शिक्षणसँगै मैथिली भाषा साहित्यमा रमाएका अयोध्यानाथ

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

मैथिली भाषामा कथा र कविता लेख्ने गरेका साहित्यकार अयोध्यानाथ चौधरीको हिन्दी भाषामा लेखिएको ’ढलते आँसुओं के बीच’ गीति संग्रह केहीदिन अघिमात्रै जनकपुरधाममा लोकार्पण गरियो । पुष १० गते जनकपुरधाममा प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नबल किशोर साह सहित नेपाल र भारतबाट आएका साहित्यकारहरूले संयुक्त रूपमा लोकार्पण गरिएको थियो । मैथिली भाषामा कविता र कथा संग्रह प्रकाशन गर्दै आएका जनकपुरका साहित्यकार चौधरीको हिन्दी भाषामा उक्त पुस्तक पहिलो थियो ।

उनले प्रायः जसो मैथिली भाषामा कविता र कथा लेख्दै आएका छन् ।२००४ साल असोज २० गते धनुषाको विदेह नगर नगरपालिका वडा नम्बर २, दुहबी गाउँमा जन्मिएका चौधरी शिक्षक भएर अवकाश प्राप्त गरिसकेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ मा समेत घर रहेका चौधरी अहिले पनि कविता तथा कथा लेख्ने काममा नै सक्रिय छन् । 


Advertisement

अंग्रेजी भाषामा स्नात्तकोत्तर गरेका चौधरीको विद्यार्थीकालदेखिनै साहित्य तर्फ रुची थियो । भारतको सीएम कलेज दरभंगामा स्नातक अध्ययन गरिरहेका बेला कलेजकै मुखपत्र रहेको ‘विदेह’ पत्रिकामा सबैभन्दा पहिले उनको अंग्रेजी भाषामा रचना प्रकाशित भएको थियो । ‘सिम्पेथी’ शीर्षकमा उनले एउटा कथा अंग्रेजी भाषामा प्रकाशित गराएका थिए । त्यसपछि जब उनी स्नातकोत्तरको अध्ययनमा लागे । त्यतिबेला पटनाबाट प्रकाशित हुने गरेको ‘सोनामाटि’ नामक साहित्यिक पत्रिकामा ‘आन्हर ई जिन्दगी’ शीर्षकमा मैथिली कविता प्रकाशन गरे ।

स्नात्तकोत्तरको अध्ययन सकेपछि उनी शिक्षण पेशामा आबद्ध भए । २०२५ सालमा धनुषाको कन्टीर झा मावि बभनगामामा निमावि तहमा अंग्रेजी विषयको अस्थायी शिक्षक पदमा नियुक्त भए । त्यसलगत्तै उनले मावि तहमा अंग्रेजी विषय पढाउन थाले । विसं २०२८ सालमा नयाँ शिक्षा योजना लागू भएपछि १ वर्ष परीक्षणकालमा रहने गरी उनलाई स्थायी शिक्षक पदमा नियुक्त गरियो ।


Advertisement

२०३१ सालदेखि ०३३ सालसम्म मावि दुहबीमा, २०३३ देखि ०३६ सालसम्म जनकपुरको सकल भवन कन्या माविमा शिक्षक भएर काम गरे । २०३६ सालमैं शिक्षक सेवा आयोगको परीक्षा पास भएर उनी द्वितीय श्रेणीमा बढुवा भए । बढुवासँगै धनुषाको मावि गोदारमा प्रधानाध्यापक भएर काम गर्न थाले ।

