×

NMB BANK
NIC ASIA

खुलेका प्रधानमन्त्री

'विश्वास छ, साथीहरूले मलाई चाहिँ भ्रष्टाचारमा शंका गर्नुहुन्न'

माघ २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

साथीहरू, तपाईंहरूले आज यहाँ थुप्रै महत्त्वपूर्ण विषयहरू उठाउनुभएको छ । हरेक विषयमा जानुभन्दा अगाडि मेरो आमन्त्रणलाई स्वीकारेर आउनुभयो र खुलस्त विचार राख्नुभयो, यसका लागि सबैभन्दा पहिले म हार्दिक धन्यवाद भन्न चाहन्छु ।

Muktinath Bank

एउटा कुरा के देखियो भने अलिअलि अतिशयोक्तिपूर्ण ढंगले भन्नुभएछ भन्ने जसरी खुला कुरा राख्नुभयो, एकदम ‘फ्रिली’ राख्नुभयो । यसर्थ कि यहाँ कुनै बारबन्देज छैन, कुनै अप्ठ्यारो, असहज केही पनि छैन । अथवा हामी एउटा स्वतन्त्र समाजमा छौं । हामी स्वतन्त्र समाजमा बाँचिरहेका छौं र स्वतन्त्र समाजमा बाँच्छौं भन्ने तपाईंहरूको बोलाइ र अभिव्यक्तिबाट पुष्टि भएको छ । यो हाम्रो समाजमा स्वतन्त्रतामा त्यस्तो केही खतरा छैन भन्ने व्यवहारिक सम्पुष्टि हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेस स्वतन्त्रताबारे...


Advertisment
Nabil box
Kumari

पहिलो कुरा त प्रेस स्वतन्त्रताको सम्बन्धमा र मिडियाको स्वतन्त्रताको सम्बन्धमा म सरकारको तर्फबाट तपाईंहरूलाई पूर्ण रूपमा आश्वस्त हुन आग्रह गर्दछु । प्रेस स्वतन्त्रतामा कुनै प्रकारको वा किञ्चित पनि बन्देज हुँदैन । र, प्रेस स्वतन्त्रतालाई सीमित गर्ने वा प्रेस स्वतन्त्रताका हकहरू, कुनै पनि प्रकारका प्रकाशन र मुभमेन्ट आदि स्वतन्त्रताका हकहरू कुनै पनि कुण्ठित गरिँदैन ।

Vianet communication
Laxmi Bank

म आफैं ५५ वर्ष स्वतन्त्रताको निम्ति लडेको छु, मानवअधिकारको निम्ति लडेको छु । मानवअधिकार र स्वतन्त्रताको अभाव कस्तो हुन्छ ? त्यो साथीहरूले अलि बढी देख्नुभएको छ, तर थोरै भोग्नु भएको छ । भोगेको छु ।

मानवअधिकारको अभाव कस्तो हुन्छ ? मैले आफैं धेरै त्यो भोगेको छु । त्यसकारण म साथीहरूलाई फेरि पनि भन्न चाहन्छु, यसमा तपाईंहरूले आशंकित हुनुपर्ने वा चिन्ता लिनुपर्ने अवस्था होइन र छैन । कुनै हिसाबले कुनै कुरामा छलफलको क्रममा गलत गएको छ भने त्यसलाई सच्याउन नसकिने कुरा छैन । कुनै कुरा यदि त्रुटिपूर्ण भएको छ भने पूर्ण स्वतन्त्रता हुन्छ र मिडियाको स्वतन्त्रता अनवरत हुन्छ ।

