
हामी झुण्ड र कोटरीभित्रका मान्छे होइनौं, यताको भाग र उताको भाग गर्नुपर्दैन - ओली
प्रधानमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाका नेताहरू कोही कसैको गोठ र कोटरीभित्र नरहेको प्रतिक्रिया दिएका छन् ।
५ दिनसम्म चलेको केन्द्रीय कमिटी दोस्रो पूर्ण बैठकको समापन गर्दै ओलीले विभिन्न सञ्चारमाध्यमहरूले गुट उपगुट छुट्याएर समाचार लेख्ने गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले पार्टी एकढिक्का रहेको बताए । 'केही सञ्चारमाध्यमहरूले यताको भाग र उताको भाग भन्दै अत्यन्तै अपमानित गरेका छन्,' उनले भने, 'तर हामी झुण्ड र कोटरीभित्रका मान्छे होइनौं । हामी यसको गोठभित्र त्यसको कटेरोभित्र र कसैको झुण्डभित्र परेको नेता होइनौं ।'
उनले स्वार्थवश नेकपाका नेताहरूलाई यता र उता राख्ने गरिएको भन्दै अपमानित महशुस भएको बताए ।
'विभिन्न टाउको बनाएर यताको भागमा यति टाउका, उताको भागमा उति टाउका राखेको देखिएको छ,' ओलीले भने, 'अंशबण्डा जस्तो गरेर राखिएको छ । नेकपा एउटै नेतृत्वको पार्टी हो ।'
ओलीले नेकपाका नेताहरू यताको भाग र उताको भागमा नरहेको बताए । तर हरेक मान्छेसँग आफ्नै विचार हुने र त्यसैका आधारमा बहस हुने कुरा सामान्य रहेको ओलीको जिकिर छ ।
'मान्छेका टाउका छन्, फरक विचार आउँछ । बहस हुन्छ, फरक कुरा हो,' उनले भने ।
नेकपा उपाध्यक्षमा वामदेव गौतम सर्वसम्मत चयन
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधान संशोधन प्रस्ताव पारित भएको छ ।
विधान संशोधन प्रस्ताव पारित भएपछि वामदेव गौतम उपाध्यक्षमा चयन भएका छन् ।
नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्षमा गरेको प्रस्ताव केन्द्रीय कमिटीबाट पारित गरिएको केन्द्रीय सदस्य विक्रमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बैठकले गौतमले सर्वसम्मत उपाध्यक्ष चयन गरेको छ ।
नेकपामा हाल अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ९ सदस्यीय सचिवालय रहेको छ ।
केन्द्रीय कमिटीमा प्रचण्डको जवाफ– प्रत्येक कमिटीमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित
राजधानी काठमाडौंमा ५ दिनदेखि जारी नेकपा केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले उठाएका सबालबारे अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिने क्रम शुरू भएको छ ।
अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दुवै अध्यक्षका तर्फबाट प्रचण्डले दिइरहेका हुन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समापन मन्तव्य राख्ने कार्यक्रम छ ।
केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले पार्टी एकताका बाँकी काम आगामी १५ दिनभित्र सक्ने बताए ।
उनले आगामी महाधिवेशनसम्म पार्टीका सबै कमिटीमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
नेकपाभित्र अधिकांश निर्णयहरू लिँदै आएको शीर्ष कमिटी पार्टी सचिवालय समेत महिलाविहीन छ ।
यसका साथै अमेरिकाले इन्डो प्यासिफिक रणनीतिमार्फत चीनलाई घेर्ने नीति लिएको भनेर प्रतिवेदनमा उल्लेखित प्रसंगको भाषा मिलाउने जवाफ पनि प्रचण्डले दिएको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।
यसरी सिधै भन्दा भाषा ठाडो भएकाले कूटनीतिक भाषा प्रयोग गर्ने जवाफ प्रचण्डले दिएको उनले बताए ।
यसपछि सांगठनिक तथा विधान संशोधन प्रस्तावमाथि उठेका सवालहरूको जवाफ महासचिव विष्णु पौडेलले दिने कार्यक्रम छ ।
बैठक आजै समापन गर्ने नेकपाको तयारी छ ।
गत माघ १५ गतेदेखि शुरू भएको केन्द्रीय कमिटीको पूर्ण बैठकमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको छ ।
