को हुन् रुसका नयाँ प्रधानमन्त्री मिशुस्तिन ?

रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले संविधान संशोधनको प्रस्ताव राखेसँगै सरकारले राजीनामा दिएपछि मिखाइल मिशुस्तिन नयाँ प्रधानमन्त्री बनेका छन् । रुसको संसद् डुमाले बिहीवार उनलाई अनुमोदन गरेको हो ।

संघीय कर सेवाका हाकिमका रूपमा मिशुस्तिन प्रायः चर्चामा आउँदैनथिए । तर उनका साथीहरूले उनी सच्चा व्यावसायिक मात्र नभई रमाइलो व्यक्ति पनि भएको बताएका छन् ।


Advertisement

‘उनले शून्यबाट शुरू गरेर अत्याधुनिक प्रविधियुक्त संघीय कर सेवा बनाई नाम कमाएका हुन् । उनले डिजिटल इकोनोमी प्रवर्द्धनमा योगदान गरे,’ डुमाका सभामुख भ्याचेस्लाभ भोलोदिनले बताए ।

मिशुस्तिन सन् २०१० देखि संघीय कर सेवाका प्रमुख रहे अनि उनलाई भविष्यका कर अधिकृत भन्दै फाइनान्सियल टाइम्सले प्रोफाइल बनाएको थियो । उनले देशभरि कर विभागको कामलाई स्ट्रीमलाइन गर्न प्रयास गरेको भनी त्यसमा प्रशंसा गरिएको थियो । उनले रुसीहरूका लागि एकद्वार प्रणालीमार्फत कर तिर्न सजिलो बनाएका थिए अनि डिजिटाइजेसन गरेर पेपरवर्कलाई स्वाट्टै कम गरेका थिए । पोहोर साल उनले विशाल एकीकृत डेटाबेस बनाएका थिए । उनले ल्याएका सुधारका कारण रुसमा राजस्व वृद्धि भएको छ ।


Advertisement

‘आधुनिक प्रविधिका विषयमा उनलाई जति ज्ञान कमैलाई छ,’ रुसी राजनीतिकर्मी भ्याचस्लाभ फेतिसोभले बताए । उनी ‘अत्यन्तै जिम्मेवार र व्यवस्थित मानिस हुन् र आजकलको युगका लागि यो निकै महत्त्वपूर्ण छ’ भनी फेतिसोभले मिशुस्तिनको प्रशंसा गरे । 

प्रविधि, कारोबार र सरकारी कामकाजमा विशेषज्ञता हासिल गर्नुका अलावा मिशुस्तिनका अन्य सिर्जनात्मक रुचि र सोख छन् । उनी संगीत पनि रच्छन् र पियानो बजाउँछन् । उनी हकी पनि राम्रो खेल्छन् । तर अब प्रधानमन्त्री भएपछि उनले अभ्यास गर्ने समय पाउनेछैनन् ।

आरटीबाट
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्