जे भइरहेछ अस्ट्रेलियाली जंगलमा

अस्ट्रेलियामा सेप्टेम्बर पहिलो सातादेखि फैलिएको डढेलो अझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

डढेलोका कारण हालसम्म २९ जनाले ज्यान गुमाइसकेका छन् । २ हजार ६ सय घरसहित करिब ६ हजार भौतिक संरचनामा क्षति पुगेको छ । आगलागीमा परेर करिब एक अर्ब वन्यजन्तु मरेका प्रारम्भिक अनुमान छ । १ करोड २५ लाख हेक्टर जमिनमा क्षति पुगेको छ, जुन नेपालको कुल क्षेत्रफलभन्दा करिब २२ लाख हेक्टरले कम हो । आगलागीका कारण अस्ट्रेलियाले अहिलेसम्मकै ठूलो क्षति व्यहोरेको छ । 


Advertisement

हरेक वर्ष किन डढेलो ?
अस्ट्रेलियाको कुल क्षेत्रफलमध्ये १७ प्रतिशत भूभाग घना जंगल र झाडी छ । यहाँ हरेक वर्ष गर्मी मौसममा डढेलो लाग्नु नियमितजस्तै हो । मानिसले नियतवश लगाउने आगो, मानवीय कमजोरी, दुर्घटना वा प्राकृतिक रूपमा पर्ने चट्याङलाई अस्ट्रेलियामा डढेलो सल्किने प्रमुख कारणका रूपमा लिइन्छ । अहिलेसम्मका अधिकांश डढेलो यिनै कारणले लागेको मानिन्छ । समाचार संस्था एबीसीका अनुसार यसबाहेक आगलागी मुख्यतः धूमपान, क्याम्पफायर, बालबालिकाको चकचक, फोहोर जलाउने कार्य लगायतले पनि आगलागी हुने गरेको छ ।

जिओसाइन्स अस्ट्रेलियाका अनुसार यहाँका वनस्पति तथा झारपात अन्य क्षेत्रका वनस्पतिभन्दा ज्वलनशील भएकाले समेत आगो सल्किने र तीव्रगतिमा फैलिने गरेको छ । घना जंगल, झरेका पात, सुकेका रुख र तीव्र गतिमा चल्ने हावाका कारण डढेलो अनियन्त्रित हुने गरेको छ । यसबाहेक लगातारको खडेरी, सुक्खा र बढ्दो तापक्रमले समेत डढेलो चर्काउने गरेको छ ।


Advertisement

अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलोजीका अनुसार ३५ प्रतिशत आगलागीका घटना दुर्घटनावश हुने गरेका छन् भने ३७ प्रतिशत आगलागी शंकास्पद रूपमा हुने गरेको छ । प्राकृतिक रूपले ६ प्रतिशत आगलागी हुन्छ भने जानीजानी १३ प्रतिशत आगो लगाइने गरिएको छ । हरेक वर्ष अस्ट्रेलियामा डढेलोले क्षति पुर्‍याउने गरेको छ । यस्तै आगलागीमा परेर सन् १९१८ मा ५ व्यक्तिले ज्यान गुमाएका थिए भने सन् १९२६ मा ६० जनाको मृत्यु भएको थियो । अस्ट्रेलियाको १३ करोड ४० लाख हेक्टर क्षेत्रफल झाडी तथा जंगलले ढाकेको छ । यस वर्ष लागेको डढेलोले १२ प्रतिशत जंगल नष्ट बनाएको छ ।

यसपल्टको डढेलो कसरी ?
यस वर्ष अस्ट्रेलियाले सधैंको भन्दा खराब डढेलोको सामना गर्नुपर्ने मुख्य कारण औसत तापक्रममा वृद्धि हुनु रहेको वैज्ञानिकहरूले औंल्याएका छन् । यस वर्ष अस्ट्रेलियाले अहिलेसम्मकै औसतभन्दा १.५२ सेल्सियस बढी तापक्रमको झेल्नुपर्‍यो । त्यति मात्र नभएर यस वर्ष अस्ट्रेलियाले सुक्खाको पनि अन्य वर्षहरूभन्दा धेरै सामना गर्नुपर्‍यो । यस वर्ष यहाँ औसतभन्दा ४० प्रतिशत कम वर्षा भएको थियो । यस वर्षको सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनालाई सन् १९५० पछिको सबैभन्दा धेरै डढेलोको खतरा भएको महिना घोषणा गरिएको थियो ।