फेरी २०३८ देखि ०४६ साल सम्म मावि खजुरीमा प्रधानाध्यापक भएर काम गरे । त्यसपछि २०४६ सालदेखि २०६४ सालसम्म मावि बहुअर्वामा प्रअ भएर काम गरेर २०६४ सालमा नै प्रथम श्रेणीमा बढुवा भएर सेवाबाट निवृत भए । बहुअर्वामा हुँदा उनका सहकर्मी शिक्षकहरू महेन्द्र मलंगिया, रामभद्र लाल दासको संगतमा परेर मैथिली भाषामा कविता तथा कथा लेख्ने कामलाई तीव्रता दिन थालेका थिए । त्यतिबेला जनकपुरको राम स्वरूप राम सागर बहुमुखी क्याम्पसमा कार्यरत रहेका डा. धीरेश्वर झाको प्रेरणा पाएर धेरैजसो साहित्यकारहरूले कथा, कविता लेख्ने कामलाई बढावा दिने गर्थे रे । साहित्यकार डा.राजेन्द्र बिमल, राम भरोस कापडी भ्रमर, रेवती रमण लाल, महेन्द्र मलंगिया र अयोध्यानाथ चौधरी जस्ता साहित्यकारहरू त्यहीँबाट साहित्य रचनालाई लेख्ने माहौल पाएका थिए ।

'त्यतिबेला उहाँ (डा.धीरेन्द्र) ले हामी सबैले लेखेको रचनाहरूको सम्पादन गर्नेदेखि भारतको विभिन्न साहित्यिक पत्रिकामा प्राक्षित गराइदिनेसम्मको काम गर्नुहुन्थ्यो,’ चौधरीले भने, ‘तर अहिले साहित्यको वातावरण नै छैन ।’ रचना लेखे पनि प्रकाशनको अभावका कारण पुस्तक प्रकाशन हुन सकिरहेको छैन । उनले प्रकाशन गरेका आधा दर्जन जति पुस्तक आफ्नै खर्चमा प्रकाशन गरेको उनी बताउँछन् । ‘अब प्रदेशदेखि स्थानीय तहसम्मको सरकार आएको छ,’ चौधरीले भने, ‘ती सरकारहरूले सडक, ढल आदिमा मात्र लगानी गरिरहेका छन्, साहित्य रचना तथा पुस्तक प्रकाशनमा समेत लगानी गर्नु आवश्यक छ ।’

उनी धनुषाको मावि बहुअर्वामा प्रधानाध्यापक हुँदा मातृभाषा मैथिलीमा नै कक्षा १ देखि ५ सम्म एउटा विषय मैथिली पढ्न अनिवार्य गरेका थिए । नेपाल सरकारले मातृभाषामा पनि प्राथमिक तहमा पठन पाठन गराउने उद्देश्यले मैथिली भाषामा पाठ्यपुस्तक पनि छपाएका थिए, तर कुनै पनि विद्यालयमा लागू भने भइरहेको थिएन । ‘अनि  २०५२ सालमा मैले आफ्नो विद्यालयका लागि काठमाडौंबाट ती मैथिली भाषाको कक्षा १ देखि ५ सम्मको पाठ्य पुस्तक ल्याएर आफ्नो विद्यालयमा लागू गरें,’ चौधरीले भने, ‘काठमाडौंको गोदाममा त्यसै थन्क्याएर राखिएको ती पाठ्यपुस्तकलाई विद्यालयसम्म ल्याएर पढाएपछि धेरै जसो विद्यालयमा पनि लागू गर्न थालियो ।’ मैथिली भाषामा पनि प्राथमिक शिक्षामा पढ्न पाउँदा विद्यार्थीहरूमा आफ्नो मातृभाषाप्रति रुची बढेको हुनाले धेरैजसो विद्यालयमा अहिलेसम्म पनि लागू नै रहेको उनी बताउँछन् ।

मैथिली कविता संग्रह ‘क्षितिजक ओहिपार’, मैथिली कथा संग्रह ‘एकटा हेरायल सम्बोधन’ , मैथिली कविता संग्रह ‘परिक्रमा’, मैथिली गीत संग्रह ‘चली किछु गुनगुनाली’ , मैथिली निबन्ध संग्रह ‘विकीर्ण चिन्तन’,  प्रकाशन गरि सकेका छन् । त्यसैगरी  हिन्दी कविता संग्रह ‘ढलते आंसुओं के बीच’ समेत उनले हिन्दी भाषामा कविता संग्रह प्रकाशन गरेका छन् । बालविवाह, दाइजो प्रथा, बोक्सीबारे अन्ध विश्वास, गरीबी, वैदेशिक रोजगारी, कमजोर आर्थिक अवस्था, कृषि प्रणालीसहित सामाजिक विषयवस्तु बाहेक प्रेम, वियोग आदिमा आधारित रहेर प्रायः जसो उनको रचना हुने गरेको छ ।