एउटा कुरा के भने कहीँ केही कानून, केही–केही रेष्टिक्सन्का कुराहरू सभ्य समाजका निम्ति आवश्यक पर्ने या राख्नुपर्ने हुन्छ । हामी सभ्य समाज निर्माण गर्न चाहन्छौं । मैले आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अर्को व्यक्तिको स्वतन्त्रता हनन् हुनु भएन । मैले आफ्नो सम्मानको कुरा गर्दा अर्कोलाई अपमान गरिरहनु भएन । मैले आफ्नो अधिकारको कुरा गर्दा अर्काको अधिकारको अपहेलना वा त्यसको उल्लंघन गर्नु भएन । यी कुराहरूप्रति हाम्रो सजगता आवश्यक छ ।

योे चाहिँ प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने विषय होइन । प्रामाणिक र जिम्मेवार ढंगले एउटा सभ्य एवं सुसंस्कृत प्रस्तुति होस् भन्ने आकांक्षा हो । कसैको वैयक्तिक जीवन, कसैको पारिवारिक जीवन र कसैको कारोबारमा अनुचित ढंगले क्षति पुर्‍याउने हिसाबले कुरा भयो भने के गर्ने ? मान्छेमा राम्रै मात्र मनसाय हुन्छ भन्न त सकिँदैन, नराम्रो मनसाय पनि कसैको हुन सक्ला । त्यस्तो भयो भने के गर्ने त ? कसैले कसैको पारिवारिक स्थितिलाई डामाडोल पार्नेगरी कुरा गर्‍यो, कसैले कसैको बिजनेस डामाडोल पार्नेगरी झुटो कुरा सम्प्रेषण गर्‍यो भने त्यसका निम्ति सच्याउने बाटो होला अथवा त्यसलाई त्यस्तो नगर्नु भनेर रोक्नुपर्ने अवस्था होला । हामीसँग बाटोमा हिँड्ने भन्ने अधिकार त छ । तर बाटोमा कसरी हिँड्ने भन्ने कुरा त हुन्छ नि, एउटा सभ्यता त हामीसँग चाहियो नि ! 

एउटा विकसित देश र अर्को विकसित देशलाई हेर्दा एउटा विकाससँगै सभ्यतामा गर्व गर्छ, अर्को विकासमा मात्रै गर्व गर्छ । म देशको नाम नलिऊँ, तर एउटामा शालीनता र विनम्रता छ । कुरा गर्दाखेरि यसो झुकेर कुरा गर्छ, अर्कोमा त्यो खालको केही पनि हुँदैन । एउटामा सामाजिक मूल्यहरू माथि हुुन्छन्, अर्काेमा सामाजिक मूल्यहरू कम हुन्छन् । हामीले एउटा सभ्य समाज सिर्जना गर्न खोजेका हौं । 

हामीले नेपाललाई समृद्ध मात्र बनाउन खोजेका होइनौं । हामीले सभ्य, मानवीय, मानवतायुक्त, मानवीय भावनायुक्त र पारस्परिक सहयोगात्मक सम्बन्ध भएको त्यस्तो समाज निर्माण गर्न खोजेका हौं, त्यतातर्फ हामी सबैका प्रयासहरू केन्द्रित हुनुपर्छ । यसमा प्रेस स्वतन्त्रता जस्तो कुरालाई कुण्ठित गरिएको या गर्न खोजेको भन्ने कुरा होइन । यसलाई प्रेस स्वतन्त्रताको संकुचनसँग जोड्ने अथवा यसलाई अझ लगेर स्वतन्त्रताका हकहरूको संकुचन अथवा लोकतन्त्रको प्रश्नसँग लगेर जोड्नु हुँदैन । अघि गुणराज लुईंटेलजीले भन्नुभयो, हामी त वैशाख ११ गते राति शाही घोषणा भएपछि सडकमा निस्किएका थियौं... ।

