नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा विवाद हल गर्ने सम्बन्धमा माधवकुमार नेपाललाई विशेषदूत बनाएर पठाउने कुरा सल्लाहभन्दा बढी हल्ला भएको बताएका छन् ।
सोमवार बसेको नेकपा सचिवालय बैठकपछि पत्रकारले सोधेको प्रश्नको जवाफमा प्रवक्ता श्रेष्ठले यसअघिको बैठकमा छलफल भएपनि यसपटक धेरै छलफल नभएको बताएका हुन् ।
‘पार्टीको तर्फबाट भन्दा पनि सम्माननीय प्रधानमन्त्रीज्यूले अहिले देखिएको सीमा विवादको समस्या हल गर्न माधव नेपाललाई सरकारको विशेषदूत बनाएर पठाउने कुरा गर्नुभएको हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘यसबारे पार्टीमा अलिअलि सल्लाह भएको हो, धेरै हल्ला भएको हो ।’
प्रधानमन्त्री ओलीले सीमा विवाद समाधानका लागि नेता नेपाललाई विशेष दूतको रुपमा पठाउन प्रस्ताव गरेपनि भारतले चासो नदेखाएको समाचार प्रकाशमा आएका छन् ।
यसअघि मंसिर १८ गते बसेको बैठकमा नेता नेपाल स्वयंले प्रधानमन्त्रीले आफूलाई विशेष दूतको रुपमा पठाउन खोजेको कुरा सचिवालय बैठकमा बताएका थिए । नेकपा सचिवालय बैठकले मंसिर २९ गतेका लागि स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।
लोकान्तर संवाददाता