प्रिय रविजी, तपाईं प्रधानमन्त्री भएको हेर्ने रहर छ !

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

रविजी, नमस्कार !
तपाईंलाई चितवन जिल्ला अदालतले सफाई दिएपछि धेरैले 'न्यायको जीत भयो' भनेका छन् । सफाइसँगै तपाईंलाई बधाई दिनेहरूको ओइरो लागेको  छ । हर्षोल्लासमा बाजागाजा, फूलमाला, अविरबरण सबैथोक भएका छन् । तपाईं आफ्नो कार्यालयको आँगनमा खुशीले नाँचिरहनुभएको भिडियो पनि सार्वजनिक भएको छ । यसरी मानिसहरूले तपाईंलाई एक नायकको रूपमा चित्रण गर्न कुनै कसर बाँकी राखेका छैनन् । कुनै महान युद्ध जितेर फर्केको सिपाहीजस्तो तपाईंले नायकत्व ग्रहण गर्नुभएको छ । तर यहाँ अर्को पात्र भने धुमिल छ । फुटेको काँचको ऐनाजस्तो एकदमै धुमिल। न्याय पाउनुपर्ने त दिवंगत शालिकराम पुडासैनी, तिनकी श्रीमती र परिवारले थियो । किन–किन यो पक्षलाई खलपात्रजस्तो, खलनायकजस्तो देखाइएको छ ।

एउटा मान्छे थियो, मर्‍यो त के भयो भन्ने जस्ता हाइसञ्चोवाला तर्क देखिएका छन् । शालिकरामको आँखामा कहिले खेलाडीको फोटो राखिए, कहिले कस्को तर उनको आँखाको आँसु नेचुरल थियो । शालिकरामको निधनपछि दिइएको खलनायकत्वमा यहाँ सम्माननीय न्यायाधीशले पनि कुनै सहानुभूति प्रकट गर्न सकेनन् ।


Advertisement

रविजीको पक्षमा उर्लिएको जनसागरसँग शालिकरामको आँसु फिक्का भयो । पूँजीवादी समाजको वर्गीय चित्र देखियो । सेलिब्रिटिजम बिक्यो, आँसु बिकेन। सुकिला–मुकिला मानिसहरू बिके, झुत्राझाम्रा मानिस बिकेनन् । सडकमा जनअदालत खडा भयो । सडकबाटै एकाएक हजारौं न्यायाधीशहरूको जन्म भयो । सडकमा हजारौं वकिलहरूले पदार्पण गरे । सडकको बीचबाटै न्याय–अन्याय फैसला भयो । वास्तविक न्यायाधीशको भौतिक शरीर आदालतमा थियो, मन, वचन र कर्म सडकमै देखियो ।

मुस्लिम धर्ममा कट्टर 'जिहादी समूह' हुन्छन् । यिनीहरूले अल्लाहलाई खुशी पार्न आफूहरूलाई भौतिकरूपमै बलिदानी दिन्छन् । रविजी अल्लाह समान मानिए । एक प्राकारको भगवान मानिए । भगवानलाई खुशी पार्न रविजीका पनि थुप्रै जिहादीहरू थिए, तिनले रवि दाइका लागि ज्यान दिन्छौं भन्थे । शालिकरामको न्यायका लागि ज्यान दिने कुरा कसैका थिएनन् । तिब्बती धर्मगुरु दलाइ लामाको मलमूत्र प्रसाद सम्झेर खान तयार कट्टर भिक्षुहरूजस्तै रविजीका झन् कट्टर भिक्षुहरूको चर्तिकला हेर्न लायक थियो । 


Advertisement

शालिकराम चर्चित पात्र थिएनन् । तिनका फ्यानहरू पनि थिएनन् । उनी खासै ह्यान्डसम पनि थिएनन्, तर रविजीका 'डाईहर्ट' फ्यान हजारौं थिए । तिनीहरू आफ्नो हिरो अचानक 'आत्महत्या दुरुत्साहन'को आरोपमा जिरो भएको देख्न सक्दैनथे । यो फ्यान भन्ने जिनिस कस्ता अजीवका हुन्छन् भने तामिलनाडुकी तत्कालीन मुख्यमन्त्री जयललिताको निधनको शोकमा ७७ जनाले आत्महत्या गरेका थिए । ती सबै जयललिताको फ्यान थिए । भलै जयललितालाई अर्बौं भ्रष्टाचार गरेको आरोप लागेको थियो, तर उनका फ्यानहरू ती आरोप स्वीकार्न मान्दैनथे । महात्मा गान्धीको हत्या गोड्सेले गरेका थिए तर गोड्सेका फ्यानहरू त्यो कुरा सत्य भएको पनि स्वीकार्न तयार छैनन् । शायद रविजीलाई अदालतले ५ वर्षको जेल सजाय सुनाएको भए धेरै त हैन ३ देखि ३० जनासम्म फ्यानले आत्महत्या गर्थेजस्तो लाग्छ, किनकी 'रवि लामिछानेका लागि ज्यान दिन तयार छौं' भन्ने फ्यानहरू धेरै थिए ।