के अहिलेको अवस्था त्यस्तै हो त ? मान्छेले रिस उठ्दा के गर्छ भने कहिलेकहिले यस्तो अतिशयोक्ति साहित्यमा हुन्छ । यसो भनाभन पर्छ, तँलाई मार्दिन्छु भन्छ । तर त्यो साँचो भनेको चाहिँ होइन । साँच्चै हो भने त मार्दिउँला भनेको धेरै सिरियस कुरा हो नि ! अब म तँलाई मार्दिन्छु भन्छ । त्यो त्यति साँच्चासाँच्चै भनेको हुँदैन । अलिक झोक चलेको बेलामा कहिलेकहिले पत्रकारहरूले त्यस्तै गरिदिनुहुन्छ । गुणराजजीको अभिव्यक्ति मलाई त्यस्तै–त्यस्तै लाग्यो ।

गुणराजजी, अहिले देश त्यहाँ पुग्यो र ? के हामी साँच्चै त्यहीँ छौं त ? के हामी त्यसरी निस्कने बेला भयो त ? अथवा त्यस्तै बन्द समाज छ त ? हामी त्यस्तै कफ्र्यू र त्यस्तै तानाशाहीमा बाँचेका छौं ? यो साँचो हो र ? नेपाल पहिले पहिलेभन्दा शान्ति सुव्यवस्थाको राम्रो स्थितिमा छ । यो त साँचो हो नि ! कमसेकम समाजमा तपाईंहरूले देख्नु भएको छ नि !

विप्लवका सम्बन्धमा

विप्लव नामकोे एउटा समूह पैसा लुट्नको लागि पोलिटिक्सका नाममा आंतक मच्चाएर हिँड्छ । म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु– लेख्न तपाईंहरू स्वतन्त्र हुनुहुन्छ, तर मान्छेको ज्यान मारेर, विध्वंस र आंतक मच्चाएर, आंतककारी क्रियाकलाप गरेर पैसा असुल्ने जस्ता क्रियाकलापलाई बढावा दिने काम कृपया नगरौं । किनभने, यो हामी सबैका लागि हानीकारक कुरा हो ।

नेपालमा अब कुन व्यवस्थाका लागि रिभोल्युसन भनेको ? कस्तो व्यवस्थाका लागि रिभोल्युसन ? त्यसकारण यो रिभोल्युसनको कुरा होइन, अर्थ संकलनको कुरा हो । अर्थ संकलनको यस्तो विधि सभ्य समाजलाई स्वीकार्य र मान्य हुँदैन । स्वीकार्न सकिँदैन । त्यसकारण सरकारको तर्फबाट हामीले यो कुरा प्रस्ट भनेका छौं । हामीले त्यसलाई नियन्त्रण गरेका छौं । यद्यपि बम बन्दुकसमेत समातेर ल्यायो, छुट्छन् । हाम्रो समाजमा अनेक पक्षहरू छन् ।

बम बन्दुकसमेत ल्याएका मान्छेहरू छुटिराखेका छन् । यस्तोमा हामी अझ गम्भीर हुनुपर्ने हो भन्ने मलाई लाग्छ । सिंगो सामाजिक बनावट, सामाजिक मानसिकता, राज्यका सबै अंगहरू समाजका सबै अंगहरू, राज्यका मात्रै अंगको कुरा होइन, यसमा राज्यका मात्रै अंगले यी चिजहरू गर्ने त होइन । यस्ता कुराहरूमा समाजका सबै अवयवहरूले कस्तो तरिका अपनाउने भन्ने कुरामा देश र समाजका सबै अवयवहरूको एउटा साझा दृष्टिकोण र साझा प्रयास हुन जरुरी छ । अनि मात्रै हामी कस्तो समाज निर्माण गर्ने भन्ने कुरा गर्न सक्छौं ।

'असहिष्णु छैन सरकार'

