
दक्षिण भारतीय फिल्मको नायकजस्तो छवि बनाएका पुलिस कमिश्नर वीसी सज्जनार 'इन्काउन्टर म्यान'को नामले चिनिन्छन् ।
उनको नामले मात्र पनि अपराधीहरू थरथर काँप्ने गरेको चर्चित भारतीय टेलिभिजन एबीपी न्यूजको अनलाइन संस्करणले लेखेको छ ।
सज्जनार तिनै व्यक्ति हुन्, जसले एक डाक्टरको सामूहिक बलात्कार र हत्याका चार आरोपीलाई सडकमै गोली ठोके ।
बेलुका अबेर ड्यूटी सकेर घर फर्किन लागेकी महिला डाक्टरलाई गाडी बिग्रिएको मौका छोपी सहयोग गर्ने बहानामा सामूहिक बलात्कार गरी जलाएर हत्या गरिएको थियो ।
तेलंगनाको राजधानी हैदरावादमा प्रहरीले शुक्रवार बलात्कारका चारैजना आरोपीको इन्काउन्टर गरेको हो ।
साइबरावाद पुलिसको टोलीले इन्काउन्टर गरेको हो । उक्त टोलीको नेतृत्व पुलिस कमिश्नर वीसी सज्जनारले गरेका थिए ।
४८ घण्टामा सुल्झाएका थिए एसिड अट्याक केश
पुलिस कमिश्नर वीसी सज्जनारले सन् २००८ मा एसिड प्रहरको घटनाका आरोपीको इन्काउन्टर गरेका थिए ।
इञ्जिनीयरिङ अध्ययनरत एक छात्रामाथि एसिड आक्रमण भएको थियो । उक्त घटनालाई सज्जनरले ४८ घण्टाभित्र सुल्झाएका थिए ।
सज्जनार त्यससम्य वारंगलमा एसपी थिए ।
घटनाका तीन आरोपीलाई नियन्त्रणमा लिएपछि उनले यसैगरी इन्काउन्टर गरेका थिए ।
यसपटकको सामूहिक बलात्कार केशजस्तै त्यतिबेला पनि आरोपीप्रति सर्वसाधारणमा निकै आक्रोश थियो ।
सर्वसाधारणले उक्त इन्काउन्टरमा पनि खुशी मनाएका थिए ।
यसपटक सामूहिक बलात्कारका आरोपीको इन्काउन्टर गर्दा खुशी भएका महिलाहरूले सज्जनार र उनको टीमलाई राखी नै बाँधिदिएका छन् ।
सडकमा भेला भएका महिलाहरूले सामूहिक रूपमा राखी बाँधेका हुन् । भारतमा राखी भातृत्वको प्रतीक मानिन्छ ।
उपस्थित भीडले सज्जनारलाई काँधमा उठाएर खुशी साटासाट समेत गरेका थिए ।
एसिड आक्रमणका आरोपीलाई इन्काउन्टर गर्दा र अहिले पनि प्रश्न भने उठेको छ ।
प्रहरीले त्यतिबेला आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएको थियो भने यसपटक आरोपीहरू भाग्न खोज्दा गोली चलाएको बताएको छ ।
उनीहरूले हतियार खोसेर प्रहरीमाथि नै आक्रमणको प्रयास गरेको पनि दाबी गरिएको छ ।