अस्ट्रेलिया विश्वका त्यस्ता केही देशमध्ये पर्दछ, जसले आफ्नै जग्गामा भएको रूख काट्नसमेत कानुनी रूपमा बन्देज गरेको छ । नागरिकले आफ्नो जग्गामा रहेको रुख काट्न परेमा स्थानीय काउन्सिलसँग अनुमति लिएर रुख काट्नका लागि अनुमति पाएका व्यक्तिहरूबाट मात्र कटाउन पाउँछन् । ६ राज्य र दुई टेरिटोरी रहेको अस्ट्रेलियामा रुख काट्नका लागि हरेक राज्य तथा टेरिटोरीको आफ्नै नियम रहेको छ । सामान्यतः आफ्नो जग्गामा भएको रुखमा रोग लागेमा, त्यसले छिमेकी तथा आफूलाई असुरक्षा भएमा, रुख सुक्दै वा मर्दै गएमा वा रुख गलत स्थानमा रोपिएको भएमा मात्र काट्न पाउने प्रावधान रहेको छ । अनुमतिबिना रुख काटेको भेटिएमा र अदालतमा मुद्दा परेको खण्डमा १ लाख १० हजार डलरसम्म जरिवाना हुने प्रावधान छ ।

के कति क्षति?
यस वर्ष डढेलो सिजन सुरु हुनभन्दा अघिदेखि नै लागेको आगलागीले वितण्डा मात्र मच्चाएन कि २९ जनाले ज्यान गुमाए जसमा चार जना अग्निनियन्त्रकसमेत थिए । हजारौं घर जलेर नष्ट भए भने कति वन्यजन्तु मरे, त्यसको त अहिलेसम्म अनुमान मात्र गर्न सकिएको छ । पहिलोपल्ट न्यु साउथ वेल्स सरकारले आगलागी नियन्त्रणका लागि आफ्नो अग्निनियन्त्रक संस्था ‘रूरल फायर सर्भिस’ लाई थप अधिकार दिनेगरी तीन पटकसम्म ‘आपत्‌कालीन अवस्था’ को घोषणा गर्नुपर्‍यो ।

विश्व सम्पदा सूचीमा रहेको ब्लु माउन्टेन क्षेत्रमा लगातार फैलिएको आगलागीले उक्त क्षेत्रको आधा बढी क्षेत्रमा असर पुर्‍यायो । त्यसबाहेक पर्यटकीय क्षेत्रका रूपमा चर्चित ब्याटमेन्स बेमा समेत आगलागीले उत्तिकै क्षति पुर्‍यायो । आगलागीबाट निस्केको प्रदूषित धुवाँले अस्ट्रेलियाको सबै राज्यहरूको जनजीवनलाई प्रभावित बनाएको थियो ।

कुन–कुन राज्य चपेटामा ?
डढेलोका कारण लागेको आगोका चपेटामा सबैभन्दा बढी न्यु साउथ वेल्स र भिक्टोरिया पीडित बने भने अन्य ४ राज्यहरू क्युन्सल्यान्ड, दक्षिण अस्ट्रेलिया, तास्मानिया र पश्चिम अस्ट्रेलियासमेत अछुतो रहेनन् । दक्षिण अस्ट्रेलियाको कंगारु आइल्यान्डमा लागेको आगोले दुई जनाको ज्यान मात्र लिएन, कि सो क्षेत्रमा अस्ट्रेलियामा मात्र पाइने ‘कोआला’ जनावर हजारौंको संख्यामा मारिएका अनुमान गरिएको छ । त्यसैगरी, भिक्टोरिया राज्यको गिप्सल्यान्ड क्षेत्रमा फैलिएको ढडेलोका कारण घर जलेपछि हजारौं सर्वसाधारण भागेर समुद्री किनारमा पुगेका थिए भने पर्यटकहरू अलपत्र परेका थिए ।