हजुरले राजनीति गर्न खासै जान्नुभएको छ जस्तो चाहिँ लाग्दैन । जानेको भए इटहरिको मेयरको हप्कीदप्की सहनुपर्ने नै थिएन ।

भारतीय सिनेमाका बादशाह अमिताभ बच्चनको जस्तै क्रेज रविजीले निर्माण गरे । भारतका एक पुराना चलचित्र समिक्षक भन्छन्- '१९९० को दशकमा अमिताभ बच्चनको फ्लिम हेर्न चलचित्र हलमा जाँदा महिलाहरूले ४ घण्टासम्म मेकअप गरेर जान्थे किनकी तिनीहरूले सिनेमा हेर्दा अमिताभ बच्चनसँग प्रत्यक्ष डेट गरेको फील गर्न चाहन्थे ।' उनी थप्छन्- 'छायांकन स्थलमा पार्क गरेर राखिने अमिताभ बच्चनको अरू नै रंगको गाडीलाई युवतीहरूले किस गरेर रातो बनाइदिन्थे । चलचित्र छायांकनका लागि अमिताभ बच्चन जहाँ पुग्थे त्यहाँ सिंगो भारत नै उपस्थित भएजस्तो हुन्थ्यो ।'

रविजी 'सिधा कुरा जनतासँग' कार्यक्रम छायांकन गर्न जहाँ पुग्नुहुन्छ मानिसहरूको भीड लाग्छ, सेल्फी, अटोग्राफ यस्तै । नेपालको गैरराजनीतिक आन्दोलनरूमा यति धेरै केटीहरूले भाषण गरेको त्यो पहिलोपटक हुनुपर्छ । यही प्रसंगलाई लिएर मैले एउटा युट्युब च्यानललाई भनेको थिएँ- 'रवि लामिछानेको कार्यक्रममा राम्री-राम्री केटीहरू धेरै गएका छन् ।' तपाईंको फोटो कोठामा राखेर युवतीहरूले मनमनै के–के कल्पना गर्छन् कि गर्दैनन् त्यो त थाहा छैन तर गर्धनमा तपाईंको मुहार अंकित ट्याटु हानेको देखेको छु । तपाईंको नाममा गीत रेकर्ड गरियो, कविता लेखियो ।

छवि ओझाले बहुविवाह गर्दा बोका, छोराछोरी बिचल्ली पार्‍यो, अर्काको छोरीलाई दु:ख दियो भन्नेहरू तपाईंको केशमा भने नब्बे डिग्री घुमेर कुरा गर्न थाले । मर्दको छोरा हो, गर्‍यो त के बिरायो भन्न थाले । महिलाको दुश्मन महिला नै हुन्छन् भन्ने कथन कतै सुनेको थिएँ । संसारभरीबाट धेरै महिला फेसबूक लाइभमा आएर ईशा (रविकी पूर्वपत्नी) तिमीले हाम्रो रविको आइनोसाइनो गर्न बन्द गरिदेऊ भनेर उपदेश दिन थाले । रविजीको विर्यबाट दुई सन्तान जन्माएकी ईशाले जीवनमा पहिलोपटक तथानाम अश्लील गालीगलौज सहनुपर्‍यो । ईशाका कार्टुनहरू बने । यस्ता हर्कत गर्ने अधिकाशं महिलाहरू नै थिए ।

त्यतिखेल मैले ख्यालख्यालमै भाउजू स्याहार्छु भनेको थिएँ । यतिखेर ईशा म्याडमले यो पढ्दै हुनुहुन्छ भने म माफी चाहन्छु । भाउजु तपाईं साँच्चै सुन्दरी हुनुहुन्छ । मैले देखेका भाउजुहरूभन्दा साँच्चै सुन्दरी । अनुहार पनि लाम्चो-लाम्चो दिपिका पादुकोणको जस्तो देख्छु । भाउजू तपाईंले हिम्मत हार्नु हुँदैन । अहिलेसम्म बाग्मतीमा जति धेरै पानी बग्यो त्यो भन्दा धेरै तपाईंको आँखामा आँसु बग्यो, अब तपाईं स्ट्रंग हुनुपर्छ । आफूलाई सम्हाल्नुपर्छ । एउटा फूल झर्दैमा बगैँचा शून्य हुँदैन, एउटा मान्छे मर्दैमा पृथ्वी रित्तो पनि हुँदैन ।

