मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
पश्चिमी क्यालेन्डरलाई पछ्याउने हो भने वर्ष सकिन लागेको छ । बुधवारबाट नयाँ वर्ष शुरू हुँदैछ । यस्तोमा बितेको वर्ष सन् २०१९ का समीक्षाहरू आइरहेका छन् ।
यस वर्ष विश्व राजनीतिमा भएका महत्त्वपूर्ण घटनालाई हामी यहाँ समीक्षा गर्ने प्रयास गर्दैछौं । वर्षभरि दुईथरी घटनाले निकै चर्चा पाए : ग्रेटा थनबर्गको नेतृत्वमा जलवायु परिवर्तन रोक्नका लागि चलाइएको अभियान र संसारका विभिन्न मुलुकमा जनस्तरबाट भएका विद्रोह ।
जलवायु परिवर्तन र विश्व तापक्रममा वृद्धिका कारण पृथ्वीको अस्तित्व नै खतरामा परेको अनुभव गरेका युवाहरू १६ वर्षीया स्विडिश किशोरी ग्रेटा थनबर्गको फ्राइडे स्ट्राइक फर क्लाइमेट अभियानमा उत्साहपूर्वक सहभागी भए । शुक्रवार कक्षाहरू बहिष्कार गरेर उनीहरू जलवायु परिवर्तनविरुद्ध सडकमा निस्केर नारा लगाउन थाले ।
थनबर्ग प्रेरणादायी नेत्री बन्दै समुद्री मार्ग हुँदै युरोपबाट अमेरिका पुगिन् अनि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा गएर दमदार भाषण गरिन् । जलवायु परिवर्तनको दुष्प्रभावलाई कम गर्न विश्वनेताहरूले गम्भीरतापूर्वक कदम नचालेकोमा उनले भर्त्सना गर्दै हाउ डेयर यू भनी गरेको सम्बोधन संसारभरि प्रख्यात बन्यो ।
थनबर्गको अभियानसँगै एक्सटिंक्सन रिबेलियनले पनि वातावरण संरक्षणका पक्षमा स्तब्ध बनाउने किसिमका अभियान सञ्चालन गरेर मानिसहरूको ध्यान खिच्यो ।
वातावरणीय अभियानका अलावा यस वर्ष विभिन्न मुलुकमा जनस्तरमा भएका विद्रोह पनि चर्चामा रहे । विशेषगरी युवाहरूले असमानता, मूल्यवृद्धि, ऋण, सरकारी मितव्ययिता लगायतका विषयमा सरकारविरोधी अभियान चलाए अनि कतिपय देशमा कार्यकारी प्रमुखलाई राजीनामा दिन समेत बाध्य बनाए । भ्रष्ट, दमनकारी र अक्षम शासकहरूप्रति जनताको आक्रोश व्यापक रूपमा विस्फोट भयो । इजिप्ट, इरान, इराक, रुस र हङकङ लगायतका स्थानमा विरोधको दमन गरियो ।
त्यसैगरी चिली, पेरु, हाइटी, भेनेजुएला, पाकिस्तान, सुडान, जिम्बाब्वे, दक्षिण अफ्रिका, ट्युनिसिया, लेबनान लगायतका देशमा आर्थिक असमानता तथा राजनीतिक अव्यवस्थाको विरोध गर्दै युवाहरू सडकमा ओर्र्लिए । केही देशमा निर्णायक परिवर्तन देखिाए ।
सुडानमा लामो समयदेखि निरंकुश शासन चलाइरहेका ओमर अल–बशिरलाई जनताले लामो संघर्षपछि हटाउन सफल भए । त्यस्तै अल्जेरियामा लामो शासन चलाएका राष्ट्रपति अब्देलअजिज बूतेफ्लिकालाई अपदस्थ गरियो यद्यपि शासनमा सम्भ्रान्त वर्गको कब्जा कायम रह्यो । त्यस्तै लेबनानका प्रधानमन्त्री साद हरिरी पनि राजीनामा दिन बाध्य भए । अनि माल्टामा खोज पत्रकार ड्याफ्ने कारुआना गलिजियाको हत्यामा संलग्नहरूको खोजी हुँदै जाँदा प्रधानमन्त्री तहसम्म पुगेपछि प्रधानमन्त्री जोसेफ मस्कट राजीनामा दिने स्थितिमा पुगेका छन् ।
अनि फ्रान्समा मजदूर वर्गको समस्यालाई सरकारले ध्यान नदिएको भन्दै चलेको येल्लो भेस्ट अभियान अहिलेसम्म कायम छ । बोलिभियामा भने वैध रूपमा निर्वाचित राष्ट्रपति इभो मोरालेसलाई दक्षिणपन्थी कूमार्फत अपदस्थ गरेर जनविद्रोहको बहानामा मेक्सिकोमा निर्वासित हुन बाध्य बनाइएको छ ।
