
काठमाडौं, २९ चैत — पाकिस्तानको जेलमा बन्द गरिएका एक भारतीय कुलभूषण जाधवलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानी मिडियाले इन्टर सर्भिसेज पब्लिक रिलेसनलाई उद्धृत गर्दै यो सूचना दिएका छन् ।

पाकिस्तानी सेनाले जाधव भारतीय जासूस भएको आरोप लगाएको छ । जाधवले आफू जासूस भएको कबुलेको भिडियो पाकिस्तानले सार्वजनिक समेत गरेको थियो ।
सन् २०१६ को मार्चमा उक्त भिडियो सार्वजनिक भएको थियो ।
पाकिस्तानी सेनाले भन्यो, ‘कुलभूषण जाधवले बलुचिस्तानमा भारतीय जासूसी संस्था रअका लागि काम गरेको अनि आतंकवादी गतिविधिमा संलग्न रहेको कुरा कबुलेका थिए ।’
भारतले भने यो भिडियोलाई खारेज गर्दै जाधवलाई इरानबाट अपहरण गरिएको आशंका गरेको थियो ।
पाकिस्तानले आरोप लगाएको थियो, ‘जाधव इन्डियन नेभीको सर्भिङ अफिसर हुन् । उनी सिधै रअको प्रमुखसँग कुराकानी गर्छन् । रअसँग सम्पर्क राख्ने कोड पनि उनले हामीलाई बताएका छन् । उनले इरानमा रअको आधारइलाका समेत खडा गरेका थिए ।’
भारतले भने जाधवलाई यातना दिएर यसो भन्न लगाइएको आरोप लगाएको छ । जाधव आफ्ना नेभी अफिसर भएको चाहिँ भारतले कबुल्यो ।
भारतीय राजदूतावासका कर्मचारीले जाधवलाइृ भेट्न खोजेका भएपनि पाकिस्तानले त्यसको अनुमति दिएन ।
एजेन्सी