कुमारीलाई मासिक १५ हजार रुपैयाँ भत्ता दिइने

फाइल फोटो

काठमाडौं महानगरपालिकाले यस वर्षदेखि जीवित देवी कुमारीलाई मासिक १५ हजार रुपैयाँका दरले भत्ता दिने  भएको छ ।

पच्चीसौं महानगर दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा पनि गरिने छ । अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो । 


Advertisement

मंसिर २८ र २९ गते महानगर दिवस मनाइँदैछ । विक्रम संवत् २०५२  मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।

कामपाले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख विद्यासुन्दर शाक्यले स्थानीयका  सुझावका आधारमा हरेक वर्षका कार्यक्रमलाई जनापेक्षाबमोजिम सुधार गर्दै लगिने बताए ।


Advertisement

कामपा प्रमुख शाक्यका अध्यक्षतामा महानगर दिवस मूल समारोह समिति गठन गरिएको छ । कार्यक्रममा ‘परम्परागत वाद्यवादन, वाद्यवादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुथि तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिविधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक संघसंस्था, गैरसरकारी संघसंस्था सबैको सहभागिता रहने छ ।   

महानगर दिवसका उपलक्ष्यमा ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँलाबाजाका २३ समूहका बाजा गुरुलाई नगदसहित सम्मान गरिने छ । महानगरले १० पत्रकारलाई वितरण गर्दै आएको महानगर सुशासन पत्रकारिता पुरस्कार यस वर्ष पनि निरन्तरता दिने छ ।

गत वर्ष जस्तै यस पटक पनि व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई  सम्मान गर्ने कार्यक्रम छ । विद्यालयको आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता आयोजना भइसकेको छ ।

दिवसका अवसरमा शनिवार बिहान माइती घरमण्डलदेखि तीनकुनेसम्म साइकल यात्रा आयोजना  गरिने छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्