प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने एजेण्डाका साथ बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीलाई जिम्मेवारी दिएको हो ।
केन्द्रीय समिति सदस्य मीनबहादुर विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिइएको बताए ।
'बैठकले राष्ट्रियसभा निर्वाचनको उम्मेद्वार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको छ,' विश्वकर्माले लोकान्तरसँग भने, 'यसका लागि विभिन्न राजनीतिक दलसँग समन्वय गर्न पहल गर्ने, अन्य दलसँगको सहकार्यमा सरकारले गरेका संविधान र प्रजातन्त्र विरोधी क्रियाकलापको देशव्यापी रूपमा विरोध गर्ने लगायतका निर्णय गरेको छ ।'
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय केन्द्रीय समिति सदस्यहरू उपस्थित थिएनन् ।
११ गते बसेको केन्द्रीय समितिले असन्तुष्ट पक्षलाई सहमतिमा नलिई महाधिवेशनको मिति तय गरेको भन्दै पौडेलपक्षले त्यसयताका कुनै पनि औपचारिक बैठकमा भाग नलिने घोषणा गरेको छ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि पुस २० गते उम्मेद्वारी मनोनयन गर्ने मिति तोकेको छ भने निर्वाचनको मिति माघ ९ गतेलाई तय गरेको छ ।
यता पार्टीको केन्द्रीय समितिको बैठक बहिष्कार गरेर पौडेलपक्ष भने महामन्त्री शशांक कोइराला निवास महाराजगंजमा भेला भएको छ ।
पौडेलपक्षी एक केन्द्रीय समिति सदस्यले २१ गते बोलाइएको जिल्ला सभापतिको भेलाको तयारीका लागि बैठक बसेको बताए ।
जिल्ला सभापतिहरूसँगको छलफलपछि आफूहरू नयाँ ढंगले अघि बढ्ने पौडेलले चेतावनी दिएका छन् ।