साग सफल बनाउन योगदान दिने सबैलाई धन्यवाद दियो नेपालले

नेपाल सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) मा सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अधिकृतलगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गरेको छ।

सरकारले साग सम्पन्न गर्न योगदान दिने मूल आयोजक समिति, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकूद परिषद् तथा सम्पूर्ण नेपाली जनताका साथै काठमाडौँ, पोखरा र जनकपुरवासीप्रति कृतज्ञता व्यक्त गरेको छ।


Advertisement

मंगलबार बेलुका साग समापन समारोह  सम्पन्न भएको घोषणा गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सागले छिमेकीहरुबीचको मित्रता अझ वृद्धि भएको तथा क्षेत्रीय एकतामा योगदान दिएको बताए। ‘आगामी दिनमा खेलकूद नेपाललाई चिनाउने आधार पनि बनेको छ,’ रक्षामन्त्रीले भने।

सो अवसरमा युवा तथा खेलकूदमन्त्री तथा मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले खेलाडीहरुको खेल जीवन अझ उज्यालो होस् भन्दै उनीहरुको सफलताको कामना गरे। राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले खेलाडीहरुले राष्ट्रको शिर उँचो बनाएकामा अभिनन्दन गर्दै नेपाल र नेपालीले चाहे भने जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आफ्नो लक्ष्य र योजना सफल बनाउन सक्ने उदाहरण साग भएको विचार राखे। उनले प्रधानमन्त्रीले खेलाडीहरुसँग खुशी साटासाट गर्ने र केही प्याकेज घोषणा गर्ने जानकारी पनि दिए।


Advertisement

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अनुशासितरुपमा उत्कृष्ट खेल प्रदर्शन गरी खेलाडीले एकता र मित्रता प्रदर्शन गरेको बताउँदै खेल सम्पन्न गर्ने काठमाडौँ, पोखरा र जनकपुर नगर तथा नगरवासीलाई  धन्यवाद दिए।
 

कमेन्ट गर्नुहोस्