
बुधवार नेपालले विश्वका नागरिकलाई नेपाल घुम्न आमन्त्रण गर्दै औपचारिक आह्वान गर्यो । दशरथ रंगशालामा भव्य कार्यक्रम गर्दै सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन उद्घाटन गरियो ।
नेपालमा छिर्ने बित्तिकै देखिने पहिलो ठाउँ हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । भ्रमण वर्ष लाग्दा कस्तो छ त नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ? यो सबैको जिज्ञासाको विषय हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा पहिलेभन्दा परिवर्तन गरिएको छ । यात्रुहरू विमानबाट ओर्लिने बित्तिकै भिसाको कामको लागि आगमन कक्षमा आउँछन् । आगमन कक्षमा अध्यागमन विभागले यात्रुको सहयोगको लागि नयाँ ११ वटा डेस्क राखेको छ, जसमा २/२ वटा काउन्टर गरी २२ वटा काउन्टर छन् । जसबाट एकैसाथ २२ जनाले सेवा लिन सक्ने व्यवस्था गरिएको अध्यागमन अधिकृत जितेन्द्र अधिकारीले बताए ।

‘अहिले एउटा डेस्कमा २ वटा काउन्टरसहित आगमनमा २२ वटा काउन्टरहरू छन्,’ अधिकृत अधिकारीले भने । हरेक डेस्कमा ‘फ्ल्याट ब्यारियर’ राखिएको छ । जसले भिसाको ‘स्ट्याम्प’ नलगाएसम्म बाहिर जान दिँदैन् । यसभन्दा अगाडि फ्ल्याट ब्यारियर नहुँदा कतिपय यात्रुहरू यत्तिकै बाहिरिने समस्या भएको अधिकारीले बताए ।
‘फ्ल्याट ब्यारियर’ले गर्दा भिसाको काम नसकिएसम्म र अध्यागमनका अधिकारीले अनुमति नदिएसम्म यात्रुहरू बाहिरिन पाउँदैनन् । सहजताको लागि १५ दिने भिसा, ९० दिने भिसा, चीन र युरोपका यात्रु लगायतलाई सजिलोका लागि छुट्टै डेस्कको व्यवस्था गरिएको छ ।

प्रस्थान गर्ने ठाउँमा ७ वटा डेस्क राखिएको छ, जसमा २/२ वटा काउन्टर गरी जम्मा १४ वटा काउन्टर राखिएको छ । यात्रुको लाइन मिलाउनको लागि अध्यागमन विभागले आफ्नै लगानीमा लाइन व्यवस्थापन गर्ने ‘स्ट्यान्ड’हरूको व्यवस्था गरेको छ । नेपालबाट बाहिरिने यात्रुलाई व्यवस्थित गर्नको लागि ‘स्ट्यान्ड’को व्यवस्था गरिएको अधिकृत अधिकारीले लोकान्तरलाई बताए ।
यात्रुलाई सास्ती नहोस् भन्नको लागि बस्ने कुर्सीको पनि व्यवस्था गरिएको छ । अन्य भौतिक संरचना पनि नयाँ–नयाँ बनाइएको छ । ‘पहिले भुइँमा कार्पेट थिए, अहिले ‘फ्लोरिङ’ लगाइएको छ । खम्बाहरू पनि परिवर्तन भएका छन्, जसले गर्दा विमानस्थलको स्वरुप परिवर्तन भएको छ,’ अधिकारीले लोकान्तरसँग भने । डेस्क, सिलिङ, कुर्सी, फ्ल्योरिङ, रंगरोगन लगायतका भौतिक संरचना निर्माणको लागि हालसम्म लगभग ४ करोडभन्दा माथि खर्च भएका विभागका निर्देशक तिवारीले बताए ।

‘यो हामीले सबै भौतिक संरचना निमार्णका लागि खर्च गरेका हौं,’ तिवारीले भने । विमानस्थलबाट प्रस्थान गर्ने ठाउँमा वैदेशिक रोजगारी, टुरिस्ट र विद्यार्थी भिसामा बाहिरिने यात्रुलाई छुट्टै लाइनको व्यवस्था गरिएको छ ।
लाइन व्यवस्थापनमा पूर्व सेना र प्रहरी
विमानस्थलमा हुने भीडभाड व्यवस्थापनको लागि अध्यागमन विभागले १४ जना अवकाश प्राप्त नेपाली सेनाका कर्मचारी र प्रहरी कर्मचारीलाई नियुक्त गरेको छ ।
‘भ्रमण वर्षमा आउने–जाने यात्रुलाई व्यवस्थापन गर्न करारमा १४ जना कर्मचारी नियुक्त गरेका छौं,’ निर्देशक तिवारीले भने । नियुक्त भएका कर्मचारीले यात्रुलाई परेका सानातिना समस्या समाधान गर्ने, लाइन व्यस्थापन गर्ने, यात्रुलाई सम्बन्धित ठाउँसम्म पुर्याउने काम गर्छन् ।

‘नेपालबाट वैदेशिक रोजगारीमा जाने कतिपय यात्रुले कुन ठाउँमा लाइन लाग्ने, भिसा कता देखाउने भन्ने पनि जान्नुहुन्न, त्यसको लागि पनि उहाँहरूले सहयोग गर्नुहुनेछ,’ तिवारीले भने ।
विमानस्थलमा ‘नेपाली पोर्ट’ सफ्टवेयर
अध्यागमन विभागले नेपालमा भित्रिने र बाहिरिने विदेश नागरिकको विवरण राख्नका लागि छुट्टै सफ्टवेयर विकास गरेको छ । हाल प्रचलनमा रहेको ‘ईम्मी’ सफ्टवेयरलाई प्रतिस्थापन गरी नयाँ सफ्टवेयर प्रयोगमा ल्याउन लागेको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।
‘हामीले विभाग मातहतकै प्राविधिक र इन्जिनीयरको टीम परिचालन गरेर नेपाली पोर्ट नामक नयाँ सफ्टवेयर विकास गरेका छौं,’ निर्देशक तिवारीले लोकान्तरसँग भने ।

सफ्टवेयरले मानिसको आँखा नानी र औंठाछापको स्क्यान गरी सफ्टवेयरमा डाटाका साथै यात्रुको पासवर्डमा भएको विवरण पनि राख्ने काम गर्छ । सफ्टवेयरमा इन्टरपोल र नेपाल प्रहरीसँग भएको अपराधीका सूचना पनि राख्छ, जसले गर्दा विदेशबाट नेपालमा अपराधीहरू भित्रिन नपाउन भन्ने उद्देश्य रहेको निर्देशक तिवारीले बताए ।
त्रिभुवन विमानस्थलको आवागमन र प्रस्थान कक्षमा अत्याधुनिक डेस्क स्थापना गर्न विभागले २३ करोड ५८ लाख रुपैयाँ बजेट पाएको थियो । हाल भौतिक संरचनामा मात्र लगभग ५ करोड खर्च भएको तिवारीले बताए ।

