हिजो दिनभर : उपसभामुखबाट शिवमायाले दिइन् राजीनामा, सभामुख चयनका लागि माघ १२ गते निर्वाचन

सभामुख चयनका लागि माघ १२ गते निर्वाचन

प्रतिनिधि सभाको सभामुख चयनका लागि यही माघ १२ गते निर्वाचन हुने भएको छ ।


Advertisement

ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा सोमवार बसेको दोस्रो बैठकमा यस्तो जानकारी गराइएको हो ।

जेष्ठ सदस्य ठाकुरले प्रतिनिधि सभा नियमावलीबमोजिम सभामुख निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टरालाई निर्देशन समेत दिए ।


Advertisement

'मान्य सदस्यहरू, प्रतिनिधि सभा नियमावलीको नियम ७ बमोजिम सभामुख पदको निर्वाचनका लागि माघ १२ गते आइतवारको दिन तोकेको छु । उक्त नियमावलीबमोजिम सभामुख निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन पनि दिन्छु,' ठाकुरले भने ।

त्यसअघि ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट दिएको राजीनामा पढेर सुनाएका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक माघ १२ गते दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ ।

नेकपाको निर्देशन : पार्टी स्कूलमा नियमित पढ्नू, जन्मदिन र पासनी घरभित्रै गर्नू !

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो संगठन विभागलाई थप चुस्त र दुरुस्त बनाउन विशेष कार्ययोजना तयार पारेको छ ।

आइतवार बसेको सचिवालय बैठकले संगठन विभागले तयार पारेको विशेष कार्ययोजना पारित गरेको हो । 

कार्ययोजनामा नियमावली संशोधन गर्न केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गर्ने उल्लेख गरिएको छ भने संगठित सदस्यता नवीकरण, संगठनलाई चलायमान बनाउन गर्नुपर्ने कामहरू, संगठित सदस्यले पालना गर्नुपर्ने आचारसंहिता लगायतका विषयहरू समेटिएको छ ।

सचिवालय बैठकले पारित गरेको विशेष कार्ययोजना आइतवारै सम्बन्धित कमिटीमा पठाइसकिएको छ । 

गत असोजमा बसेको संगठन विभागको बैठकले उक्त कार्ययोजना तयार गरेको हो । पार्टी एकीकरणपछि लगभग ठप्प बनेका नेकपाको संगठन नयाँ कार्ययोजनासँगै चलायमान गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ । 

नेकपाको संगठन प्रमुख बनेदेखि नै वामदेव गौतमले संगठनलाई गतिशील बनाउन पार्टीका नेताहरूसँग निरन्तर छलफल थालेका थिए । गौतमले महासचिव विष्णु पौडेल लगायतका नेताहरूसँग छलफल गरेर संगठनात्मक कार्ययोजना तयार गरेका हुन् ।

गौतमले पार्टी संगठनमा सांस्कृतिक र व्यावहारिक सुधारका लागि प्रस्ताव तयार गरेका थिए । सो प्रस्तावलाई नेकपा सचिवालय बैठकले पारित गरेर निर्देशन दिएको हो ।

कार्ययोजनामा पार्टी नियमावलीको परिच्छेद ७,१३(ग) २४ मा संशोधन गर्ने र अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश गर्ने प्रस्ताव गरिएको छ । यसअघि नियमावलीमा ‘स्थानीय’ भन्ने वाक्यांश उल्लेख गरिएकोमा त्यसलाई ‘पार्टीका सबै तहका’ भन्ने वाक्यांश लेख्ने प्रस्ताव गरिएको हो । 

संगठन विभागले आवश्यकता अनुसार पार्टीद्वारा प्रत्यक्ष संचालित जनवर्गीय, सामुदायिक र अन्य संगठनहरूको अनुगमन निरीक्षण र मूल्यांकन गरी सम्बन्धित संगठन तथा तिनका पदाधिकारीहरूलाई सुझाव दिन सक्ने गरी कार्ययोजना तयार पारिएको छ । 

