माओवादको नेपाली संस्करण : विद्रोही बन्दीको खह्रो बयान

ध्रुवहरि अधिकारी
ध्रुवहरि अधिकारी

अधिकारी ‘लोकान्तर’का अध्यक्ष हुन् ।

उपन्यासकारको सिर्जना जस्तो । दृश्यपटल छन्, महिला पुरुष सबै खाले पात्र यत्रतत्र भेटिन्छन् । नायक, खलनायकहरूको उपस्थिति छ; सबै क्रियाशील छन् । चरित्र चित्रण राम्ररी भएको छ । छिटोछिटो पढिसक्ने कुत्‌कुतीले पाठकलाई गाँजेको हुन्छ । तथापि यहाँ चर्चामा ल्याउन लागिएको कृति आख्यान होइन, तसर्थ यसमा तिलस्मी कथा-उपकथा वा अस्वाभाविक किसिमका प्रणय प्रसङ्ग भने भेटिँदैनन् ।

‘१०० दिन: माओवादी कब्जामा’ पढ्ने पाठकले पहिले आफूलाई २०५२-६२ सालको नेपालमा पुर्‍याउनु पर्ने हुन्छ । र, सकिन्छ भने पश्चिम पहाडको जिल्ला रोल्पामा पुग्नुपर्छ । जग-जाहेर छ, रक्तरञ्जित माओवादी विद्रोह सञ्चालकहरूले रोल्पालाई एक समय राजधानी नै बनाएका थिए । तीनशय पृष्ठको यस पुस्तकमा वर्णित सबै व्यक्ति, स्थान र हर्कत सग्ला यथार्थ हुन् । किनभने यी माओवादीहरूका ‘बन्दी’ लेखक नारायण सुवेदीका टिपोटमा आधारित देखिन्छन् । थुनामुक्त हुने बेलामा पार्टीको विरोधमा केही लेखेको रहेछ र प्रकाशमा आएछ भने ‘कारवाही त छँदै छ नि’ भन्ने शर्तयुक्त चेतावनीले लेखकलाई अद्यापि सजग राखेकै हुनुपर्छ यद्यपि त्यसबेलाको माओवादी पार्टी भने अहिले ‘नेकपा’ मा विलय भइसकेको छ ।


Advertisement

नारायण सुवेदीको पुस्तकलाई मोटामोटी चार कोणबाट पढ्न सकिन्छ: बन्दी छँदा लेखकले बेहोरेका दु:खकष्टमा आधारित अनुभूति, चीनका क्रान्तिकारी नेता माओ जेदोङका नेपाली अनुयायीहरूको मान्यता र कार्यशैली तथा रोल्पा अनि वरपरका भेगका प्राकृतिक र सांस्कृतिक विविधता । काठमाडौं जस्ता शहरी इलाका र तराईका सुगम बस्तीमा हुर्के-बढेका मानिसले अनुमानसम्म पनि गर्न नसक्ने विपन्नतामा बाँच्न बाध्य नेपालीहरूको स्थितिलाई चौथो कोण मान्न सकिन्छ । लेखकले एकशय दिनलाई १,२, ३, ४ गर्दै १०० औं दिनसम्मका अनुभवको रूपमा सँगालेको हुनाले पुस्तकका अध्याय आफैं छुट्टिएर छरिता भएका छन् । अध्यापनमा संलग्न प्रधान अध्यापकको लेखाइ त्यसै पनि व्यवस्थित भइहाल्छ । गुरूलाई आदरणीय व्यक्तित्व मान्ने औसत नेपालीको परम्पराबारे व्याख्या गरिरहनु पर्ने अवस्था रहेन ।

तर नारायण सुवेदीलाई बन्दी बनाएर राख्ने माओवादी र तिनका छापामार डफ्फालाई कसरी औसत नेपाली मान्नु र ? ती त हाकाहाकी अपवाद हुन् । उपल्लो तहका क्रान्तिकारी त नेता नै भए, तिनका आदेश तामेल गर्ने छापामार पनि अपवादकै कोटिमा पर्छन् । हो, ज्यानै लिने तहको त्रासमा पारेर माओवादी जत्थामा सामेल गराइएका युवक-युवतीका कथा-व्यथा बेग्लै छन्, होलान् । पुस्तकमा यत्रतत्र पाइन्छन् ।


Advertisement

रोल्पा गजुलकोटका बासिन्दा नारायण सुवेदीलाई उहाँकै घर दलानबाट ‘एकैछिन’ गोप्य कुरा गर्ने निहुँमा माओवादीका कार्यकर्ताले अपहरण गरेका थिए । २०५९ साल वैशाख २९ गते । र, त्यो ‘एकछिन’ दिन, हप्ता र महिना हुँदै १०० दिनमा पुगे । यसरी कब्जामा परेपछि सुवेदीलाई केरकार गर्ने सिलसिलामा तह-तहका कामरेडले अनेक छुद्र वचन प्रयोग गर्दै पूर्वाग्रही प्रश्हरू तेर्स्याएका थिए । कोही सम्पर्क कामरेड त कोही जिम्मेदार कामरेड । कोही सेक्रेटरी त कुनै इञ्चार्ज । गजुलकोटकै विद्यालयमा शिक्षक रहिसकेका व्यक्ति ‘कामरेड शक्तिमान’ ले बयानका क्रममा यसो भनेछन् : ‘ हेर्नुस् नारायणजी, तपाईंहरू निम्न पूँजीवादी चिन्तनले ग्रस्त अवसरवादी प्रवृत्तिका मान्छे हुनुहुन्छ’। हत्या-हिंसाको राजनीति ठीक होइन भन्ने विचार निर्भीक ढङ्ले प्रकट गरे बापत नारायण सुवेदीलाई ‘नौलो जनवादी व्यवस्था’प्रति प्रतिबद्ध कामरेडहरूले आँखाको कसिङ्गर ठहर्‍याएका रहेछन् । कारवाहीको क्रममा पछि माओवादी कारवाहीको बेला कामरेडहरूले सुवेदीकै आँखामा पट्टी लगाएर डाँडा-पाखा हिंडाए पनि । प्रतिशोधका घटना पटक पटक भएका छन् ।

रोल्पाको पहिलो स्नातक (बी ए) नारायण सुवेदीलाई चिन्नेहरूले २०३० सालदेखि शिक्षण पेशामा लागेर २०३६ सालदेखिको मा.वि.को प्रधान अध्यापक भनेर आदर गर्दथे । सुवेदीले पछि एम् एड् पनि गर्नुभयो । तर माओवादीको लागि ‘बुर्जुवा शिक्षा’ को के काम, के महत्व ! बन्दी बनेर घुम्ती कारागार (मोबाइल जेल) मा रहँदा सुवेदीले विद्यालय स्तरको पढाइ समेत नछिचोलेका केटाहरूबाट माओ र प्रचण्ड कामरेडलाई उद्धृत गर्दै गरेका प्रवचन पटक पटक सुन्नुपरेको थियो । विड्म्बना ।

ऐतिहासिक तथ्य हो, पृथ्वीनारायण शाहले जग हालेको आधुनिक नेपाललाई पछि बहादुर शाहले निकै फराकिलो तुल्याए । पश्चिममा पर्ने बाइसे राज्यमध्येको गजुलकोट त्यसैताका नेपालमा गाभिएको हो । नारायण सुवेदीका अनुसार, निजका पुर्खा गजुलकोट राजाका राजगुरू थिए । त्यो पुरानो कुरो भयो । सात सालपछिको नेपालको सन्दर्भमा २०१५ सालको निर्वाचनले राम्रै महत्व राख्दछ । त्यस निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार भई अत्यधिक मतले विजयी हुने खडानन्द सुवेदीका छोरा भएकोले नारायण सुवेदी पढाइ-लेखाइमा प्रवीण र राजनीतिमा रुचि राख्ने शिक्षक हुनु स्वाभाविक भयो । हो, यही कुरो चाहिँ क्रान्तिकारीहरूलाई सह्य भएन ।

२०४६ सालको राजनीतिक आन्दोलनसम्म खासै हलचल नदेखिएको रोल्पामा बहुदलको घोषणापछि कुनै न कुनै दलमा नपसीकन कल्याण छैन भन्ने मानसिकताले चेतनशील कहलिएका रोल्पालीहरूलाई असर पा-यो । पारिवारिक संस्कारले प्रजातन्त्रवादी भए पनि शिक्षक नारायण सुवेदीलाई नयाँ खुलेको संयुक्त जनमोर्चाले आकर्षित ग-यो । शिक्षककै पृष्ठभूमि भएका(सुवेदीका पूर्वविद्यार्थी) कृष्णबहादुर महरा नेता भए । तर मोर्चाका नीतिसित चित्त नबुझेपछि सुवेदीले २०४९ सालमा मोर्चा त्याग्नु भएछ । त्यसरी वामपन्थी खेमाबाट टाढा हुँदै जानाले पनि सुवेदीले माओवादीको कोपभाजन हुनुपरेको अनुमान गर्न गाह्रो छैन । शुरूमा प्रहरी र पछि-पछि सेनाको निगरानी बढ्दा सुवेदी र रोल्पाका अन्य धेरै बासिन्दालाई दोहोरो चेपाइ प-यो । तिनलाई एकातिर सेनाले माओवादी वा तिनको सुराकी ठानेर दु:ख दिने र अर्कोतिर माओवादीले शोषक सामन्तीको मतियार भनेर कारवाहीमा पार्ने । अनेक झमेला र सास्ती बेहोर्नु पर्ने, पारिवारिक जीवन अस्तव्यस्त हुन जाने र धर्म-संस्कृतिमा घात पर्ने गतिविधिलाई टुलुटुलु हेरेर बस्न विवश होइने । माओवादी आदेश-उपदेशको पालना नगरे ‘सफाया’ मा परिने---गुम्चालका मानसिंह जस्तै । विडम्बना, शोषण उत्पीडनमा परेकाको उद्धार गर्न तम्सिएका क्रान्तिकारीले नै रोल्पाका ग्रामीण जनतालाई थप शोषण र त्रासमा पार्न पुगे ।

सिस्नुको तिउनसँग आटो (ढिंडो) खाएर खेत बारीमा जोत-कोड जस्तो बलको काममा रातोदिन खट्न बाध्य ग्रामीण मानिसका नयाँ हाकिम बनेका कामरेड । तिनको प्रतिकारमा परिचालित शाही नेपाली सेनाका सैनिक र तिनका हाकिम । जब सेनाको हालीमुहाली चल्न थाल्यो त्यसपछि प्रमुख जिल्ला अधिकारी समेतको स्थानीय प्रशासन र तिनका सहयोगी प्रहरी निरीह हुन पुगे । ‘सेनाबाट आदेश आएपछि हाम्रो केही लाग्दैन’ भन्ने सीडीओ देखेपछि सुवेदीले प्रशासनलाई ‘लुते र कमजोर’ ठान्नु कुन अर्घेलो भयो र ।

कब्जामा परेको ८२ औं दिनमा बन्दीगृहमा एकजना ठूलै कामरेड आएर सुवेदीलाई भने: ‘पार्टीले फैसला ग-यो’। तपाईं हाम्रो पार्टीविरुद्ध भेला,सभा गराउने योजनाकारसम्म भएको देखियो, त्यसैले ‘यतिसम्मको बन्दी जीवनलाई पार्टीले सजाय ठानेको छ’। रिहाको लागि तीनटा शर्त पालना गर्नुपर्ने गरी । तर अचानक ९२औं दिनमा तीभन्दा माथिका कामरेड आएर सजाय थप्ने कुरा गरेर अत्याए । सश्रम कारावासको धम्की समेत दिए । स्पष्टिकरण दिएँ, वक्तव्य लिए र कबुलियत गराए अनि १००औं दिनमा छोडिदिए । माओवादी कब्जाको अर्को अनुभव: थुनुवा बनाएर राखेका बखत थुनुवालाई खुवाएको खाना (आटो-साग) को खर्च थुनुवाबाटै असुल-उपर गर्ने माओवादी निर्णय रहेछ । त्यो पनि पालना गर्नुप-यो सुवेदीले । बन्दीसितको व्यवहारमा भएका राम्रा कुरामध्ये एक के रहेछ भने बन्दीले खान नचाहेको चीज-वस्तु खान दबाब नदिने । कामरेड शक्तिमान्‌को भनाइ: खानेकुरामा ‘हाम्रो पार्टीले नखानेलाई जोरजबर्जस्ती गर्दैन’। र, आश्वासन मुताविक सुवेदीलाई जुन पायो त्यहीपशुको मासु खानु परेनछ ।