त्यसैगरी उनले विभिन्न साहित्यिक पत्रिकाहरूको सम्पादन तथा अनुवाद समेत गरेका छन् । मैथिली मासिक पत्रिका ‘सर सनेश’ , नेपाल प्रज्ञा प्रतिष्ठानबाट  प्रकाशित मैथिली वार्षिक पत्रिका ‘आंगन’  र ‘नेपाल का प्रतिनिधि मैथिली कथाहरू’ समेतको सम्पादन गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान बाट नै प्रकाशन गरिएको  ‘नेपालका प्रतिनिधि हिन्दी कथाहरू’को सम्पादन गर्नुका साथै उनी आफैंले मैथिली भाषामा लेखेका दुई वटा कथाहरू ( दुई पत्र र मद्धिम ) लाई नेपाली भाषामा अनुवाद समेत गरेर गरिमा नामक साहित्यिक पत्रिकामा प्रकाशन समेत गरेका छन् ।

साहित्यकार समेत रहेका प्राध्यापक डा.राजेन्द्र बिमल,  डा.राम अवतार यादव, डा.रामानन्द झा रमणले उनका प्रकाशित पुस्तकहरूको समीक्षा लेख्दा उनको कविता तथा कथाहरू अत्यन्तै उत्कृष्ट साहित्य रहेको भनेर लेख्ने गरेका छन् । मानव जीवनको मूल्य मान्यता, प्रेम भाव आदिमा आधारित रहेर उनले कविता तथा कथा लेख्ने गरेका हुन्छन् ।

२०५२ सालमा वैद्यनाथ सियादेवी मैथिली पुरस्कार प्रतिष्ठान, ललितपुरबाट सम्मानित भएका साहित्यकार चौधरीलाई भारतको तिरुपति बालाजीमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा ‘मिथिला रत्न’ बाट सम्मानित गरिएको थियो । त्यसैगरी २०६६ सालमा श्री कंटीर झा अलमुनी एशोसिएशन धनुषाबाट सम्मानित भएका चौधरीलाई २०६६ सालमा जनकपुरको श्री रामानन्द युवा क्लबले विद्यापति स्मृति पदकबाट सम्मानित भएका छन् । २०७० सालमा मैथिली विकास कोष जनकपुरले डा.धीरेंद्र साहित्य संस्कृति पुरस्कार बाट सम्मानित  गरेका छन् । २०७५ सालमा वीरगञ्जमा नेपाल-भारत साहित्य उत्सव आयोजन हुँदा उनलाई  नेपाल-भारत साहित्य सेतु सम्मान प्रदान गरिएको थियो ।

उनी नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारले सम्मानित भइसकेका छन् । २०७६ साल मंसिर २३ गते काठमाडौंमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट १ लाख रुपैयाँ नगद पुरस्कार तथा सम्मान पत्र नै आफूले पाएको सबैभन्दा ठूलो सम्मान बताउँछन् । ‘मैथिली भाषामा जतिसुकै लेखे पनि राष्ट्रिय पुरस्कार पाइन्नथ्यो,’ चौधरीले भने, ‘तर बल्ल आएर नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति गंगा प्रसाद उप्रेतीले मलाई मैथिली भाषामा साहित्य रचनाका लागि सम्मानित गर्नुभयो ,' उनले भने ।

अब मैथिली भाषामा लेखेर पनि राष्ट्रिय स्तरको पुरस्कार र सम्मान पाएपछि शिक्षण पेशाबाट सेवा निवृत भएर पनि उनी अहिले विविध विषयमा कलम चलाइरहेका छन् । 

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्