समूहगत छलफलमा केन्द्रीय सदस्यहरूले सरकार र पार्टी जनभावना अनुसार अघि नबढेको, पार्टीमा दलाल पूँजीवादी चरित्र हावी भएको र पार्टीलाई ठेकेदारहरूले चलाएको जस्ता आरोप लगाएका छन् ।
माघ १५ गते शुरू भएको केन्द्रीय कमिटी बैठकको उद्घाटनका क्रममा सम्बोधन गर्न ओलीले अढाइ घण्टा खर्चिएका थिए । उनले सरकारको उपलब्धिका बारेमा ब्रिफिङ गरेका थिए ।
एमसीसीमा सहमति खोज्ने गरी भीम रावललाई नेकपाले दियो जिम्मेवारी
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) विवादमा सहमति खोज्ने जिम्मा स्थायी कमिटी सदस्य भीम रावल सम्मिलित समितिलाई दिएको छ ।
एमसीसी सम्झौताका केही प्रावधानमा नेता रावलले गम्भीर असहमति व्यक्त गरिरहेका बेला नेकपाले उनी सम्मिलित समिति बनाएर सहमति खोज्ने निर्णय गरेको हो ।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीमा सहमति खोज्न पूर्व प्रधानमन्त्री झलनाथ खनाल संयोजक रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता रावल सम्मिलित समिति गठन गरिएको जानकारी दिए ।
समितिलाई सहमति गर्न १० दिनको समयसीमा दिइएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार नेकपा नेता राजन भट्टराईले बताए ।
नेकपा सांसदलाई बालुवाटारमा प्रधानमन्त्रीको रात्रिभोज, भोजमा सहभागी हुन पनि ह्वीप !
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूका लागि रात्रिभोजको आयोजना गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार साँझका लागि तय भएको रात्रिभोजमा अनिवार्य उपस्थितिका लागि सांसदहरूलाई ह्वीप जारी गरिएको छ ।
संसदीय दलले सांसदहरूलाई एसएमएस पठाएर रात्रिभोजमा अनिवार्य उपस्थित हुन भनेको छ ।
नेकपा केन्द्रीय कमिटी बैठक समापनपछि केन्द्रीय सदस्यहरूलाई बिदाइ गरेर सांसदहरूलाई रात्रिभोज दिन लागिएको हो ।
स्रोतका अनुसार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने सम्बन्धमा समान धारणा बनाउन रात्रिभोजको आयोजना गरिएको हो ।
एसमसीसीसम्बन्धी सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा विचाराधीन छ ।
पार्टी केन्द्रीय कमिटी बैठकमा एमसीसीको विरोधमा चर्को आवाज उठिरहेको परिप्रेक्ष्यमा सांसदहरूलाई ह्वीप नै जारी गरेर रात्रिभोजमा डाकिएको हो ।
गृहद्वारा सीडीओसहित सहसचिव र उपसचिवको सरुवा
गृह मन्त्रालयले सहसचिव, उपसचिव र अन्य कर्मचारी गरी ३२ जनाको सरुवा गरेको छ।
गृहमन्त्री रामबहादुर थापा स्तरीय निर्णयबाट आइतबार उनीहरुको काज सरुवा भएको हो। जसमा १७ जना सहसचिव छन्, भने १५ उपसचिव। बाँकी अन्य कर्मचारी।
नयाँ पदस्थापन भएका केही सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी दिएको छ। त्यस्तै, विभिन्न जिललाका सीडीओ र सहायक सीडीओको समेत हरेफेर भएको छ।
सुनसरीमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु
सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
चन्द्रगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस माइक्रो बस र पोखराबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
माइक्रोबसका चालक धादिङ बैरेनी–३ बस्ने २८ वर्षीय दीपक खड्काको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै झापा भद्रपुर–८ घर भई हाल काठमाडौँ बस्ने ७५ वर्षीय हेमराज कोइराला र उहाँकी ६५ वर्षीया श्रीमती डोलमायाको घटनास्थलमै मृत्यु भएको छ ।
भक्तपुर निवासी १७ वर्षीया गरिमा गौतम र भद्रपुर निवासी ४५ वर्षीय टङ्कप्रसाद काफ्लेको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।
झापा धरमपुर–९ का होमबहादुर दर्जीे र झापाकै सावित्रा राई गम्भीर घाइते भएका छन् ।
सवारी दुर्घटनामा सामान्य घाइते भएका १० जनाको उपचार भइरहेको प्रदेश नं १ को प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए ।