साग प्रतियोगिता : सुटिङमा भारतलाई १८ स्वर्ण

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङ खेलमा कूल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ ।

स्वर्ण रजत र कास्य गरी कूल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरी २९ पदक जित्न सफल भयो ।


Advertisement

दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्यसहित १४ पदक हात पारेको छ । कुनै पनि स्वर्ण नजितेको बंगलादेशले कूल १० पदक हात पार्न सफल भयो ।

बंगलादेशले ६ रजत र ४ कास्य पदक जितेको हो । चौथो स्थानमा रहेका श्रीलंकाले २ रजत र ५ कास्य गरी कूल ७ पदक हात पारेको छ । माल्दिभ्स, भूटान र नेपाल पदकविहीन रहे ।


Advertisement

सुटिङको अन्तिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जित्दा श्रीलंकाले रजत र बंगलादेशले कास्य पदक जिते । सातदोबाटोस्थित सुटिङ रेञ्जमा भएको १० मिटर एयर पेस्तोल मिक्स इभेन्टमा भारतले स्वर्ण पदक हात पारेको हो ।

यसको समूह चरणमा नेपाली टीम पाँचौं हुँदै बाहिरिएको थियो । भारतका अनुराज सिंह र श्रवण कुमारको टोलीले १६ अंकसहित स्वर्ण पदक जितेको हो । स्वर्ण पदकको भिडन्तमा श्रीलंकाका एलभिस केएआई र फर्नान्डो टीडीएसको जोडी ८ अंकमा रोकिएको थियो ।

कास्य पदकका लागि भने बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरेका थिए । जसमा बंगलादेशले बाजी मार्न सफल भयो । बंगलादेशका एड्रिना फिर्दोस र सकिल अहमदको जोडीले १७ अंकका साथ कास्य पदक जित्दा पाकिस्तानका अन्न इवित्स र गुलफम जोसेफ ७ अंकमा रोकिँदै चौथो स्थानमा रहे ।

विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले पदक प्रदान गरे ।

कमेन्ट गर्नुहोस्