युरोप हाँक्दै युवा : नेपालमा पनि होला ‘आइसब्रेक’ ?

सन्तोष अधिकारी
सन्तोष अधिकारी

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर अधिकारी हाल डेनमार्कको डेमन्फोन्ट युनिभर्सिटीमा अध्ययरत छन् ।

फिनल्याण्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्न मेरिनाले अहिले विश्वकै ध्यान खिचेकी छन् । किनकी उनी संसारकै कान्छी सरकार प्रमुख हुन् ।

उनी फिनल्याण्डकी निवर्तमान यातायात मन्त्री पनि हुन् । उनको चामत्कारिक राजनीतिक उदय विश्वका आम युवापंक्तिका लागि गतिलो पाठ पनि बनेको छ ।


Advertisement

नेतृत्वको निर्माण उमेर र अनुभवले खारिएर मात्र होइन, वर्तमान विश्वमा एजेन्डा, खोज र अनुसन्धानले हुन्छ भन्ने पुष्टि पनि गरेको छ । देशको यातायात मन्त्रालय सम्हाल्दा कामबाट प्रभाव पारेकी मेरिनालाई कार्यकारी जिम्मेवारीमा पुर्‍याउन अन्य दलको पनि साथ र सहयोग छ । यो हो उनले सानो उमेरमै आर्जन गरेको अनौठो बिश्वास र नेतृत्वदायी क्षमता । जुन उनको कामले स्थापित गरेको हो ।

युरोपको राजनीतिमा सान्ना जस्तै सानै उमेरमा उदाएका अन्य धेरै उदाहरण छन् । अर्की ताजा उदाहरण हुन् ४१ वर्षीया मेटी फ्रेडिक्सन । जो केही समयअघि मात्र डेनमार्कको प्रधानमन्त्रीमा निर्वाचित भइन् । डेनमार्कको हालसम्मको रेकर्डमा सबैभन्दा कम उमेरमा दोस्रो महिला प्रधानमन्त्री बनेकी फ्रेडिक्सन सोसल डेमोक्र्याट पार्टीकी नेतृ पनि हुन् । यो  उदाहरणबाट राजनीतिमा लागेका नेपाली  महिला र युवाले पनि केही सिक्न जरुरी छ ।


Advertisement

देशको कार्यकारी नेतृत्वमा पुग्न उमेर होइन योजना, आत्मविश्वास र प्रतिस्पर्धी क्षमता हुनुपर्छ भन्ने सन्देश उनको जीतले दिएको छ ।

सन् २०१७ अक्टोबरमा ३७ वर्षमै प्रधानमन्त्री भएकी जेसिन्डा अड्रेनले अहिले न्युजिल्याण्डको नेतृत्व गरिराखेकी छन् । पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयारको सल्लाहकारदेखि न्युजिल्याण्डकै पूर्व प्रधानमन्त्री हेलेन क्लार्कको अनुसन्धान अधिकारीको  रुपमा अन्ुभव  बटुलिसकेकी उनलाई ब्लेयार र क्लार्कसँगको सानिध्यताले पनि न्युजिल्याण्डको राजनीतिमा लाग्न थप उर्जा मिलेको बुझ्न सकिन्छ । युवा महिलाले हाँकिरहेका विश्वकै उदार राजनीतिक, सामाजिक व्यवस्था भएका यी देशमा नेतृत्वको यो स्थानमा पुग्न असल कर्म, प्रभावकारी भिजन र एजेन्डा विना कदापी सम्भव छैन । फिनल्याण्ड, डेनमार्क र  न्युजिल्याण्ड विश्वमा अहिले खुशी र  सुखी जनता बस्ने देशको रुपमा परिचित छन् । समानता, स्वतन्त्रता र समृद्धिको उच्च सूचकांकमा रहेका यी देशको नेतृत्वमा पुग्न महिला नेत्रीलाई सहज अवश्य थिएन । 

