
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा नेकपाका दुवै उम्मेदवार विजयी भएका छन् ।
नेकपा उम्मेदवारहरू महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानले जीत हात पारेका हुन् ।
नेकपा उम्मेदवार पासवानले ५ हजार २ सय ९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामपृत पासवानले ४ हजार ७ सय ४ मत पाए ।
यसैगरी नेकपा–राजपा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपाकी तुलसा दाहालले ५ हजार २ सय ८ मत प्राप्त गरी विजयी हुँदा उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी नगिना यादवले ४ हजार ७ सय ४० मत प्राप्त गरिन् ।

प्रदेश २ मा नेकपा र राजपाले २/२ सीट भागबण्डा गर्दै गठबन्धन गरेका थिए । कांग्रेस र समाजवादी पार्टी पनि गठबन्धन बनाएर चुनावमा होमिएका थिए ।
नेकपा–राजपा मतभार हिसाब गर्दा स्पष्ट जीत हुने देखिएपनि अन्तरघातको डर थियो । सोही कारण दुवै दलले प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई हिजोदेखि नै एकसाथ राखेर कडा निगरानी गरेका थिए ।
यससँगै नेकपाका दुवै उम्मेदवारले बाजी मारेका छन् । गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका राजपाका २ उम्मेदवारको भने नतिजा आउन बाँकी छ ।
१८ सदस्यका लागि भएको चुनावमा नेकपाले १६ उम्मेदवारलाई मैदानमा उतारेको छ । त्यसमध्ये ४ जना विजयी भइसकेका छन् ।
अन्य प्रदेशमा नेकपा जित्नेमा ढुक्क छ ।
मतभारका हिसाबले प्रदेश २ मा मात्र कडा प्रतिस्पर्धा हुने देखिएको थियो ।