बन्दै गरेको धावनमार्गमा ओर्लियो विमान (भिडियो)

रुसको राजधानी मस्कोको दोमोदेदोभो विमानस्थलमा बन्दै गरेको तेस्रो धावनमार्गमा सुखोई सुपरजेट १०० विमान ओर्लेपछि यात्रुहरू आत्तिएका छन् । 

उक्त धावनमार्ग बन्न वर्षौंदेखि विलम्ब भइरहेको थियो । 


Advertisement

कुल ९९ मानिस सवार विमान बिहीवार मध्याह्न मस्कोको दोस्रो व्यस्त विमानस्थलको बन्दै गरेको धावनमार्गमा सुरक्षित रूपमा अवतरण गरेको थियो । यसरी अवतरण गर्दा यात्रु र विमान कर्मचारीलाई कुनै चोटपटक लागेन  अन्य कुनै जटिलता पनि देखिएन ।

विमानका यात्रुले खिचेको भिडियोमा विमान कुनै पनि रेखा वा मार्क नभएको धावनमार्गमा बिस्तारै ओर्लेको देखिन्छ । 


Advertisement

धावनमार्गमा कुनै संकेत चिह्न नदेखिएपनि यात्रुहरूले शंका गरेनन् । 

इरएयरो क्यारियर नामक एयरलाइन्सका पाइलटले विमान अवतरण गर्दा आपतकालीन स्थिति नआएको तर यसरी अवतरण गराउनु आफ्नो गल्ती भएको बताए । मस्कोमा मौसमको हाल खराब भएको र आफूले अपूर्ण धावनमार्गलाई मात्र देखेको उनले बताए । यो धावनमार्ग पुरानोभन्दा २८० मिटर मात्र पर छ । 

आफूले नियमित किसिमको अवतरण गराएको र विमानले भुइँ छोएपछि मात्र गलत ठाउँमा ओर्लिएको थाहा पाएको पाइलटले बताए । 

दोमोदेदोभो विमानस्थलको तेस्रो धावनमार्ग सन् २०१४ देखि बनाइन शुरू गरिएको थियो र दुई वर्षमा सक्ने लक्ष्य लिइएको थियो । तर मुख्य ठेकेदार टाट पल्टिएपछि ८० प्रतिशत काम सकिएको धावनमार्ग अपूरो नै छोडिएको थियो । यो कहिलेदेखि पूर्ण सञ्चालनमा आउने हो भन्ने निश्चित छैन ।

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्