यस वर्षको डढेलो गर्मी सिजन सुरु हुनुभन्दा केहीअघि जुलाईदेखि नै सुरु भएको भए पनि सेप्टेम्बरदेखि न्यु साउथ वेल्समा उग्र रूप लिएको थियो । आगलागीले सहरी क्षेत्रभन्दा पनि जंगल बाक्लो भएका स्थानमा दुःख दिने गरेको छ । मुख्य गरेर सिड्नीका उत्तरी, दक्षिणी भेगहरू आगलागीका कारण पीडित छन् । अहिले पनि न्यु साउथ वेल्स र भिक्टोरियामा दर्जनौं स्थानमा डढेलो लागिरहेको छ ।

नियन्त्रणका उपाय के अपनाइयो ?
अस्ट्रेलियाको केन्द्रीय सरकारले आगलागी नियन्त्रण तथा समस्यामा परेका आफ्ना नागरिकलाई सहयोग पुर्‍याउन पहिलोपटक ३ हजारभन्दा बढी सेना परिचालन गर्ने निर्णय गरेको थियो । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले यो समय अत्यन्तै संकटपूर्ण भएको भन्दै सरकारले आफ्नो तर्फबाट गर्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

डढेलो रोक्न अस्ट्रेलिया सरकारले देशभरि करिब ६ हजार अग्निनियन्त्रकलाई खटाएको छ भने आगलागी नियन्त्रणकै लागि न्युजिल्यान्ड, क्यानडा, अमेरिकालगायतका देशबाट सहयोगसमेत लिएको छ । अस्ट्रेलियाका दुई हजारभन्दा बढी स्वयंसेवी अग्निनियन्त्रकहरूले पनि यसमा सहयोग पुर्‍याइरहेका छन् । सरकारी तथा निजी क्षेत्रमा काम गरिरहेका वा आफ्नै व्यवसाय गरिरहेका नागरिकले आफ्नो केही समय स्वयंसेवक भएर अग्निनियन्त्रकका रूपमा काम गर्ने गरेका छन् । मृत्यु भएका ४ जना अग्निनियन्त्रकसमेत उनै स्वयंसेवी अग्निनियन्त्रकहरू थिए ।

प्रभावितलाई के गरियो?
अस्ट्रेलियाली प्रधानमन्त्री मरिसनले स्वयंसेवी अग्निनियन्त्रकरुलाई न्यु साउथ वेल्समा प्रोत्साहनस्वरूप ६ हजार डलरसम्मको भुक्तानी वा ३ सय डलर प्रतिदिन दिने घोषणा गरेका छन् । डढेलोबाट पीडित सर्वसाधारणलाई आर्थिक सहयोग पुर्‍याउन करोडौं डलरको सहायता घोषणा गरिएको छ । दुर्गम क्षेत्रको पर्यटन व्यवसायलाई पुनः स्थापित गर्न ७ करोड डलरको प्याकेज घोषणा भएको छ । त्यसबाहेक २ बिलियन डलरको ‘बुसफायर रिकभरी प्याकेज’ घोषणा गर्नुका साथै पुनर्निर्माणका लागि राष्ट्रिय समिति निर्माण गरेर सरकारले काम थालेको छ । आगलागीले सर्वसाधारणलाई मानसिक रूपमा समेत समस्या आएको भन्दै सरकाले ७ करोड ६ लाख डलरको स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ । यसअन्तर्गत आगलागीका कारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मानसिक समस्या भोगेका सर्वसाधारणलाई काउन्सिलिङ लगायतका सेवा दिइनेछ ।

यसका साथै सरकारले स्थानीय तहमा प्रभावित भएका व्यवसायहरूलाई सहयोग पुर्‍याउन कर सुविधा, कम ब्याजमा क्रण दिनेलगायतका विभिन्न आर्थिक सुविधाहरूसमेत घोषणा गरेको छ । यस वर्ष डढेलोका कारण करिब ४ लाख ३० हजार व्यवसाय प्रभावित भएको यहाँस्थित काउन्सिल अफ स्मल बिजनेस अर्गनाइजेसनका प्रमुख अधिकृत पिटर स्ट्रोङले बताएका छन् । अस्ट्रेलियाको केन्द्रीय सरकारमा आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका डा. कृष्ण हमाल डढेलोबाट भएको क्षतिबाट पूर्णरूपमा सुधार हुन १० वर्षसम्म लाग्न सक्ने बताउँछन् । उनका अनुसार यस वर्षको डढेलोले सबैभन्दा बढी पर्यटकीय क्षेत्रमा असर परेका कारण सरकारले प्रक्षेपण गरेको बजेट सरप्लसको लक्ष्य भेट्टाउन ठूलो समस्या हुनेछ ।