जहाँसम्म सरकार असहिष्णु छ भन्ने छ, सरकार त असहिष्णु होेइन र छैन । त्यस्तो हुनै सक्दैन । कहिलेकहिले म पनि भन्छु– तपाईंहरू कति साह्रो असहिष्णु ? मैले तपाईंहरूलाई केही पनि भन्नै नपाउने ? ए बाबा ! तपाईंहरू अरूलाई सहिष्णु हुनपर्छ, सुन्नुपर्छ, सुन्नै नसक्ने भन्ने, मैलेचाहिँ तपाईंहरूसँग राम्रा कुराको प्रशंसा गर्ने मुटु छैन भन्दाखेरि उत्पात मच्चाउने ? फेरि किन तपाईंहरूमा त्यस्तो असहिष्णुता छ ? अलिअलि त तपाईंहरू पनि कहिलेकहिले सहिष्णु हुनुहोस् न ! आफूचाहिँ एउटा त्यो गीत गाउँछ नि– ‘केही भन्न हुन्न गाँठे घरै पार्छन् आगो’ जस्तो ! तपाईंहरूलाई चाहिँ केही भन्नै नहुने ? अनि तपाईंहरूले जे पनि लेख्न हुने, छाप्न हुने, व्यङ्ग्य चित्र बनाउन हुने, कविता कोर्न हुने, लेख लेख्न हुने, जे पनि छाप्न हुने, हामीले ‘होइन अति नै पो गरे हो साथीहरूले’ भन्यो भने लौ यो त असहिष्णु भयो भनेर फेरि आलोचना गर्ने ? अलिअलि त हामीले पनि यसो भन्न पाउनु पर्छ नि ! हाम्रो पनि थोरै वाक् स्वतन्त्रता त होला ! त्यसको पनि त संरक्षण गरिदनुहोस् । त्यसोचाहिँ गर्नै नमिल्ने हो र ? हामीले यसो भनिरहँदा सरकार असहिष्णु छैन, हुनै सक्दैन ।

'सरकारमा दिन गुजार्न आएको होइन'

हामी आफ्नो जीवनको सानोतिनो मूल्य तिरेर यहाँसम्म आइपुगेका छैनौं । हामी सबैलाई थाहा छ, स्वतन्त्रताका हकहरू भएको यो प्रणाली खेर जान सक्दैन । पे्रस स्वतन्त्रता पनि खेर जान सक्दैन । कुनै पनि अधिकारहरू खेर जान सक्दैनन् । सबैलाई थाहा छ– सरकारले चाह्यो भने पनि जान सक्दैनन् । यो त सिंगो समाजको मनोदशाको कुरा हो । यसलाई समाजले वरण गरेको छ । अर्को, अहिलेको सरकार त आन्दोलनको उपज हो ।

नेपाली समाज बलिदानीपूर्ण संघर्षको एउटा निष्कर्षबाट यहाँ आइपुगेको हो, त्यसको भाव पैदा भएको हो । हामीले जुन अभ्यास गर्‍यौं, लोकतन्त्रका निम्तिको अभ्यास, त्यसैको सिलसिलामा यो सरकार उत्पन्न भएको हो । सबैभन्दा पछिल्लो पटक जनताले गरेको विश्वासको अभिव्यक्ति यो सरकार हो । जनताले विभिन्न समयमा विभिन्न विश्वास गरेका होलान्, तर पछिल्लो विश्वास अहिलेको सरकार हो । त्यसकारण यो सरकार जनताप्रति उत्तरदायी छ ।

इतिहासलाई यसले सम्मान गर्छ, मैले ‘रिपिटेड्ली’ भन्ने गरेको छु, इतिहासलाई सम्मान गर्ने र जनताप्रति उत्तरदायी हुने कुरालाई हामीले वरण गरेका छौं । र, हामी हाम्रो काँधका अभिभाराहरू बुझ्छौं । हामी दिन गुजारौं भन्नका निम्ति सरकारमा रहेको होइन । हुन्छ नि, सरकारमा आइयो, अब दिन गुजार्नुपर्छ भन्ने खालको यो सरकार होइन ।