हङकङमा सुपूर्दगी कानूनविरुद्ध उठेको अभियान वर्षको अन्त्य हुँदासम्म पनि थामिएको छैन । पश्चिमी मुलुकहरूले यसलाई लोकतन्त्रपक्षधर अभियान नाम दिएको भए पनि चीनले भने आफ्नो सार्वभौमसत्तालाई खलल दिने उद्देश्यले आन्दोलन चर्काइएको आरोप लगाएको छ ।
विश्वभरि लोकरञ्जनवादीहरूको विजय अभियान यस वर्ष पनि जारी रह्यो । बेलायतमा कन्जर्भेटिभ पार्टीका बोरिस जोनसनले निर्णायक बहुमतका साथ निर्वाचनमा विजय हासिल गरेर बेलायतलाई युरोपेली संघबाट निकाल्ने ब्रेक्जिटका लागि जनसमर्थन पाए । अनि युरोपेली संसदमा पनि लोकरञ्जनवादी दलहरूले राम्रो मत ल्याएर मूलधारका मध्यमार्गी दलहरूलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाए यद्यपि लोकरञ्जनवादीहरूले निर्णायक मत भने ल्याएका छैनन् ।
लोकरञ्जनवादी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका लागि यो वर्ष त्यति सुखदायी रहेन । राष्ट्रपति निर्वाचनमा रुसको सहयोग लिएको भन्ने विषयमा रोबर्ट मुलरको संयोजनमा गठित छानबिन समितिले ट्रम्पलाई पूरापूर दोषी ठहर नगर्दा केही राहत त उनले पाए । तर त्यसलगत्तै ट्रम्पले आफ्ना प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडनको बारेमा कमजोरी पत्ता लगाउन युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको आरोप लागेको छ । यसै आधारमा डेमोक्रेटिक पार्टीले तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा ट्रम्पविरुद्ध महाअभियोग बहुमतका साथ पारित गरिसकेको छ । महाअभियोगमाथिको सुनुवाइ अब माथिल्लो सदन सिनेटमा हुनेछ । तर त्यहाँ ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत भएकाले महाअभियोग पारित हुने सम्भावना क्षीण छ । तर ट्रम्पको विश्वसनीयतामा महाअभियोग प्रकरणले ठूलै धकका दिएको छ र उनी अर्को वर्ष पुनः निर्वाचित हुने विषय शंकाको घेरामा छ ।
ट्रम्पले उत्तर कोरियासँग गरेको वार्ता पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन । यस वर्ष ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच भियतनामको हनोईमा अनि उत्तर कोरियाली भूमिमै भेटवार्ता भएको भए पनि प्योङयाङले आफ्ना आणविक हतियार निर्मूल पार्नुपर्ने वाशिङटनको दबाबका कारण शान्तिवार्ता अघि बढ्न सकेको छैन । किमले आणविक बम र लामो दूरीको क्षेप्यास्त्र परीक्षण हाललाई स्थगित गरेको भए पनि छोटो तथा मध्यम दूरीका क्षेप्यास्त्र परीक्षण रोकेका छैनन् । उत्तरपूर्वी एसिया अहिले पनि तनावकै स्थितिमा छ ।
ट्रम्पको बहुलट्ठीपूर्ण कदमका कारण पश्चिम एसियामा पनि तनावको स्थिति छ । अघिल्लो वर्ष इरान आणविक सम्झौताबाट अमेरिकालाई अलग्याएर इरानविरुद्ध कठोर आर्थिक प्रतिबन्ध लगाएका ट्रम्पले वर्षैभरि इरानलाई चिढ्याइरहे । खाडीमा जहाज र तेल प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि वाशिङटन र उसको क्षेत्रीय साझेदार रियादले इरानमाथि त्यसको दोष थोपर्यो । यसै क्रममा इरानले आफ्नो क्षेत्रमा आइपुगेको अमेरिकी ड्रोन विमान खसाएपछि अमेरिका र इरानबीच युद्धको स्थिति बन्यो । तर ट्रम्पले अन्तिम समयमा प्रत्याक्रमण रोक्ने आदेश दिएपछि युद्ध चर्किन पाएन ।
