राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

प्रदेश नम्बर १ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते बिहीवार हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । 

निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए ।


Advertisement

निर्वाचनका लागि वीरेन्द्र सभागृहमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाउन लागिएको उनले बताए ।

एक दलित, एक महिला र एक अन्य गरी ३ जना राष्ट्रियसभा सदस्यका लागि बिहीवार बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने उनले जानकारी दिए ।


Advertisement

वीरेन्द्र सभागृहमा रहेको मतदानस्थलमा रहेको २ केन्द्रमध्ये (क) मा प्रदेशसभा सदस्य र (ख) मा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । निर्वाचनमा प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य ९३ तथा स्थानीय तहअन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष २७४ गरी कूल ३६७ जनाले मतदानमा सहभागी हुनेछन् ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न १८ कर्मचारी खटिएका छन् भने निर्वाचनस्थलको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयमा मतपत्र प्राप्त भएपछि मतगणना शुरू गरिने सूचना अधिकृत अधिकारीले बताए । राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट ३, नेपाली कांग्रेसका तर्फबाट ३ र संघीय समाजवादी पार्टीेका तर्फबाट ३ गरी जम्मा ९ जना उम्मेदवार छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्