सफाई पाएपछि रविजी झन् इगोसेन्ट्रिक हुनुभएको प्रतीत हुन्छ । बदलाको भाव उहाँमा देखिन्छ । अदालतको सफाइपश्चात् पहिलो कार्यक्रममा टेलिभिजन सेटअगाडि उभिएर भन्दै हुनुहुन्थ्यो- 'त्यो दानबहादुर मल्ललाई कारवाही गर्नुपर्छ । शालिकरामको आत्महत्याको दोषि हामी पत्ता लगाउँछौं । हामीलाई अवसर दिइएन । हामीलाई पक्राउ गरियो । रविजी एउटा उखान छ नि, 'लाटो देशमा गाँणो तन्नेरी ।' प्लिज रविजी, अब तपाईं उखानमा भनेजस्तै तन्नेरी नबन्नुहोस् । 'क्राइम सीन' भइसकेपछि तपाईंलाई अनुसन्धानका क्रममा जे गरियो अमेरिकामा पनि त्यही हुन्छ, युरोपमा पनि त्यही हुन्छ ।

तपाईं जस्तो सबैको मनमा बसेको लोकप्रिय प्रस्तोता यसरी एउटा एसपीसँग पूर्वग्राही हुन मिल्दैन । दानबाहदुर मल्ल संयोगले प्रचण्डको गार्ड बनेका हुन् । उनको दोष हैन । दानबहादुर मल्ल शालिकराम पुडासैनीको भिनाजु पनि हैन । उनले तपाईंलाई सोधेर प्रहरीमा जागिर खाएका पनि हैनन् । 

उनले पुडासैनी आत्महत्यको प्रमाण आफ्नो हेडक्वार्टरमा फरेन्सिक जाँचका लागि पठाए । दानबहादुर मल्लको कुर्सीमा तपाईं भएको भएपनि गर्ने त्यही हो । मुखले भट्याउनुभन्दा कानूनअनुसार काम गर्नु गाह्रो विषय हो ।

मल्ले पठाएका प्रमाणहरू हेडक्वार्टरबाट लिक भएको हो । लिक भयो त दानबहादुर मल्ललाई किन गाली, बरू खोजी पत्रकारिताकै जीत भयो। तपाईं त झन् रमाउनुपर्ने । हुन त आफ्नो नाम मुछिएको भिडियो रहेछ भनेर दु:खी हुनुभएको होला ।

रविजी आफ्नो क्रेजप्रति गर्व गर्नुहोस् तर हाम्रोजस्तो सानो देशमा त्यो एकथान गर्वको पोको कतिखेर छचल्किन्छ थाहा हुँदैन । एक परिश्रमी किसानले रहर लाग्दो तरकारी फलाउनु, एउटा फौजीले लडाईं जितेर फर्किनु, एउटा लेखकले राम्रो किताब लेख्नु, एउटा कूकले मीठो खाना पकाउनु, एउटा कलाकारले बेजोड प्रस्तुति दिनु, एउटा चित्रकारले राम्रो चित्र बनाउनु, एउटा पाइलटले कुहिरोमा हराउनै लागेको जहाज सही मार्गमा ल्याउनु, कुखुराको भाले बास्नु र तपाईंजस्तो एउटा परोपकारी टेलिभिजन प्रस्तोताले लाखौं फ्यान फ्लोअर्स कमाउनु कुनै आश्चर्यको कुरा हैन । फेरि तपाईंजस्तो अमेरिकाको सारा सुखसयल छाडेर नेपालका लागि केही योगदान गर्न फर्केको मान्छे यत्तिको चर्तित हुनु आवश्यक पनि थियो । 

म तपाईंको दर्शक हुन सकें फ्यन हुन सकिन । यो फ्यान भन्ने जिनिस पनि आफ्नो गच्छेअनुसार फ्यान हुने रहेछ । तपाईंका लागि ज्यान दिन तयार फ्यान हुन नसकेकोमा माफी चाहन्छु । तपाईंले सफाइ पाएपछि लाहुरेले नयाँ कपडा, चकलेटहरू, खेलौनाहरू ल्याउँदा नानीहरू कति खुसी हुन्छन्, त्यसरी नै खुशी छन् तपाईंका फ्यानहरू किनकी तपाईंप्रति आशा–भरोसा छ, तिनीहरूलाई । तिनीहरूको भरोसालाई अन्तिमसँग जोगाइराख्नु तपाईंको कर्तव्य हो । फ्यान हुने छूट सबैलाई छ । कोही तपाईंको फ्यान छन्, कोही शेरबहादुर देउवाको फ्यान । कोही करिना कपुरको फ्यान छन्, कोही मुकुन्द घिमिरेको फ्यान । म प्रचण्डको फ्यान हुँ । कहिलेकाहीँ मसँग सेल्फी खिच्न आउनेहरू गर्वका साथ भन्छन्- 'हामी त दिल निशानी मगरका फ्यान हौं ।'

