प्रहरी र स्थानीयले ३ गाउँपालिकामा भत्काए १०८ छाउगोठ

प्रहरी तथा स्थानीयको सहयोगमा डोटीका ३ गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ ।

बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमवारसम्म भत्काइएको हो । 


Advertisement

सबैभन्दा बढी बडीकेदार गाउँपालिका–३ को सिदुरेपानी, वडा नम्बर १ र २ को बीपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गाउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौंमा १४ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए । ९ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा गोठ भत्काउने क्रम जारी  छ ।
प्रहरीले गोठ भए नभएको अवस्थाबारे अनुगमन समेत गरिरहेको छ । अनुगमनका क्रममा ती ३ गाउँपालिकामा मात्रै ११३ छाउपडी गोठ रहेको जनाइएको छ । ‘३ गाउँपालिकामा छाउगोठ भेटिएका छन्, छाउगोठ भत्काउने अभियान जारी छ,’ उनले भने । गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन  गरिएको छ ।

अभियानमा स्थानीय, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाको सहभागिता रहँदै आएको छ । जिल्लालाई आगामी फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्