जर्मनीमा संस्कृतको आकर्षण बढ्दो, १४ विश्वविद्यालयमा पढ्नका लागि विद्यार्थीको हानथाप

संस्कृतको समृद्ध धरोहर र संस्कृतिलाई जोगाउनेहरू जर्मन नै हुन् त ? जर्मनीमा संस्कृत र इन्डोलोजीका कोर्स पढ्नका लागि बढेको माग हेर्दा भविष्यमा त्यस्तै हुन्छ जस्तो लाग्छ । 

संसारभरिबाट निवेदनको बाढी आएपछि हाइडेलबर्ग विश्वविद्यालयको साउथ एसिया इन्स्टिच्युटले स्विट्जरल्यान्ड, इटली र भारतमा समेत कथ्य संस्कृत पढाउने समर स्कूल शुरू गर्नुपरेको छ । 


Advertisement

‘हामीले १५ वर्षअघि यसको आरम्भ गर्दा दुई वर्ष जतिपछि नै बन्द गर्न खोजेका थियौं । हामीले आफ्नो क्षमता बढाउनुपर्‍यो र यही कोर्स अन्य युरोपेली देशमा पठाउनुपर्‍यो,’ शास्त्रीय इन्डोलोजीका प्रमुख डा एक्सल माइकल्सले बताए । 

जर्मनीमा १० वटा शीर्ष विश्वविद्यालयले संस्कृत, शास्त्रीय र आधुनिक इन्डोलोजी अध्यापन गर्छन् । समर स्कूल प्रत्येक वर्ष अगस्ट एक महिनासम्म चल्छ र त्यसका लागि संसारभरिबाट निवेदन आउने गर्छ । 


Advertisement

संस्कृतलाई कुनै धर्म र निश्चित राजनीतिक विचारधारासँग जोड्नु मूर्खतापूर्ण भएको र यसको समृद्ध विरासतलाई हानि गर्ने काम भएको प्राध्यापक माइकल्सले बताए । 

‘बौद्धधर्मका मुख्य सिद्धान्तहरू समेत संस्कृतमा थिए । पूर्वीय दर्शन, इतिहास, भाषा, विज्ञान र संस्कृतिको मूललाई थप राम्रो गरी थाहा पाउन पनि मूल संस्कृत ग्रन्थहरू पढ्नुपर्ने किनकि तिनीहरूले विश्वमा सबभन्दा पहिले देखापरेका विचार र आविष्कार हुन्,’ उनले थपे । 

हाइडेलबर्ग विश्वविद्यालयमा संस्कृत अध्ययन गरिरहेकी मेडिकल विषयकी विद्यार्थी फ्रान्सेस्का लुनारीले यसमा सहमति जनाइन् । 

‘म मनोविश्लेषणमा रुचि राख्छु र मैले मानव सोचहरूले कसरी पाठ, संस्कृति र समाजहरूलाई जन्माए भन्ने बारेमा जान्नैपर्छ । पूर्वीय मनोविज्ञानका अग्रणी गिरीन्द्रशेखर बोसका बारेमा खासै अध्ययन भएको छैन र उनका गैन्थ बुझ्नका लागि म बंगाली भाषा सिक्दैछु । त्यसका लागि संस्कृत सिक्नु पहिलो कदम हो,’ उनले भनिन् । 

बोसले फ्रायडका सिद्धान्तलाई चुनौती दिँदै आफ्ना सिद्धान्त प्रस्तुत गरेका थिए र बंगला भाषामा ग्रन्थ लेखेका थिए । तर बंगलालाई पनि संरक्षण गर्न सकिएन भने त्यसको हालत संस्कृतको जस्तो हुने अनि अंग्रेजीले सबैमाथि अतिक्रमण गर्ने हाइडेलबर्ग विश्वविद्यालयमा दक्षिण एसियाली आधुनिक भाषा तथा साहित्य विभागका प्रमुख डा हान्स हार्डरले बताए । 

समर स्कूलले प्राचीन उपनिषद्हरूमा मानवीय शरीरविज्ञान र मनोविज्ञान सम्बन्धी कोर्स चलाएको थियो । आईआईटीबाट गणितमा स्नातकोत्तर गरेका आनन्द मिश्रले यस कोर्सलाई पढाए । व्याकरण सुहाउँदो कम्प्युटिङ भाषा बनाउने विषयमा गरिरहेको अनुसन्धानका लागि मिश्रले संस्कृत अध्ययन गरेको बताए । 

‘पाणिनीको संस्कृत व्याकरणमा काम गर्दा मैले कम्प्युटिङ भाषाका लागि यो महान् साधन बनेको थाहा पाएँ,’ मिश्र भन्छन् । 

संसारभरि छरिएका संस्कृत विद्वानहरूका अधिकांश जर्मन छन् । 

‘हार्वर्ड, क्यालिफोर्निया बर्कले र बेलायमा रहेका समेत गरी बहुसंख्यक संस्कृत विद्वानहरू जर्मन हुन्,’ माइकल्सले भने ।

तर किन ?

‘हामीले कहिले पनि भारतलाई साम्राज्य नबनाएकाले र उससँग सुमधुर सम्बन्ध राखेकाले होला शायद,’ डा माइकल्सले भने ।

१४ अप्रिल २०१५ मा द डेली मेलमा प्रकाशित आदित्य घोषको समाचार

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्