केन्द्रीय कमिटी मातहतका कमिटी सदस्यहरूले पार्टी स्कूलद्वारा सञ्चालित कक्षामा नियमित रूपमा भाग लिए वा नलिएकोबारे जाँचबुझ गरी सम्बन्धित कमिटीका पदाधिकारीलाई आवश्यक सुझाव दिन सक्ने विषय पनि कार्ययोजनामा समावेश गरिएको छ ।

कार्यकर्तालाई ‘सदस्यता नम्बर’

कार्ययोजनामा २०७६ सालको जेठ महिनाभित्र कार्यविधिअनुसार संगठित सदस्यता नवीकरण गरिसक्ने उल्लेख छ । पार्टी एकता भएको अघिल्लो दिन २०७५ जेठ २ सम्म कायम रहेका संगठित सदस्यको विवरण २०७६ माघ मसान्तभित्र सम्बन्धित कमिटीहरूले केन्द्रलाई उपलब्ध गराउनुपर्ने उल्लेख छ । 

कार्ययोजनामा पहिलाका संगठित सदस्यहरूले प्रमाणसहित सदस्यता नवीकरण कार्यदलमा उपस्थित भएर २०७६ चैतसम्मको सदस्यता शुल्क तिरेको प्रमाण उपलब्ध गराउनुपर्ने छ । 

कार्यदलले केन्द्रीय संगठन विभागद्वारा उपलब्ध गराइएको विवरणमा नामावली समावेश भएको संगठित सदस्यको निवेदन मात्र ग्रहण दर्ता गर्नेछ भने निवेदकमध्ये योग्य ठहरिएका व्यक्तिको संगठित सदस्यता नवीकरण गर्न प्रस्ताव तयार गरेर माथिल्लो कमिटीमा प्रस्तुत गर्नुपर्नेछ । कमिटीले प्रस्तावको आधारमा संगठित सदस्यता नवीकरण सम्बन्धमा आवश्यक निर्णय गर्ने कार्ययोजनामा उल्लेख छ । 

पार्टीको संगठित सदस्यहरूको अभिलेख डिजिटल प्रणालीमा राख्ने बताइएको छ । सदस्यलाई संगठित सदस्यता नम्बरसमेत प्रदान गरिने कार्ययोजनामा उल्लेख गरिएको छ ।

कार्ययोजनामा पार्टीका संगठित सदस्यहरूलाई २०७७ सालको असार मसान्तभित्र पार्टी कमिटी, निकाय र विभागमा संगठित गर्ने बताएको छ । यसका साथै प्रत्येक संगठित सदस्यहरूको विवरण तथा मूल्यांकन फाइल खडा गर्ने र फाइलमा कार्यसम्पादनको प्रभावकारिता, अनुशासनको पालना जस्ता विषयहरू समेट्ने बताइएको छ । 

गुटबन्दीको स्रोत माथि, क्यान्सरजत्तिकै खतरनाक !

संगठन विभागको कार्ययोजनामा पार्टीमा नेताहरूले नै गुटबन्दी गर्ने गरेको आरोप लगाइएको छ । ‘गुटबन्दीको स्रोत माथि हुने हुनाले त्यसलाई अन्त्य गर्न पनि माथिबाटै प्रभावकारी कदम चाल्नुपर्छ,’ कार्ययोजनामा उल्लेख छ । 
‘पार्टीको आधिकारिक नीति र नेतृत्वका विरुद्ध गोप्य समूह निर्माण गरी पार्टीलाई नकारात्मक रूपमा प्रभावित गर्ने क्रियाकलाप गुटबन्दी हो,’ गुटबन्दीको परिभाषा गर्दै कार्ययोजना भन्छ, ‘गुटबन्दीले सही विचार, कार्यक्रम र योजनालैई कार्यान्वयन गर्नमा अवरोध सिर्जना गर्छ र व्यक्तिगत स्वार्थ पूरा गर्ने दुस्कार्यलाई प्रोत्साहन गर्छ ।’ 