जनताको मन र मत जित्न फगत हाम्रोमा जस्तो भाषण र कोरा आश्वासनले मात्र पुग्दैन । किनकि यहाँका जनताको चेतनाको स्तर धेरैमाथि छ । अब के राजनीतिमा लागेका नेपाली युवाले पनि जनताको मन र मत भाषणले होइन, कर्मले जित्न सकिँदोरहेछ भन्ने सिक्न जरुरी छैन ? अवश्य छ ।

अर्कातर्फ प्रतिस्पर्धाको मैदानमा उत्रन कसैको आशिर्वाद पर्खेर बसेको भए वा स्वःस्फूर्त डटेर अगाडि आउन डराएको भए सान्ना, फ्रेडिक्सन र अड्रेनले आज चुनौती र अवसरको ऐतिहासिक जिम्मेवारी प्राप्त गर्ने थिएनन् । महिला मात्रै होइन, युवा पुरुष राजनीतिकर्मी पनि धेरै अगाडि छन् युरोपमा । वर्तमान फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनलाई हेरौं – जो सन् २०१७ मा ३९ वर्षमै शक्तिशाली फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भए । उनको यो जीतले राजनीतिको माथिल्लो स्थानमा पुग्न कपाल फुलाएको, जेलनेल भोगेको पात्र नै हुनुपर्छ भन्ने भ्रमलाई एक हदसम्म तोडिदिएको थियो भन्दा फरक पर्दैन । अर्काेतर्फ फ्रान्सको राजनीतिलाई लुइँ चौधौं, पन्धांैहरूकै सन्ततीको सम्पत्ति हो भनेर छोडिदिएका भए म्याक्रोनले आज फ्रान्सेली राज्य सत्ताको बागडोर सम्हाल्ने ठाउँमा पुग्ने अवसर पाउने थिएनन् ।

देशको परिस्थितिलाई नजरअन्दाज गरेर किनाराको साक्षी बनेर टुलुटुलु हेरिराखेको मात्र भए ४१ वर्षीया भ्लाद्यमिर जेलनस्की युक्रेनको राष्ट्रपतिमा अत्याधिक मतसहित निर्वाचित हुने थिएनन् । हस्तक्षेपकारी र नेतृत्वदायी सोचका कारणले नै हाँस्य कलाकार पृष्ठभू्मिका जेलनस्की त्यो स्थानमा पुग्न सफल भएका हुन् । राजनीतिमा जेलनस्कीको उदयले राजनीति गर्न विद्यार्थीकालदेखि नै आन्दोलनमा ढुंगा हानेको र सडकमा टायर बालेको पात्रा हुनुपर्छ भन्ने नेपाली मिथकलाई चुनौती दिएको छ ।

तर बिडम्बना नेपालमा कुनै नविन सोच र जोस नभएका पटक–पटक परीक्षा दिइसकेका उही पुराना पात्रलाई दलदेखि देशसम्म नेतृत्व मान्न अनि सुम्पन हामी विवश छौं । यसको कारण हुनसक्छ हाम्रा युवा राजनीतिकर्मीमा नेतृत्वका लागि चाहिने हस्तक्षेपकारी भूमिका र संघर्ष गर्ने साहसको कमी ! साहसको लागि चाहिन्छ पुरानाभन्दा फरक देखिन सक्ने खोज, अध्ययन, अनुसन्धान र एजेन्डा । जुन युरोपका ती नेतृत्वमा यहाँका जनताले देखे । युवा भएर मात्र होइन, एजेन्डा र कर्मले स्थापित हुनुपर्छ । वर्तमान विश्वमा जंगबहादुरको शैलीमा होइन, पहिला मन अनि मत जितेर नेतृत्व लिने हो ।