तपाईंका फ्यानहरू अलिक राजनीतिबाट गाइडेड छन् कि भन्ने लाग्छ । आफ्नो पार्टीको झण्डा नबिकेर तपाईंको ओतमा सरकारलाई प्रहार गर्ने ठुटे नेताहरू धेरै देखियो । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष  प्रचण्ड आफ्नी पत्नी सीता दाहालको उपचार गर्न जाँदा निकै तुच्छ बोल्नुभयो । लाखौंले थपडी बजाए । तपाईंको राजनीतिक आस्था, विचार र कार्यशैली फरक भयो भन्दैमा त्यसप्रकारको छुद्रता कम्तिमा मिडियाकर्मीलाई सुहाउँदैन किनकी तपाईं कांग्रेस, राजावादी हैन मिडियाकर्मी हो । मिडियाकर्मीको रूपमा तपाईंले कसैको मृत्यूको कामना गर्न सक्नुहुन्न ।

आफूलाई कथित ३ करोड दर्शकको माया छ भन्दै प्रेस काउन्सिलबाट परिचय पत्र लिनुभन्दा जुत्तामा पालिस लगाएर बस्छु भन्नुभयो । राज्यका हरेक इन्स्टिच्यूसनलाई गाली दिनुभयो । परोपकारी कामले निर्माण गरेको पपुलारिटीको जगमा उभिएर आफूबाहेक सबै नराम्रो भन्नुभयो । हो, तपाईंले राम्रो गरिरहनुभएको छ, तर अरू मिडीयाकर्मीले पनि केही नगरेका भन्ने चाहिँ होइन, पत्रकारिता नै गरिरहेका छन् ।

रविजी एकपटक आँखा चिम्म गरेर तपाईं आफैं अनुमान गर्नुहोस् त, शालिकराम पुडासैनीले त्यो सुसाइड गर्नुअघिको भिडियोमा तपाईंको नाम नलिइकन अरू कुनै दोस्रो व्याक्तिको नाम लिएको भए तपाईंले त्यसलाई बाँकी राख्नुहुन्थ्यो ?  मलाई लाग्छ तपाईंले आफ्नो टेलिभिजनमा त्यो शालिकरामको भिडियो एक महिनासम्म प्रशारण गर्नुहुन्थ्यो । मेरै नाम लिएको भएपनि अहिले म जेलमा हुन्थें । त्यसकारण तपाईंलाई पक्राउ गरेर अनुसान्धन गर्नु नियमसंगत थियो ।

ती जोसुकै किन नहुन्, शालिकरामलाई आत्महत्या गर्न बाध्य तुल्याउनेलाई जमिनमुनिबाट हुन्छ कि हिमालको चुचुरोबाट हुन्छ खोजेर ल्याउनैपर्छ । शालिकरामको आँसुले पनि यो देशमा न्याय पाउनुपर्छ । शक्तिका आधारमा यहाँ कोही नायक र कोही खलनायक हुन नपरोस् ।

तपाईं जस्तो सबैको मनमा बसेको लोकप्रिय प्रस्तोता यसरी एउटा एसपीसँग पूर्वग्राही हुन मिल्दैन । दानबाहदुर मल्ल संयोगले प्रचण्डको गार्ड बनेका हुन् । उनको दोष हैन । दानबहादुर मल्ल शालिकराम पुडासैनीको भिनाजु पनि हैन । उनले तपाईंलाई सोधेर प्रहरीमा जागिर खाएका पनि हैनन् । 

