कोरोना भाइरसको जोखिम नेपालमा पनि, त्रिभुवन विमानस्थलमा विशेष स्वास्थ्य निगरानी

शंकास्पद ‘नोबेल कोरोना भाइरस’ का बिरामीको रगत र र्‍यालको नमुना विशेष परीक्षणका लागि विदेश पठाइने भएको छ ।

चीनमा निमोनिया उत्पन्न गर्ने नयाँ भाइरस देखिएपछि त्यहाँबाट आएका बिरामी नेपाली विद्यार्थीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो ।


Advertisement

अन्य बिरामीभन्दा अलग राखेर उनको डेंगु, स्क्रब टाइफस, इन्फ्लुएन्जालगायत सबै जाँच गरिएको थियो। उनी चीनको ‘वुहान’ बाट छुट्टीमा नेपाल फर्किएका थिए। नेपालमा परीक्षण गर्ने उपकरण नभएकाले उनको नमुना विदेश पठाउन लागिएको हो।

ज्वरो, खोकीलगायतका लक्षण देखिएका ती बिरामीको नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को समन्वयमा एक–दुई दिनभित्रै भारतको पूणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलजी वा हङकङ पठाइने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. विवेककुमार लालले जानकारी दिए। उक्त परीक्षणको प्रतिवेदन आएपछि मात्र ती विद्यार्थी नोबेल कोरोना भाइरसबाट संक्रमित रहे वा नरहेको स्पष्ट हुनेछ।


Advertisement

डब्लूएचओका अनुसार विश्वमै पहिलोपटक चीनको वुहानकै समुद्री खाद्य बजारमा यो भाइरस देखिएको हो। हालसम्म उक्त भाइरसबाट संक्रमित अधिकांश बिरामी समुद्री खाद्य बजारमा काम गर्ने छन्। कोरोना भाइरस ऊट, बिरालो, चमेरोसहित थुप्रै पशुमा प्रवेश गरिरहेको छ। चीनका सरकारी अधिकारीका अनुसार यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको स्पष्ट प्रमाण छैन।

हाल अस्थायी रूपमा वुहान ‘सी–फुड होलसेल मार्केट’ बन्द गरिएको छ। ‘उक्त बजारमा समुद्री जीवजन्तुलगायत चमेरो, बिरालोजस्ता जनावरको मासुसमेत बिक्री गरिन्छ,’ ईडीसीडीका जुनोटिक र अन्य सरुवा रोग शाखा प्रमुख डा. हेमन्तचन्द्र ओझाले भने। उनका अनुसार पशुमा हुने कोरोना भाइरस मान्छेमा सर्छ।

यो भाइरसको जोखिममा नेपालसमेत छ। तथ्यांकअनुसार भारतपछि सबभन्दा बढी पर्यटक चीनबाट आउँछन्। सन् २०१८ मा १ लाख ५३ हजार र सन् २०१९ मा १ लाख ६९ हजार चिनियाँ नेपाल आएका थिए। ‘अहिले चीनको नयाँ वर्ष छ, जनवरी तेस्रो सातादेखि मार्चसम्म उनीहरूको घुमफिर समय हो, त्यही समय बढी मात्रामा नेपाल आउँछन्,’ ईडीसीडीका निर्देशक डा. लालले भने।

नोबेल कोरोना भाइरसबाट संक्रमित पर्यटकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष स्वास्थ्य निगरानीसमेत शुरू गरिएको छ। यो भाइरसबाट बच्न हाल कुनै खोप छैन। डा. लालका अनुसार विमानस्थलको हेल्थ डेस्कमा शंकास्पद बिरामीको पहिचान गर्न विशेषज्ञ चिकित्सकको टोली राखिएको छ।

ज्वरो, घाँटीको दुखाइ, सास फेर्न असजिलो भएका र खसखस भएका पर्यटकलाई हेल्थ डेस्कमा सम्पर्क राख्नसमेत भनिएको छ। विशेषज्ञहरूका अनुसार विमानस्थलमा शरीरको तापक्रम स्वचालित रूपमा जानकारी दिने ‘थर्मल स्क्यानर’ छैन। थर्मल स्क्यानर नभएसम्म ज्वरोका शंकास्पद बिरामी छुट्याउन गाह्रो हुन्छ। ‘रुघाखोकी वा ज्वरोलगायत समस्या देखिएको भन्दै स्वेच्छाले हेल्थ डेस्कमा आउनेमध्ये शंकास्पदलाई मात्र अन्य बिरामीभन्दा छुट्टै राखेर उपचार शुरू गर्न सकिन्छ,’ एक स्वास्थ्य अधिकारीले भने।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले समेत सचेतना जारी गर्दै छिमेकी मुलुकबाट आउने यात्रीका लागि दिल्ली, मुम्बई, कोलकातालगायतका विमानस्थलमा थर्मल स्क्यानरले जाँच गर्न शुरू गरेको छ। ‘हाल विमानस्थलमा शंकास्पद बिरामी देखिए तुरुन्त क्वारेन्टाइन (अन्य व्यक्तिभन्दा अलग) गरेर उपचार प्रक्रियामा लग्ने व्यवस्था मिलाइएको छ,’ डा. ओझाले भने। उनका अनुसार
नोबेल कोरोना भाइरस मात्र नभई इन्फ्लुएन्जाको मौसमसमेत शुरू भएकाले थप सतर्कता आवश्यक छ।

यो भाइरस साधारण रुघाखोकीदेखि गम्भीर सेभियर अक्युट रेस्पिरेटर सिन्ड्रोम (सार्स) को कारण बन्न सक्छ। कोरोनालगायत भाइरसबाट जोगिन नियमित रूपमा साबुनपानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्नुपर्छ। रोग सर्ने जोखिम भएका ठाउँमा बस्दा मास्क लगाउनुपर्छ। संक्रमित व्यक्तिसँग धेरै नजिक नजाने, उनीहरूको भाँडाकुँडा प्रयोग नगर्ने र एकअर्कालाई छुनु हुँदैन। कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्