राजनीतिमा सक्रिय अहिलेका युवा उमेरमा मात्र होइन, विचार र व्यवहारमा पनि गतिशील बन्न जरुरी छ । व्यवस्था परिवर्तनका लागि शहीद बन्न तयार हुने नेपाली युवादस्ता आज बेथिति, कुशासन र भ्रष्टाचारको अगाडि भने किन नतमस्तक भएर बसिराखेका छन् ? किन गलत र कुकृत्यको पनि साक्षी बनेर हेर्न विवश छन् वा मतियार बनिराखेका छन् ? यस्ता एजेन्डामा जो खरो उत्रन सक्छ, त्यस्तो पात्रको नै आज नेपाली राजनीतिमा खाँचो छ । देश अनुसार एजेन्डा र योजना फरक–फरक हुन सक्छन् । अहिले राजनीतिमा आफ्नो र देशको भविष्य निर्माणको सपना देखेका युवापंक्तिले गलतलाई पनि सही भनेर नेतृत्वको अगाडि नतमस्तक भयो भने उसबाट भोलि देशको परिवर्तनको अपेक्षा गर्नु निरर्थक हुनेछ । भोलिको उज्यालो भविष्यको निर्माण वर्तमानको सुधारबाट मात्र सम्भव छ । यसका लागि संवाहक युवा नै हुनुपर्छ ।

अझ बिडम्बना त नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा कृष्णप्रसाद सिटौलाको विकल्पमा नेतृत्वमा अझै अर्का पात्रा देखिएकै छैनन् । अनि नेपाल कम्युनिष्ट पार्टीभित्र झन् अबको करीब २ दशकसम्मकै लागि करीब–करीब रोलक्रम निर्धारण भइसकेको छ । फेरि प्रचण्ड, केपी ओली, माधव नेपाल, बामदेव गौतम आदि–आदि । दुःखद पक्ष भनेको यी सबै पात्र पटक–पटक देशमा विभिन्न भूमिकामा परीक्षण भइसकेका छन् । नेतृत्व निर्माण र हस्तान्तरणको राजनीतिक संस्कार सिक्न नसकेका पुरानालाई नयाँले हस्तक्षेप गरेरै विस्थापित गर्नुको अब विकल्प देखिँदैन । 

अब फेरि उनीहरूकै आवश्यकता दल र देशमा केका लागि ? यसको पुष्टि नगरी, युवापिँढीले सहजै छोडिदिने र एक युवाले अर्काको खुट्टा तानिराख्ने हो भने यो शृंखलाको निरन्तरताको अन्त्य हुने छैन । हो, यसका लागि युवा जाग्नुपर्छ, फ्रन्टलाइनमा आउनुपर्छ । राजनीतिको सही रोडम्याप कोर्नदेखि सुशासन र सुसंस्कृत समाज निर्माणका लागि अब नेपालको परिप्रेक्ष्यमा युवाको विकल्प युवा नै हुनुपर्छ । राजनीतिप्रति बढ्दो वितृष्णाको न्यू्नीकरणका लागि पनि मेरिना, म्याक्रोन, जेसिन्डा र फ्रेडिक्सन जस्तै राजनीतिमा लागेका नेपाली युवा पनि स्वच्छ छवि निर्माण गर्दै प्रतिस्पर्धाको अग्रभागमा आउन जरुरी छ ।

अब राजनीतिक संस्कार कसरी सिक्ने ? ३४ वर्षीय सेबेस्टन क्रुजलाई हेरौं । अस्ट्रियाका निवर्तमान चान्सलर क्रुजले  केही समयअघि मात्र एउटा आरोप लागेकै कारण पदबाट सहजै राजीनामा दिएर बाहिरिए । बेलायतका १ जना मन्त्री लर्ड वेटसले सदनको मिटिङमा पुग्न करीब २ मिनेट ढिला भएकै कारण आफ्नो गल्ती महसूस गरी ३१ जनवरी २०१८ मा पदबाट राजीनामा दिए तर उनको राजीनामा त्यही कारण कसैले मागेको थिएन । 

