२६ जेठ २०८३, मंगलबार

भ्रमण वर्षमा अन्तर्राष्ट्रिय विमानस्थल सुधार, आँखाको नानी स्क्यान हुने

पुस १८, २०७६
भ्रमण वर्षमा अन्तर्राष्ट्रिय विमानस्थल सुधार, आँखाको नानी स्क्यान हुने

बुधवार नेपालले विश्वका नागरिकलाई नेपाल घुम्न आमन्त्रण गर्दै औपचारिक आह्वान गर्‍यो । दशरथ रंगशालामा भव्य कार्यक्रम गर्दै सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन उद्घाटन गरियो ।

नेपालमा छिर्ने बित्तिकै देखिने पहिलो ठाउँ हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । भ्रमण वर्ष लाग्दा कस्तो छ त नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ? यो सबैको जिज्ञासाको विषय हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा पहिलेभन्दा परिवर्तन गरिएको छ । यात्रुहरू विमानबाट ओर्लिने बित्तिकै भिसाको कामको लागि आगमन कक्षमा आउँछन् । आगमन कक्षमा अध्यागमन विभागले यात्रुको सहयोगको लागि नयाँ ११ वटा डेस्क राखेको छ, जसमा २/२ वटा काउन्टर गरी २२ वटा काउन्टर छन् । जसबाट एकैसाथ २२ जनाले सेवा लिन सक्ने व्यवस्था गरिएको अध्यागमन अधिकृत जितेन्द्र अधिकारीले बताए ।

‘अहिले एउटा डेस्कमा २ वटा काउन्टरसहित आगमनमा २२ वटा काउन्टरहरू छन्,’ अधिकृत अधिकारीले भने । हरेक डेस्कमा ‘फ्ल्याट ब्यारियर’ राखिएको छ । जसले भिसाको ‘स्ट्याम्प’ नलगाएसम्म बाहिर जान दिँदैन् । यसभन्दा अगाडि फ्ल्याट ब्यारियर नहुँदा कतिपय यात्रुहरू यत्तिकै बाहिरिने समस्या भएको अधिकारीले बताए ।

‘फ्ल्याट ब्यारियर’ले गर्दा भिसाको काम नसकिएसम्म र अध्यागमनका अधिकारीले अनुमति नदिएसम्म यात्रुहरू बाहिरिन पाउँदैनन् । सहजताको लागि १५ दिने भिसा, ९० दिने भिसा, चीन र युरोपका यात्रु लगायतलाई सजिलोका लागि छुट्टै डेस्कको व्यवस्था गरिएको छ ।

प्रस्थान गर्ने ठाउँमा ७ वटा डेस्क राखिएको छ, जसमा २/२ वटा काउन्टर गरी जम्मा १४ वटा काउन्टर राखिएको छ । यात्रुको लाइन मिलाउनको लागि अध्यागमन विभागले आफ्नै लगानीमा लाइन व्यवस्थापन गर्ने ‘स्ट्यान्ड’हरूको व्यवस्था गरेको छ । नेपालबाट बाहिरिने यात्रुलाई व्यवस्थित गर्नको लागि ‘स्ट्यान्ड’को व्यवस्था गरिएको अधिकृत अधिकारीले लोकान्तरलाई बताए ।

यात्रुलाई सास्ती नहोस् भन्नको लागि बस्ने कुर्सीको पनि व्यवस्था गरिएको छ । अन्य भौतिक संरचना पनि नयाँ–नयाँ बनाइएको छ । ‘पहिले भुइँमा कार्पेट थिए, अहिले ‘फ्लोरिङ’ लगाइएको छ । खम्बाहरू पनि परिवर्तन भएका छन्, जसले गर्दा विमानस्थलको स्वरुप परिवर्तन भएको छ,’ अधिकारीले लोकान्तरसँग भने । डेस्क, सिलिङ, कुर्सी, फ्ल्योरिङ, रंगरोगन लगायतका भौतिक संरचना निर्माणको लागि हालसम्म लगभग ४ करोडभन्दा माथि खर्च भएका विभागका निर्देशक तिवारीले बताए ।

‘यो हामीले सबै भौतिक संरचना निमार्णका लागि खर्च गरेका हौं,’ तिवारीले भने । विमानस्थलबाट प्रस्थान गर्ने ठाउँमा वैदेशिक रोजगारी, टुरिस्ट र विद्यार्थी भिसामा बाहिरिने यात्रुलाई छुट्टै लाइनको व्यवस्था गरिएको छ ।

लाइन व्यवस्थापनमा पूर्व सेना र प्रहरी

विमानस्थलमा हुने भीडभाड व्यवस्थापनको लागि अध्यागमन विभागले १४ जना अवकाश प्राप्त नेपाली सेनाका कर्मचारी र प्रहरी कर्मचारीलाई नियुक्त गरेको छ ।

‘भ्रमण वर्षमा आउने–जाने यात्रुलाई व्यवस्थापन गर्न करारमा १४ जना कर्मचारी नियुक्त गरेका छौं,’ निर्देशक तिवारीले भने । नियुक्त भएका कर्मचारीले यात्रुलाई परेका सानातिना समस्या समाधान गर्ने, लाइन व्यस्थापन गर्ने, यात्रुलाई सम्बन्धित ठाउँसम्म पुर्‍याउने काम गर्छन् ।

‘नेपालबाट वैदेशिक रोजगारीमा जाने कतिपय यात्रुले कुन ठाउँमा लाइन लाग्ने, भिसा कता देखाउने भन्ने पनि जान्नुहुन्न, त्यसको लागि पनि उहाँहरूले सहयोग गर्नुहुनेछ,’ तिवारीले भने ।

विमानस्थलमा ‘नेपाली पोर्ट’ सफ्टवेयर 

अध्यागमन विभागले नेपालमा भित्रिने र बाहिरिने विदेश नागरिकको विवरण राख्नका लागि छुट्टै सफ्टवेयर विकास गरेको छ । हाल प्रचलनमा रहेको ‘ईम्मी’ सफ्टवेयरलाई प्रतिस्थापन गरी नयाँ सफ्टवेयर प्रयोगमा ल्याउन लागेको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।

‘हामीले विभाग मातहतकै प्राविधिक र इन्जिनीयरको टीम परिचालन गरेर नेपाली पोर्ट नामक नयाँ सफ्टवेयर विकास गरेका छौं,’ निर्देशक तिवारीले लोकान्तरसँग भने । 

सफ्टवेयरले मानिसको आँखा नानी र औंठाछापको स्क्यान गरी सफ्टवेयरमा डाटाका साथै यात्रुको पासवर्डमा भएको विवरण पनि राख्ने काम गर्छ । सफ्टवेयरमा इन्टरपोल र नेपाल प्रहरीसँग भएको अपराधीका सूचना पनि राख्छ, जसले गर्दा विदेशबाट नेपालमा अपराधीहरू भित्रिन नपाउन भन्ने उद्देश्य रहेको निर्देशक तिवारीले बताए ।

त्रिभुवन विमानस्थलको आवागमन र प्रस्थान कक्षमा अत्याधुनिक डेस्क स्थापना गर्न विभागले २३ करोड ५८ लाख रुपैयाँ बजेट पाएको थियो । हाल भौतिक संरचनामा मात्र लगभग ५ करोड खर्च भएको तिवारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्