यसको काँधमा परिवर्तन पछिको एउटा ठूलो संक्रमणलाई टुङ्ग्याएर अगाडि बढ्ने जिम्मेवारी छ । त्यसको एउटा खास जंचर (चरण)मा हामी छौं । यसले देशमा सिस्टम बसाउनु छ, यसले देशलाई अगाडि बढाउनु छ, यसले जनतामा विश्वास बढाउनु छ र जनताको मनोवल जगाउनु छ । हामी देश बनाउन सक्छौं, हामी यो यो देश बनाउने काम गर्न सक्छौं भन्ने कुरा स्थापित गर्नुछ । 

'जनतामा निराशा नफैलादिनुस्'

साथीहरूसँग मेरो आग्रह छ, सम्पादकज्यूहरूसँग मेरो आग्रह छ, जनता निराश भयो भने देश बर्वाद हुन्छ । सबैभन्दा खतरनाक कुरा जनतामा निराशा आउनु हुन्छ । त्यसकारण जनता निराश हुनेगरी हामी कोही प्रस्तुत नहोऔं र जनतालाई निराश हुन नदिऔं । जनतामा आशावादिता जगाऔं । जनतामा आत्मविश्वास जगाऔं, जसबाट देश बन्न सक्छ । हामी देश बनाउन सक्छौं । आत्मविश्वासका साथ जनता जब निर्माणमा जुट्छ, तब कुनै पनि देश बन्ने हो ।

आत्मविश्वास कम भयो भने, मनोबल टुट्यो भने देश विकास हुन सक्दैन र देश अघि बढ्दैन । यस्तो अवस्थामा कहिलेकहिले देशको अस्तित्व पनि रहँदैन । जनताको आत्मविश्वास र मनोबल–यी सबै कुराहरूमा निर्भर रहेको हुन्छ कि हामी गर्न सक्छौं भन्ने भावना चाहिन्छ । यथार्थमा हामी सक्छौं पनि । हाम्रो प्रकृतिले, हाम्रो इतिहासले, हाम्रो डेमोग्राफिक डिभिड्यन्टले  यो संकेत पनि गरेको छ । अहिले जनताले एउटा विश्वास गरेर हामीलाई झण्डै दुईतिहाइको सरकार दिएको स्थिति छ । यसले स्थिरता आएको छ । यसले मौका दिएको छ । हामी अरू तीन वर्ष काम गर्न पाउँछौं ।

यस्तो अवस्था नभएको भए अहिले हामीसँग काम गर्ने समय नै हुँदैनथ्यो । अघिल्लोपल्ट म पनि ८/९ महिनामा सरकारबाट काम नगरेर होइन, काम गर्दागर्दै गएको हो ।  राम्रो काम गरेका कारण गएको हो । हिजो अवस्था त्यो थियो भने अहिले त त्यस्तो छैन । अहिले स्थायित्वको स्थिति छ र हामीसँग अपरचुनिटी छ । यस्तो अवस्थामा मैले कमसेकम बुझेको छु कि अवस्था कस्तो छ र हाम्रो काँधका अभिभाराहरू के छन्, च्यालेन्जहरूलाई पनि मैले बुझेको छु ।

हो, च्यालेन्ज थुप्रै प्रकारका छन् । सरकारको सम्बन्धमा तपाईंहरूले इन्डिकेट गर्नुभएको छ, खासगरी सरकारको बनावट, सरकारको काम, पार्टीको काम र विभिन्न नियुक्तिहरूआदि इत्यादिको सम्बन्धमा औंल्याउनु भएको छ । म यहाँहरूलाई भन्न चाहन्छु– दुईतिहाइको सरकार छ, दुईतिहाइको सरकारको प्रधानमन्त्री म छु, म त्यस पार्टीको अध्यक्ष पनि हुँ । फेरि पनि मैले कुनै काम गर्नुभन्दा अगाडि तपाईंहरूलाई एकपटक सम्झिनु पर्छ, कुनै निर्णय गर्नुभन्दा अगाडि मैले तपाईंहरूलाई मात्रै सम्झिएर पुग्दैन, प्रतिपक्ष पनि छ भन्ने सम्झिनु पर्छ ।