गुटबन्दीले पार्टीमा अराजकता र अनुशासनहीनता सिर्जना गर्ने र असफल बनाउने भन्दै कार्ययोजनाले गुटबन्दीलाई क्यान्सरजत्तिकै खतरनाक रोग मानेको छ । 

‘कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यले पार्टीको नीति, निर्णय वा नेतृत्वका विरुद्ध अनुकूलताका पात्रहरूको खोजी गर्ने, उनीहरूलाई पार्टीको वैधानिक व्यवस्थाविपरित भेला, बैठक वा समानान्तर गतिविधिमा उतार्ने, कमिटी प्रणालीलाई चुनौती दिँदै मन मिल्नेहरूको बैठक बस्ने र पोजिसन बनाउने, स्वार्थ समूह वा स्वार्थी तत्वहरूको झुण्ड निर्माण गरेर पार्टीमा दबाब सिर्जना गर्ने, पार्टी निर्णयविरुद्ध सार्वजनिक रूपमा चुनौती दिने वा अवज्ञा गर्नेजस्ता स्वेच्छाचारी, अनुशासनहीन, स्वार्था र पार्टी्हित विपरितका क्रियाकलापलाई कडाइका साथ रोक्नुपर्छ,’ कार्ययोजनामा उल्लेख छ ।

परिवारका सदस्यमै एकले अर्कालाई ‘तँ’ भन्न नपाउने 

संगठन विभागको कार्ययोजनामा परिवारका सदस्यमध्ये एकले अर्कालाई तँ भन्न नपाउने उल्लेख छ । ‘परिवारका सबै सँगै बसेर खाना खानुपर्छ, बालबालिका, अशक्त र जेष्ठ नागरिकलाई काम लगाउनु हुँदैन । परिवारमा गालीगलौज, झगडा, भेदभाव र छुवाछुत पूर्णरूपले अन्त्य गर्नुपर्छ । मितव्ययी हुनुपर्छ । परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरूपले बन्द गर्नुपर्छ,’ कार्ययोजनामा उल्लेख गरिएको छ ।

कार्ययोजनामा पार्टीका संगठित सदस्यहरूले आफ्ना छोराछोरीको विवाहलाई सरल र मितव्ययी बनाउनुपर्ने उल्लेख छ भने जन्मदिन, व्रतबन्ध, पासनी जस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्नेछ ।

‘प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्ने, उनीहरू जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्ने, आफ्नो कमाइबाट राज्यलाई कर र पार्टीलाई लेबी बुझाउनुपर्ने, बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबैले सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपर्ने संगठन विभागको कार्ययोजनामा उल्लेख छ ।

 

संसदमा भावुक सम्बोधन गर्दै उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकको शुरूमै सम्बोधन गर्दै उनले सभामुख निर्वाचनका लागि मार्गप्रशस्त गरेको बताएकी हुन् । 

सम्बोधनका क्रममा उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वाभाविक महत्त्वाकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् । ‘मेरो अडानको समयले बस्तुनिष्ठ मूल्यांकन गर्नेछ,’ उनले भनिन् ।

एउटा महिला, एकल अवस्थामा रहेको, जनजाति पृष्ठभूमिको व्यक्तिलाई उपसभामुख बन्न दिएकोमा धन्यवाद व्यक्त गरिन् । दोस्रो पटक बैठक शुभारम्भ गरेकी तुम्बाहाङ्फेले झण्डै ५ मिनेट भावुक सम्बोधन गरेर प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिन् ।

प्रदेश नम्बर ५ का विपक्षी दलका नेता बलदेवको निधन
प्रदेश नम्बर पाँचका विपक्षी दलका नेता बलदेश शर्मा पोखरेलको सोमवार दिउँसो निधन भएको छ ।

लामो समयदेखि क्यान्सरबाट ग्रसित पोखरेलको सोमबार रुपन्देहीको तिलोत्तमा १४ स्थित आफ्नै घरमा निधन भएको उनका छोरा मुक्ति पोखरेलले जानकारी दिए ।

उनी एक वर्षदेखि क्यान्सरबाट ग्रसित थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय ‘बुटिक’ विमानस्थल : सरसफाई र साजसज्जाले यात्रु मख्ख ! 

