलेलाई नराम्ररी थर्काएको याद आयो । साँझको समयमा व्यस्त पसलेसँग उसले सायद एक प्याकेट दूध मागेको थियो, साहुजी व्यस्त भएकाले थोरै ढिला के भएको थियो साथीले झर्कंदै भन्यो, ‘फ्रिमा लान खोजेको हो र ? पैसा तिरेर लाने हो । सामान दिन केको आनकानी गरेको ? म अर्को पसल गएँ ।’ 

साहुजी ग्राहक भड्कने डरले हुन सक्छ ‘सरी सर अहिले थोरै बिजी भएर हो, नरिसाउनु प्लीज’ भन्दै फकाउँदै गरेको सम्झना आयो । पहिला आएको ग्राहकलाई नदिएपनि साहुजीलाई तनाव, पछि आएकालाई ढिला गरेपनि फेरि नआउने हुन् कि भन्ने डर । मैले यस्तो सम्झिराख्दा अगाडि भएकी डेनिस वृद्धाले म पहिल्यै अगाडि गएकाले हुन सक्छ सोधिन्, ‘तिमी हतारमा हो भने आउ मेरो ठाउँमा बस ।’ तर मैले जवाफ फर्काएँ, ‘ओके ओके ! नो थ्यांक्स प्लीज ।’

उसलाई सायद मलाई यहाँ यसरी नै क्रम अनुसार पैसा तिरेर पालो पर्खेर सामान किनेर जाने भन्ने कुरा थाहा थिएन भन्ने हेक्का नै भएन । तर म भित्रभित्रै गल्ती गरेको भावमा संकोच मानिरहेको थिएँ । अनि फेरि सोचें, ‘यसरी पैसा तिर्न पनि पसलमा पालो कुर्नुपर्‍यो भने नेपालमा कति ग्राहकले मेरो साथीले जस्तै कति साहुजीलाई थर्काउँथे होलान् । अनि कति साहुजीहरू ग्राहक भड्कने डरमा डराउँथे होला तर यहाँ त्यस्तो कुनै समस्या छैन । न क्यासियारले पछि आएको ग्राहकलाई छिटो सामान दिएर पठाउँछ, न ग्राहक पछि आएर अघि जानुपर्छ भन्ने नै सोच राख्छन् । यो त यहाँको संस्कृति, सोच र प्रवृत्ति रहेछ । मैले उल्लेख गरेका यी सामान्य घटना दैनिक जीवनमा सबैले अनुभूत गर्ने कुरा हुन् तर यो कुनै कानूनका ठेलीमा लेखिएका विषय होइनन् । यी त हाम्रा संस्कार, संस्कृति र प्रवृत्तिसँग जोडिएका कुरा मात्र हुन् । अति सामान्य कुरामा हामीले हाम्रो प्रवृत्तिलाई बदल्न सकेनौं भने भौतिक सम्पन्नताले मात्र समृद्धि आउँदैन भन्ने सन्देश पनि हो । अनि मलाई लाग्यो भौतिक पूर्वाधारको विकास मात्र समृद्धि र सम्पन्नताको आधार होइन रहेछ, बरु स्वविवेकले नियमको पालना गर्नु, मभन्दा पनि हामी भनेर गर्व गर्न सक्ने वातावरण निर्माण गर्नुले नै मान्छेलाई खुशी र सुखी राख्छ, देश समृद्ध अनि समुन्नत बन्दै जान्छ ।

हो, चिल्ला सडक र गगनचुम्बी महलसँगै भौतिक विकासले सम्पन्न देश त विश्वमा कति छन् कति तर डेनिश जत्तिकै हँसिलो र खुशी बन्न त सबै नागरिक इमान्दार, जवाफदेही र राज्यप्रति समर्पित हुनुको विकल्प नरहेछ ।

कमेन्ट गर्नुहोस्