यस्ता जवाफदेहिता र जिम्मेवारीपनको उदाहरण त युरोपियन राजनीतिक संस्कारमा प्रशस्त भेट्न सकिन्छ, जुन नेपालमा भने अति बिरलै मात्र । अबको पुस्ताले नेपालमा पनि यस्तो उच्च नैतिकवान राजनीतिक संस्कारको विकास गर्न आवश्यक छ ।

सँगसँगै नेता छान्ने र नेता मान्ने शास्त्रीय अंकगणितको पनि अन्त्य  हुन आवश्यक छ ।  जेल बसेको पात्रो पल्टाएर, वंशजको इतिहास हेरेर नेतृत्व छान्ने दक्षिण एसियाली प्रवृत्तिमा पनि पुनर्विचार गर्न जरुरी छ । अनि केही कुरा आर्जन गर्न परिश्रम गर्नुपर्छ भन्ने कुराको सोच युवामा जागृत हुन जरुरी छ, न कि राजनीतिलाई कमाइधन्दा बनाइयोस् । बरु युवाले अब इमान्दारिता, सुशासन र जवाफदेहिताका लागि जागरण ल्याउनुपर्छ, आफू पनि बदलिनुपर्छ, सँगसँगै अरुलाई पनि बदल्नुपर्छ । 

अहिले नेपालीले न पूर्खाको बिरताको वीरगाथा गाएर नै सम्मानित जीवन जीउन सक्छन्, न विगतको कमजोरीको पश्चाताप गरेर मात्रै उन्मुक्ति पाउँछन् । यो समय अहिलकोे युवापिँढीले पृथ्वीनारायण शाहको दिव्योपदेश घोकेर, अमरसिंह बलभद्र र भीमसेन थापाको वीरताको गाथा गाएर मात्र बस्ने बेला होइन । किनकि फकल्यान्डको टापुमा पुर्खाले देखाएको युद्ध कौशल र नालापानी कालापानीमा अंग्रेजहरूसँग अग्रजले राष्ट्रको निम्ति देखाएको वीरताको विगत भएकै आधारमा अरब र कतारको गर्मीमा पसिना बगाउनुपर्ने बाध्यताबाट वर्तमानको पुस्ताले मुक्ति पाउन सक्दैन । निकारगुवा र मेक्सीकोको जोखिमपूर्ण यात्रा गरेर अमेरिका छिर्ने युवाको ताँती पनि देशको राजनीति सुधारिएर समृद्धिको विश्वासिलो बाटो तयार नभएसम्म रोकिने छैन ।  त्यो सुधारको शुभारम्भ गर्ने जिम्मेवारी युवाकै काँधमा छ । त्यसैले व्यवस्था बदल्न य्ुवाले देखाएको जोश अब बेथिति बदल्न पनि देखाउनुपर्नेछ । तब मात्र डोल्पा र मुगुमा पनि, चितवनको चेपाङ बस्तीमा पनि परिवर्तनको ढोका खुलेको आभास हुनेछ । नत्र बदलिएको भनिएको यो व्यवस्था पनि विगतमा जस्तै हुँदा खानेका लागि होइन, हुने खानेका लागि मात्र भइरहनेछ ।

यसका लागि नेपालका युवा राजनीतिकर्मी म्याक्रोन र  मेरिना जस्तै नै बन्नुपर्छ भन्ने होइन तर उनीहरूको सकारात्मक पाटोको अनुशरण गर्दै जागरुक हुन जरुरी छ । फ्रेडिक्सन र अड्रेन जो भाषणमा होइन, काममा विश्वास गर्छन्, आश्वासनमा होइन परिणाममा आनन्द लिन्छन् । जुन संस्कार उनीहरूले आफ्ना अग्रजबाट नै सिकिसकेका छन् । हो अंग्रेजले नसिकाएको र नदेखाएको राजनीतिको यो अप्ठ्यारो बाटो हिँड्न अबका युवा राजनीतिकर्मीले आइसब्रेक गर्न जरुरी छ ।

(लेखक अधिकारी हाल युरोपमा छन् ।)

सन्तोष अधिकारी
सन्तोष अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्