गत बिहीवार थाइल्याण्डबाट आएका रमेशप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा उभिएर यसो वरपर हेरे । ठूलो बुद्ध मूर्ति र बाहिरै राखिएको गैंडामा उहाँको आँखा पुग्यो ।
‘बल्ल आफ्नै देश नेपाल आएजस्तो लाग्यो,’ उनले भने । ‘किन ?’ सँगसँगै हिँड्दै गरेका अर्का साथीले सोधे । उनको जवाफ थियो, ‘हाम्रो देश नेपाल र हाम्रो संस्कार र सम्पदा झल्किने मूर्ति र वस्तुहरू देखियो, आफ्नै देश आएको महसूस भयो ।’
‘आगमन कक्षको अगाडि राखिएको गैंडाको मूर्ति चितवनको सौराहा पार्कमा नै देखेजस्तो लाग्यो । अनि अलि परको गौतम बुद्धको मूर्तिले लुम्बिनी पुगेजस्तै भयो,’ नेपाली यात्रु यसै भन्दै थिए, विदेशीहरू फोटो खिच्न खोज्दै थिए । भित्र आउँदै गर्दा कतै गरुडको मूर्ति छ भने भित्तामा नेपालको बहुजाति, बहुसंस्कृति र बहुधार्मिक परम्परा झल्किने विभिन्न प्रकारका मूर्ति र कलाकारिता देखिन्छन् ।  

अर्का एक जना यात्रु भन्दै थिए, ‘मलाई त इन्डोनेसियाको बाली विमानस्थलको याद आयो । त्यहाँ पनि हिन्दू धर्मका साथै त्यहाँको बहुसांस्कृतिक अवस्थिति झल्किने विभिन्न मूर्ति तथा कलाकारिता राखिएका छन् ।’
इन्डोनेसियाको बाली प्रान्तमा कम्तीमा ८० प्रतिशत हिन्दू धर्मावलम्बी नागरिकको बस्ती छ । त्यहाँको विमानस्थलमा पनि स्थानीय परम्परा र सम्पदाहरू झल्किने दृश्यहरु सजाइएको छ । 

नेपालका केही प्रमुख पर्यटकीयस्थलको पहिचान दिनेगरी अरु केही तस्बिर विमानस्थलमा राखिएका छन् । यहाँका तस्बिरले विश्वको सर्वाेच्च शिखर सगरमाथासहित नेपालको हिमालय क्षेत्रको सम्पन्नताको परिचय दिन्छ । त्यस्तै यहाँका दृश्य र तस्बिरहरुले पोखरा, मुस्ताङ र यस्तै अन्य विश्वकै प्रमुख पर्यटन गन्तव्यको पनि यहाँबाट सामान्य परिचय दिने यत्न गरेका छन् ।  
केही समयअघि नेपाल सरकारले घोषणा गरेको थियो ‘बुटिक एयरपोर्ट’ अवधारणा । यही अवधारणाबमोजिम नै विमानस्थल प्रशासनले पनि यस्तो बुटिक विशेषताको प्रयास गरिरहेको छ । कुनै पनि विदेशी नागरिक नेपाल छिरेपछि यहाँको विविधताको बारेमा प्रवेशद्वारबाटै थाहा पाओस् भन्ने प्रयत्न हो यो भन्नुहुन्छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्ण ।

नेपालले यसवर्ष नेपाल भ्रमण वर्ष मनाइरहेकोले नेपाल आउने पर्यटकलाई नेपालबारेको जानकारी जति सकिन्छ प्रवेशद्वारबाटै प्रदान गरौं भन्ने प्रयास गरिएको उनले बताए । विमानस्थललाई बुटिक बनाउने मात्र नभई यहाँको सरसफाइ, सुरक्षा, सहयोग, यात्रुहरुलाई आवश्यक पर्ने पूर्वाधारहरुको निर्माण र विकास तथा सूचनाजस्ता कार्यका लागि विमानस्थल प्रशासनले सक्दो प्रयास गरेको उनले जानकारी दिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्