‘ क्रान्तिमा हिंसा अनिवार्य हुन्छ । हाम्रो जनवादी सत्ता ल्याउनको लागि हिंसा अनिवार्य सर्त हो’। (पृष्ठ १५९) यस्तो मान्यता बोकेका माओवादीको कब्जामा परेर पनि जिउँदै फर्किन सकेको कुरालाई लेखक सुवेदीले ‘पुनर्जीवन’ पाएको भनेर लेख्नु भएको छ । बाघको मुखबाट उम्किन सफल भएजस्तो अनुभव भएछ ।

‘कालो अतीत’ लाई बिर्सिने प्रयासमा लेखिएको यस पुस्तकले एक दशकको सशस्त्र विद्रोहबारे आगामी पुस्तालाई राम्रो जानकारी दिन्छ । यसै विषयमा लेखिएका (र लेखिने क्रममा रहेका) अन्य पुस्तकहरूले झैं यसले पनि वस्तुस्थितिको अध्ययन र मूल्याङ्कनमा गहकिलो सघाउ पुर्‍याउने छ । ‘महान् उपलब्धि’ गरेपछि मुलुक शान्ति प्रक्रियामा पसिसकेको छ भन्ने नेतागणको दाबीलाई केलाउने सम्बन्धमा पनि सुवेदीको पुस्तकले टेवा देला ।

सत्य निरुपण र बेपत्ता पारिएकाहरूको मामिला सुल्झिन बाँकी छ भन्नेहरूको मन्तव्यले मुलुक संक्रमणकालबाट उम्किसकेको छैन भन्ने जनाउँछ । उतिखेरका माओवादी ३-४ समूहमा विभाजित भएको अवस्था छ ।

अन्त्यमा---

नेपालको माओवादी विद्रोह ‘माओवाद: एक विश्व इतिहास’ (Maoism: A Global History) नामक पुस्तकको एक अध्याय नै बनेको छ । यसै वर्ष (सन् २०१९) मा प्रकाशित यस पुस्तकमा लेखिका (लण्डन विश्वविद्यालयमा प्राध्यापक) जुलिया लोवेलले तीन वर्षअघि ‘कामरेड किरण’सँग भेटघाट भएको प्रसङ्ग लेखेकी छिन् । व्यक्तिगत रूपमा कुनै तिक्तता नराखे पनि प्रचण्डबारे किरणको भनाइ रहेछ: ‘प्रचण्ड र उनको समूहले क्रान्तिलाई धोका त दिएकै हुन्’।

सुध्रन चाहनेलाई सुध्रिने मौका दिनुपर्छ---अध्यक्ष कामरेडको उतिबेलाको मान्यता हो । किरण कामरेडले औंल्याएको त्यस धोकालाई महसूस गरेर कदाचित् उहाँ सुध्रिन चाहनु भयो भने के क्रान्तिको बिगुल फेरि फुकिने सम्भावना छ ? घोत्लिने विषय हो यो ।

प्रकाशक ‘नेपा~लय’ को प्रकाशन भएर सन् २०१२ मा जनसमक्ष आएको सुवेदीको यो पुस्तक दोस्रो संस्करणमा पुगिसकेको छ । पाठकसंख्या बढ्दै जाँदा मुलुकमा जनचेतनाको स्तर पनि उक्लिँदै जाने अपेक्षा गरौं । 

ध्रुवहरि अधिकारी
ध्रुवहरि अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्