सुदूरपश्चिम सरकारको प्रगति : ६ महिनामा १० प्रतिशत मात्रै विकास खर्च

सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनाको अवधिमा १० प्रतिशत मात्रै बजेट खर्च गर्न भ्याएको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी पुस मसान्तसम्ममा जम्मा १०.१८ प्रतिशत खर्च गरेको जनाएको छ ।


Advertisement

प्रदेश सरकारको चालू आव २०७६/२०७७ को कुल बजेट २८ अर्ब १६ करोड २० लाख ३५ हजार रहेको छ । जसमध्ये २ अर्ब ८६ करोड ८२ लाख ७५ हजार अर्थात १०.१८ प्रतिशत खर्च हो । 

बजेट खर्चको दर निकै सुस्त रहेपनि मन्त्रालयले खर्चको दर विगतको भन्दा उच्च रहेको दाबी गरेको छ ।


Advertisement

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले गत आबको पौष मसान्तसम्ममा ४.९५ प्रतिशत खर्च गरेको बताउँदै चालू आवमा २३९ प्रतिशतले खर्चमा वृद्धि भएको दाबी गरे ।

‘चालू आवको पुस मसान्तसम्मको खर्च र गत आवको पुस मसान्तसम्मको खर्चसँग तुलना गर्दा २३९ प्रतिशतले वृद्धि भएको छ ।’

मन्त्रालयले चालू आवमा कुल विनियोजनमध्ये चालूतर्फ १ अर्ब ५२ करोड २९ लाख ८२ हजार अर्थात १०.०९ प्रतिशत मात्रै खर्च गर्न भ्याएको छ । जबकी गत आव २०७५/२०७६ को सोही अवधिमा चालूतर्फ ७.९८ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ ।

कुल विनियोजनमध्ये पूँजीगततर्फ १ अर्ब ३४ करोड ५२ लाख ९३ हजार खर्च अर्थात् १०.३० प्रतिशत खर्च भएको हो । जबकि गत आवमा १.४१ प्रतिशत मात्रै खर्च भएको हो ।

मन्त्रालयले राजस्व संकलनमा पनि वृद्धि भएको दाबी गरेको छ । चालू आवमा राजस्व संकलन लक्ष्य ८८ करोड ६४ लाख ७२ हजार रहेकोमा पुस मसान्तसम्ममा ४० करोड ७ लाख ९३ हजार संकलन प्रगति भएको जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्