रविजीलाई एसपी दानबहादुर मल्लले फसायो भन्ने परेको छ । तपाईंलाई फसाउन उनलाई शायद फुर्सद नहुन सक्छ । उनले गर्नुपर्ने काम अरू पनि हुन्छन् । सबैभन्दा ठूलो काम पेन्सन पकाउने हुन्छ । तपाईंलाई फसाएको भए शालिकरामले नै होला, अरूले कुन खाँचोले फसाउने ? तपाईंलाई फसाएर प्रधानमन्त्री बनिने पनि हैन । तपाईंलाई दानबहादुरको कार्यशैली मन नपर्ला, अरू कसैलाई तपाईंको कार्यशैली मन नपर्ला । सबैलाई सबैको सबैकुरा मन पर्नैपर्छ भन्ने छैन । लोकतन्त्रमा आलोचना स्वीकार्य हुनुपर्छ तर आलोचना र चरित्रहत्या परक-फरक कुरा हुन् । एसपी दानबहादुर मल्लको चरित्रहत्या गर्ने काम बन्द गर्नुहोस् । एसपी मल्लले तपाईंलाई सोधेर प्रहरीमा जागिर खाएका पनि हैनन्, तपाईंलाई सोधेर काम गर्ने पनि हैनन् । प्रहरीले ठूलो संयमता अपनाएर चितवनलाई दोस्रो टीकापुर बन्न दिएन । यस अर्थमा तपाईंले एसपी दानबहादुर मल्ललाई भेटेरै धन्यवाद पो दिनुपर्थ्यो ।

रविजी तपाईं आफैंले अनेकौं काण्ड झिकेर विवादमा आउनुभएको हो । एसपी दानबहादुर र तपाईंको गोरु बेचेको साइनो पनि छैन । उनीजस्तो सक्षम कमाण्डर प्रहरीमा कमै छन् । उनी सिधा, सोझा र इमान्दार छन् । सबै राम्रै नै चलिरहेको थियो, तर तपाईंले एक्कासि भूत देखाउन थालेकै हो । भागवान समानको मानिसले कहिल्यै भूत देखाउन त नपर्ने हो, तर देखाएरै छाड्छु भन्नुभयो । तपाईंलाई भूत देखाउन दानबहादुरले रोकेका थिएनन्, किन भूत देखाउनु भएन ? त्यो तपाईंको कमजोरी हो । 

तपाईंले भूत देखाउन थालेकै दिनदेखि मैले भाँडोमा उमाल्दै गरेको पानी आफैं सुकेर जान थाल्यो । मलाई पनि भूत माथि शंका जाग्यो । तपाईंप्रति पनि शंका जाग्यो । अन्यथा,  तपाईंको तेस्रो बिहेपश्चात दुईचार पीस यार्सागुम्बा उपहारस्वरूप दिन मन लागेको थियो तर त्यो अवसर म अभागीलाई प्रप्त हुन सकेन । बरु भूतको बाहनामा हाम्रो भगवान जस्तो रविदाइलाई जिस्कायो भनेर तपाईंका फ्यानहरूबाट तिता, नमीठा गाली खानुपर्‍यो । ती फ्यानहरूको जेजस्ता गाली खानु परेपनि पशुपतिनाथको कसम, मनकामनामाइको कसम,  खप्तडबाबाको कसम रविजी तपाईंप्रति मैले कुनै प्रकारको पाप चिताएको छैन । म हिजोका दिनहरूमा तपाईंको नियमित दर्शक थिएँ, आज पनि छु र भोलि पनि रहिरहनेछु। 

अन्तिममा, एकजना युट्युबरले नेपालको प्रधानमन्त्री को हो ? भनेर एकजना बैनीलाई सोध्दा 'रवि लामिछाने हो' भन्ने जवाफ दिइछन् । तपाईं जनताको यसरी नै मन जितेर एकदिन यो देशको प्रधानमन्त्री हुनुस् । मिडियाबाट त समस्या देखाउने हो, कार्यन्वयन गर्ने राजनीतिले नै हो, राज्य व्यवस्थाले नै हो । तपाईं एकदिन प्रधानमन्त्री भएको हेर्ने इच्छा छ । यसकारण पनि राजनीतिलाई त्यति धेरै घृणा नगर्नुहोस् किनकी तपाईंले राजनीति गर्नुभएन भने राजनीतिले तपाईंलाई राजनीति गर्छ । देश हाँक्ने लिडर जन्माउँछु भन्दै 'द लिडर' सञ्चालन गर्दै हुनुहुन्छ। साँच्चिकै लिडरको जन्म होस् अनि खराब पात्रहरूलाई टुँडिखेलमा उँडी–उँडी नाकको डाँडी भाँचिने गरी हान्नुहोस् । तर हजुरले राजनीति गर्न खासै जान्नुभएको छ जस्तो चाहिँ लाग्दैन । जानेको भए इटहरिको मेयरको हप्कीदप्की सहनुपर्ने नै थिएन । मलाई लाग्छ, हजुरका लागि सुहाउने फिल्ड 'जनतासँग बांगा कुरा' नै हो । आगे हजुरको मर्जी !

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्