अनि ट्रम्पले अफगानिस्तानमा विगत १८ वर्षदेखि चलिरहेको युद्ध अन्त्यका लागि गरेको प्रयास पनि फलदायी बन्न सकेको छैन यद्यपि सकारात्मक प्रयासहरू भने भइरहेका छन् । कतारको राजधानी दोहामा तालिबान र अमेरिकी प्रतिनिधिहरूबीच वार्ता टुंगोमा पुग्नै लाग्दा तालिबान आक्रमण कायम रहेको भन्दै ट्रम्पले अचानक वार्ता भंग भएको घोषणा गरे । त्यसपछि पनि हिंसाको सिलसिला जारी रह्यो । तर थ्यांक्सगिभिङ डेमा ट्रम्प अघोषित रूपमा अफगानिस्तान पुगेर शान्तिवार्ता कायमै रहेको बताए । सन् २०२० मा शान्तिवार्ता तार्किक निष्कर्षमा पुग्ने अपेक्षा गर्न सकिन्छ ।
ट्रम्प नेतृत्वमा रहेको अमेरिकाले विश्वमा प्रभुत्व बिस्तारै गुमाउँदै गएको संकेत सन् २०१९ ले दियो । एकध्रुवीय विश्वबाट अब बिस्तारै बहुध्रुवीय विश्व बन्दै गएको देखिएको छ । विशेषगरी चीन, रुस र इरान मिलेर अमेरिकी प्रभुत्वलाई चुनौती दिइरहेका छन् र अहिले उनीहरू खाडीमा संयुक्त सैन्य अभ्यास समेत गरिरहेका छन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले अमेरिकी नेतृत्वको नाटो गठबन्धनको दिमागी रुपमा मृत (ब्रेन डेड) भनेकाले पनि अब अमेरिकी तथा पश्चिमी प्रभुत्व क्षीण भएको संकेत दिन्छ ।
चीनको चामत्कारिक प्रगतिसँग त्रसित अमेरिकाले चलाएको व्यापारयुद्ध थामिने संकेत छैन र अब दोस्रो चरणको व्यापारयुद्धमा आयातकर तथा अन्तःशुल्क भन्दा पनि आयात तथा निर्यात अनि लगानीमा नियन्त्रण र प्रतिबन्ध लगाइने सम्भावना विश्लेषकहरूले औंल्याएका छन् ।
भारत र पाकिस्तानबीच आणविक युद्ध भड्किन सक्ने आशंका यस वर्ष प्रबल बनेको भए पनि सौभाग्यवश त्यसो भएन । कश्मीरमा पाकिस्तानसमर्थित लडाकूहरूले आक्रमण गरेर भारतीय अर्धसैनिक बलका जवानहरूलाई हत्या गरेपछि त्यसको प्रतिकारस्वरूप भारतले पाकिस्तानको भूमिमा प्रवेश गरेर हवाई आक्रमण गर्यो । तर युद्ध चर्कन भने पाएन । त्यही युद्धोन्मुख स्थितिले भारतमा नरेन्द्र मोदीलाई सत्तामा पुनः फर्काउन ठूलो भूमिका खेल्यो । राष्ट्रवादी नारा उराल्दै मोदी र भाजपाले पहिलेको भन्दा बढी सीट जित्दै बहुमत ल्यायो । त्यसैबाट प्रेरित भएर भाजपाले जम्मु–कश्मीरलाई दिँदै आएको विशेषाधिकार खोसेर त्यसलाई केन्द्रशासित प्रदेश बनायो । पाकिस्तानले यसको निकै विरोध गरेको भए पनि विश्वसमुदायले उसलाई साथ दिएन । अनि मोदी र भाजपाले चाहेमुताबिक अयोध्याको विवादित भूमिमा राम मन्दिर बनाउने बाटो भारतको सर्वोच्च अदालतले खोलिदिएपछि उग्रदक्षिणपन्थीहरूको मनोबल भारतमा बढेर गएको छ ।
उता सिरियामा गृहयुद्ध यस वर्ष पनि जारी रह्यो र हजारौंको संख्यामा मानिसहरूले ज्यान गुमाए । तर सन् २०१४ मा इस्लामिक स्टेटका आतंकवादीहरूले इराक र सिरियाका क्षेत्रमा घोषणा गरेको क्यालिफेट यो वर्ष ध्वस्त भयो । अनि अक्टोबर महिनामा आईएसका नेता अबु बक्र अल–बग्दादीलाई कुर्दहरूको सहयोगमा अमेरिकाको विशेष सैन्यबलले हत्या गर्यो । बग्दादीको हत्यासँगै आईएसको आक्रमणमा पनि कमी आएको छ ।
सन् २०२० मा विश्व राजनीतिमा ब्रेक्जिटपछि बेलायतको स्थिति के हुनेछ भन्ने विषय अनि डोनल्ड ट्रम्प दोस्रो कार्यकालका लागि पनि निर्वाचित होलान् भन्ने विषय चासोको केन्द्रमा रहनेछ ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...