
राजधानीमा जारी १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रवार भएको पुरुष क्रिकेट खेलमा बंगलादेशले भूटानलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बंगलादेशले भूटानलाई १० विकेटले पराजित गर्दै विजयी भयो । यस जीतसँगै बंगलादेशले शीर्ष ४ अंक जोडेको छ ।
भूटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले ६ दशमलव ५ ओभरमा कुनै पनि विकेट नगुमाई भेट्टायो । बंगलादेशको जीतमा सौम्य सरकारले अविजित ५० तथा मोहम्मद नइमले १६ रनको योगदान दिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको भूटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन जोडेको थियो । उसका लागि तेन्जिङ वान्चुकले सर्वाधिक १५ रन जोडे भने जिग्मे सिङ्गेले १३ तथा जिग्मे दोर्जीले १२ रन बनाएका थिए ।
त्यसबाहेक भूटानका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ बंगलादेशका मनिक खानले २ विकेट लिए ।