‘वेदको सामान्यज्ञान’ सार्वजनिक

जरोकिलो प्रतिष्ठान नेपालले ‘वेदको सामान्यज्ञान’ नामक पुस्तक सार्वजनिक गरेको छ । काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक तथा जरोकिलो प्रतिष्ठानका संस्थापक अध्यक्ष डा निर्मलमणि अधिकारीले लेखेको कृति नेपालीमा अनुवाद गरेका आचार्य तिलकप्रसाद लुइँटेलले लोकार्पण गरेका हुन् ।

पुस्तक लोकर्पण गर्दै वेद अनुवादक लुइँटेलले वेदका बारेमा जानकारी लिन चाहने सर्वसाधारणका लागि पुस्तक प्रवेशविन्दु भएको बताए । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले वेदमा सबै कुरा छ भनिएपनि यसमा भएको वैज्ञानिक पक्षका बारेमा चर्चा हुनुपर्नेमा जोड दिए । वेदमा भएका ज्ञानको विषयगत पुस्तक प्रकाशन हुनुपर्ने उनको भनाइ थियो ।


Advertisement

प्रा.डा. आनन्दप्रसाद घिमिरेले लोकार्पित पुस्तकले सामान्य पाठकलाई पनि वेदका बारेमा जानकारी राख्न सघाउने बताए । डा. गोविन्दशरण उपाध्यायले पछिल्लो समय वेदका बारेमा सर्वसाधारणमा बढेको जिज्ञासाको समाधान पुस्तकले गर्ने विश्वास व्यक्त गरे ।

पुस्तकका लेखक अधिकारीले विभिन्न माध्यमबाट वेदबारेमा सयौँ प्रश्न सोधिने गरेकामा सबैको प्रतिनिधि ३० प्रश्नको उत्तर समेटेर पुस्तक तयार पारिएको बताए । पुस्तकमा नेपाली, हिन्दी तथा अङ्ग्रेजीमा उपलब्ध सन्दर्भ सामग्रीको अधिकतम् प्रयोग गरिएको छ। आगामी दिनमा उपनिषद्, पुराणलगायत स्मृति गन्थको पनि समान्यज्ञान प्रकाशन हुने लेखक अधिकारीको प्रतिबद्धता थियो । 


Advertisement

वाल्मीकि विद्यापीठका सहप्राध्यापक माधवप्रसाद पाण्डेयले वेदमा सबै ज्ञानको सार समेटिएको बताउँदै  वर्तमान समयमा वेदको वैज्ञानिक पक्षमा धेरै जिज्ञासा भएकाले यस विषयमा छुट्टै पुस्तक आवश्यक भएकामा जोड दिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्