
सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको भेलामा आएका जिल्ला सभापतिका लागि बिहीवार देउवा निवास बुढानिलकण्डमा सामूहिक भोज आयोजना गरिएको छ ।
पार्टी कार्यालय सानेपामा पौडेल पक्षले गरेको भेला सकिएपछि बिहीवार बिहान सभापति देउवाले सामूहिक भोज आयोजना गरेका हुन् ।
सभापति देउवाको निमन्त्रणामा आफूहरू बुढानिलकण्ठ जान लागेको धादिङका जिल्ला सभापति रमेश धमलाले बताए । ‘जिल्ला सभापतिको भेलामा हामीले केही असन्तुष्टि तय गरेका छौं । त्यसबारे सभापति देउवालाई स्पष्ट जानकारी दिन्छौं,’ उनले भने ।
सभापति देउवासँगको भेटमा असन्तुष्ट पक्षले लिखित असन्तुष्टि राख्ने तयारी गरेको सभापति धमलाले बताए । देउवाले जिल्ला सभापतिहरूको असन्तुष्टि सुन्न सामूहिक भेटघाट मिलाएका हुन् ।
पौडेल समूहले बहिष्कार गरिरहेका बेला देउवाले केन्द्रीय समिति बैठक गरेर महाधिवेशनको कार्यतालिका र पार्टीका विभागको संख्या बढाउने निर्णय गरेपछि पार्टीमा विवाद चर्किएको छ । पौडेल पक्षले बहुमतका आधारमा भएको निर्णय फिर्ता लिनुपर्ने माग गर्दै आएको छ ।