अव्यवस्थित बसोबासको दीगो व्यवस्थापन हुन्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पदमाकुमारी अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिने बताएका छन् ।

भूमि व्यवस्थापन तालिम केन्द्र धुलिखेलद्वारा आयोजित ‘भूमि व्यवस्थापनमा क्षमता अभिवृद्धि एवं शैक्षिक अनुसन्धान तथा विस्तार’ विषयक २ दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीको मंगलवार उद्घाटन गर्दै उनले अव्यवस्थित बसोबासको दीगो व्यवस्थापन गर्ने अभियानमा मन्त्रालय लागिपरेको बताए ।


Advertisement

‘जग्गा प्रशासन क्षेत्रमा सुशासन कायम गरी सेवा प्रवाहलाई आधुनिकीकरण गर्ने प्रक्रियामा मन्त्रालय लागेको छ,’ उनले भने, ‘विकास निर्माणका लागि आवश्यक पर्ने भौगोलिक सूचनाको उपलब्धता सुनिश्चित तुल्याउन मन्त्रालय प्रतिबद्ध छ ।’

मन्त्री अर्यालले विकास निर्माणको मेरुदण्ड नाप–नक्शा तथा भूमि व्यवस्थापनले राज्यलाई पुर्‍याउनुपर्ने योगदानका लागि समसामयिक क्षमता विकास गर्नु अपरिहार्य र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै नाप–नक्शा तथा भूमि व्यवस्थापनमा नविनतम् प्रविधिको प्रयोगले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


Advertisement

‘भूमि व्यवस्थापनका क्षेत्रमा स्वदेशी तथा विदेशी विश्वविद्यालयसँग थप सहकार्य गर्न जरुरी देखिन्छ,’ उनले भने, ‘नाप–नक्सा तथा भूमि व्यवस्थापनको क्षेत्रमा भएको विकसित प्रविधिलाई आत्मसात गर्दै जानुपर्दछ ।’

मन्त्री अर्यालले केन्द्रले भूमि व्यवस्थापनमा रुपान्तरणका लागि प्रशिक्षण पाठ्यक्रममा समसामयिक परिमार्जन, क्षमता विकास तथा विश्वविद्यालयको सहकार्यलाई अझ बढी प्रभावकारी र व्यवस्थित तुल्याउनुपर्नेमा जोड दिँदै यस्ता अन्तर्राष्ट्रिय गोष्ठीबाट नाप–नक्शा तथा भूमि व्यवस्थापनको क्षेत्रमा देश विदेशमा विकास भएका नविनतम् प्रविधि एवं अवधारणको अध्ययन, अनुसन्धान तथा उपयोगको अनुशरण गरी निरन्तरता दिनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्