इरानका सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले हत्या गरेपछि इरानले इराकस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको छ । अब यसको प्रतिक्रियामा अमेरिकाले इरानमाथि आक्रमण गर्ने हो कि भनी संसारले आशंका गरेको छ ।
त्यसो त अमेरिकाका अगाडि इरानको सैन्य क्षमता कमजोर छ तर युद्ध भएमा खाडी देशहरूको स्थिति अहिलेको भन्दा खराब हुनेछ ।
अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका अनुसार, अहिले खाडी मुलुकहरूमा अमेरिकाका १ लाख २० हजार जवान पठाउने योजना बनिरहेको छ । अमेरिकाले अहिले ३५ सय सैनिकलाई खाडीतर्फ पठाएको छ । अमेरिकी सेन्य अड्डा संसारभरि फैलिएको छ ।
संसारभरि अमेरिकाको ८०० सैन्य अड्डा छ । ती अड्डाहरूले संसारभरि रक्षा रणनीति सुनिश्चित गर्छन् । आवश्यक परेमा ती अड्डाले आक्रमण गर्छन् अनि जासूसी गरिरहन्छन् ।
खाडी देशको कुरा गर्दा सबै खाडी देशमा अमेरिकाका १०० भन्दा बढी सैन्य अड्डा छन् । त्यसैको आडमा उसले खाडी मुलुकहरूमा रणनीतिक नियन्त्रण राख्छ । ती सैन्य अड्डामा लगभग ७० हजार जवान तैनाथ छन् ।
अमेरिकाको सैन्य अड्डा बहराइन, इराक, जोर्डन, कुवेत, कतार, साउदी अरब, सिरिया, टर्की, संयुक्त अरब अमिरात र अफगानिस्तानमा छन् ।
बहराइनमा अमेरिकाका सात हजार सैनिक छन् । तीमध्ये अधिकांश जलसेनाका हुन् । उनीहरू पर्सियन खाडीमा शेख ईसा एयरबेस र खलीफा इब्न सलमान पोर्टमा तैनाथ छन् ।
इराकमा ५२ सय जवान तैनाथ छन् । उनीहरूलाई इस्लामिक स्टेट विरुद्ध लड्नका लागि तैनाथ गरिएको हो ।
जोर्डनमा २७ सय ९५ अमेरिकी जवान छन् । उनीहरू क्षेत्रीय स्थिरता कायम राख्न त्यहाँ बसेका हुन् ।
कुवेतमा १३ सय अमेरिकी जवान छन् । ओमानमा सन् १९८० देखि २०० अमेरिकी जवान तैनाथ छन् । उनीहरू साल्लाह र ड्युक पोर्टमा छन् ।
कतार अमेरिकाको प्रमुख सहयोगी देश हो । त्यहाँ अमेरिकाका लगभग १३ हजार जवान तैनाथ छन् । उनीहरू अल उदीद एयरबेस र सायलीह क्याम्पमा छन् ।
साउदी अरबमा केही महिनाअघि अमेरिकाले तीन हजार जवान पठाएको थियो ।
अमेरिकाको सेन्ट्रल कमान्डले सिरियामा उपस्थित सैनिकहरूको जानकारी सुरक्षा कारणले गर्दा जारी गरेको छैन । तर समाचारमा आएअनुसार त्यहाँ दुई हजार जवान छन् ।
टर्कीमा पनि अमेरिकी सैनिकको संख्या स्पष्ट छैन । तर उनीहरू इजमिर र इनरलिक एयरबेसमा तैनाथ छन् ।
अमेरिकाले यूएईमा स्ट्रेट अफ होर्मुज नजिक पाँच हजार जवान तैनाथ गरेको छ ।
अफगानिस्तानमा अमेरिकाका १४ हजार जवान तैनाथ छन् । अनि नाटोका आठ हजार जवान पछि छन्
एजेन्सी