कहिले होला नियन्त्रण ?
अस्ट्रेलिया सरकारको मौसम विज्ञान विभागले यस वर्षको आगलागीलाई अधिकांश क्षेत्रमा ‘विनाशकारी’ घोषणा गरेको थियो । यो तहको आगलागीे नियन्त्रणबाहिरको हुने गर्दछ । सकेसम्म छिट्टै आफ्नो बासस्थान छोड्नु नै यसबाट बच्ने एक मात्र उपाय हो । ‘विनाशकारी’ आगलागीबाट कुनै पनि घर तथा भौतिक संरचना सुरक्षित रहँदैन । दक्षिण अस्ट्रेलियास्थित अग्निनियन्त्रक केन्द्रका अनुसार आगलागीलाई यो तहमा वर्गीकरण गरेपछि उक्त आगलागी भएको क्षेत्रमा नबस्नुका साथै घर छोड्ने क्रममा जंगली, घाँस र घनाझाडी भएको स्थानमा नजान सल्लाह दिइन्छ ।

सिड्नी, क्यानबेरा र मेलबर्नको वायुप्रदूषण अत्यन्तै धेरै भएपछि सर्वसाधारणलाई घरभित्रै बस्न सल्लाह दिइएको थियो । राजधानी क्यानबेराको वायुप्रदूषण २० गुणा बढी भएपछि त्यहाँ रहेका कतिपय सरकारी कार्यालय, विद्यालय तथा युनिभर्सिटीहरूमा बिदा दिइएको थियो । गृह मन्त्रालयले वायुप्रदूषण अत्यन्तै भएको भन्दै क्यानबेरास्थित आफ्नो कार्यालय ४८ घण्टा बन्द गरेको थियो । अस्ट्रेलियन नेसनल युनिभर्सिटी, क्यानबेरा युनिभर्सिटीलगायत विभिन्न शैक्षिक संस्थाहरूसमेत बन्द गरिएको थियो ।

वायु कति प्रदूषित?
अस्ट्रेलियाले अहिलेसम्म वायु प्रदूषणको यो तह सामना गर्नु नपरेको सञ्चारमाध्यमले जनाएका छन् । तुलनात्मक रूपले धेरै सहज भए पनि क्यानबेरामा अहिले पनि केही स्थानको वायु प्रदूषित नै रहेको छ । प्रदूषित हावाकै कारण अस्ट्रेलियामा केही सातादेखि सुरु भएको विश्व टेनिस प्रतियोगिताको केही खेल प्रभावित बनेको थियो । मेलबर्नमा केही समय पहिले भएको एटीपी कपमा स्लोभानियाका खेलाडी डालिला जोकुपोभिचले बीचमै खेल छोड्न परेको थियो भने पूर्व विश्व नम्बर एक रसियन खेलाडी मारिया सारापोभाले समेत खेल बीचमै छोडेकी थिइन् ।

अमेरिकी वैज्ञानिक संस्था नासाले अस्ट्रेलियामा लागेको डढेलोबाट निस्किएको धुवाँले विश्व परिक्रमा गरेर केही समयपछि पुनः अस्ट्रेलिया आइपुग्ने बताएको छ । युनिभर्सिटी अफ न्यु साउथ वेल्सकी अस्ट्रोफिजिसिस्ट लिसा हार्भे स्मिथले यो धुवाँ विश्वको तीन चौथाइ भागसम्म र समुद्री सतहभन्दा १७ किलोमिटर माथिसम्म पुगेको जानकारी दिँदै दुनियाँ घुमेर अस्ट्रेलियाको वायुमण्डलमा आइपुग्न धेरै समय नलाग्ने एबीसीलाई बताएकी छन् । धुवाँले छिमेकी राज्य न्युजिल्यान्ड र दक्षिण अमेरिकाको वायुमण्डलाई प्रत्यक्ष रूपमै प्रदूषित बनाइसकेको छ ।

अस्ट्रेलियन मेडिकल एसोसिएसनका अध्यक्ष टोनी बारटोनले यस वर्षको डढेलोबाट सिर्जित धुवाँले अहिलेसम्म सामना गर्नु नपरेका रोगहरूको सामना गर्नुपर्ने सम्भावना औंल्याएका छन् । उनले दूषित धुवाँ र लामो समयसम्म प्रदूषित वायुमा सास फेर्नुपर्ने कारण स्वस्थ व्यक्तिहरूलाई समेत खतरनाक रोगहरू लाग्न सक्ने बताएका छन् ।

नेपाली समुदायमा के प्रभाव?
न्यु साउथ वेल्सका दुई स्थान र भिक्टोरियाको गिप्सल्यान्डका केही नेपाली परिवार डढेलोका कारण प्रभावित बने । न्यु साउथ वेल्सको दक्षिण नाओरामा बसोबास गर्दै आएका ६ परिवारले डढेलोकै कारण आफ्नो बासस्थान छोड्‍नुपर्‍यो । खतराले लखेटेपछि उनीहरू आफू बसोबास गर्दै आएको घर तथा सम्पत्ति सबै छोडेर अर्कै ठाउँमा आफन्तको घरमा शरण लिन पुगे ।

दक्षिण नाओरामा रहेर व्यवसाय गर्दै आएका सुरज खड्काले त्यतिबेलाको अवस्था कहालीलाग्दो भएको सुनाए । ‘आगोको मुस्लो हामी बसेको ठाउँको तीन किलोमिटरभन्दा नजिक आइसकेको थियो भने बाक्लो धुवाँका कारण आफूअघिको बाटो समेत नदेखिने अवस्था थियो,’ उनले कान्तिपुरसँग भने, ‘अनि हामी आफ्नो ज्यान जोगाउन भागेका थियौं । कहिले के हुन्छ भन्ने नै सोच्न सकिँदैनथ्यो ।’ उनी त्यति बेलाको अवस्था सम्झँदा अहिले पनि डर लाग्ने बताउँछन् । अहिले सबै परिवार आफ्नो घर फर्किसकेका उनीहरूले भौतिक रूपमा भने केही पनि गुमाउनुपरेन । ‘अग्निनियन्त्रकहरूले डढेलो हाम्रो क्षेत्रमा आइपुग्नुअघि नै निभाउन सफल भएकाले केही क्षति हुन पाएन,’ खड्काले भने ।

क्यानबेरानजिक रहेको न्यु साउथ वेल्सकै बन्डानुनमा बस्दै आएका दुई नेपाली परिवारले पनि आगलागीका कारण आफू बसेको ठाउँ छोडेर केही दिनसम्म साथीहरूको घरमा शरण लिन पर्‍यो । त्यहाँ बस्दै आएका सन्तोष दराई आफ्नो एक महिनाको बच्चासहित साथीकोमा बस्न पुगेका थिए । त्यतिबेलाको कहालीलाग्दो समय सम्झिँदै उनी भन्छन्, ‘सरकारले आगलागीलाई विनाशकारी घोषणा गरेको थियो भने आफ्नै अगाडि बाक्लो धुवाँले ढाकिसकेको थियो । उक्त क्षेत्रका सम्पूर्ण बासिन्दा आफ्नो ज्यान बचाउनका लागि हतारिँदै सुरक्षित स्थानतर्फ हिँडिरहेका थिए, जसमा हामीसमेत थियौं ।’

डढेलोका कारण समस्यामा परेका नेपाली आफूहरू समस्यामा पर्दा हरेक राज्यमा रहेका नेपाली वाणिज्यदूत, नेपाली दूतावास, एनआरएनएलगायतका संस्थाले सोधीखोजीसम्म नगरेकोमा दुःखी छन् । भन्छन्, ‘जे भए पनि हामी बाँच्न सफल भयौं, त्यही नै ठूलो कुरा हो ।’ क्यानबेरामा रहेको नेपाली दूतावासका राजदूतलगायत अधिकारीहरूले भने कुनै पनि नेपाली आगलागीका कारण प्रभावित नभएको बताएका छन्। कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्