संविधानसँग अझै असहमत पक्षहरू पनि छन्, तिनलाई पनि सम्झिनु पर्छ । विभिन्न प्रकारका नारा र उद्देश्य बोकेका शक्तिहरू पनि छन्, तिनलाई पनि सम्झिनु पर्छ । तपाईंहरूलाई थाहा छ नि, छत ढलान गर्दा सिमेन्टको गिटी बालुवा सबै गरेर ढलान गरिन्छ । अनि त्यो पक्की हुन्छ । ढलान गरिसकेपछि तल काठका टेकाहरू जोडिराखिएको हुन्छ । तर ढलानको २१ दिनसम्म पनि ती टेको लगाइएका खुट्टा निकालिँदैन, किनभने त्यो राम्रो जमेको हुँदैन ।
हामीले ल्याएको डेमोक्रेसी, हामीले ल्याएको संघीयता र हामीले ल्याएको गणतन्त्रको खुट्टा निकाल्ने वा टेको निकाल्ने बेला भइसकेको छ कि छैन ? अनेक पक्षहरू छन्, अझै कलिलापनहरू छन् । भर्खरै पार्टी एकीकरण भएको छ  । त्यसको पनि टेको निकाल्ने बेला भएको छैन । यी सबै पक्षहरू छन् । यो तपाईंहरूले इन्डिकेट गरेको कुरा ठीक हो । मैले यी थुप्रै कुराहरूसँग कम्प्रमाइज गर्नुपर्छ । 

अर्को  ब्यूरोक्रेसी छ, ब्यूरोक्रेसीमा पुरानै छन् । दुई वर्ष अगाडिको अवस्थाबाट पार्टी सरकारमा आयो । बाँकी सबै कुरा त यथावत नै छँदैथियो । यो  हाम्रो परिवर्तनको ढाँचा भनेको अलिकति स्ट्रगल गर्‍यो, जनताले दबाब दियो, परिवर्तन गर्‍यो, कम्प्रमाइज गर्‍यो र कम्प्रमाइको बाटोबाट अगाडि बढ्यो । सधैँ यही ढाँचा छ । मैले भन्ने गर्छुृ नि, राणा शासनका विरुद्ध २००७ सालमा आन्दोलन भयो । राणा शासन ढालियोे तर राणा प्र्रधानमन्त्रीको नेतृत्वमा नै सरकार बनाइयो । राणा शासन फालेर गरियो के भन्दा राणा प्रधानमन्त्रीको नेतृत्वमा सरकार बनाइयो ।

आन्दोलनकारी कांग्रेस सरकारमा सहभागी भयो । भागेका राजालाई फर्काएर ल्याई फेरि स्थापित गरियो । त्यो कम्प्रमाइजिङ् टर्ममा राजनीति गयो । पछि २०४६ सालमा के भयो ? राजाले आइन्दा संवैधानिक भएर बस्छु भने । फेरि कम्प्रमाइज भयो र दलीय व्यवस्था कायम भयो । २०६२/०६३ को आन्दोलनमा के भयो ? राजाले वैशाख ११ गते जनताको नासो फिर्ता गरेँ भन्ने वक्तव्य दिए, हामीले सम्झौता गर्‍यौं । र, पुनःस्थापित संसद्ले राजाका अधिकारहरू खोसेर अब राजाका काम, कर्तव्य र अधिकार प्रधानमन्त्रीले नै प्रयोग गर्ने भन्ने भयो । त्यसपछि वस्तुतः राजतन्त्र समाप्त भयो । पुनःस्थापित संसद्ले नै राजतन्त्र समाप्त पारिदियो ।

अझ त्यसभन्दा अगाडि वस्तुतः दरबार हत्याकाण्डबाटै राजतन्त्र सिद्धिएकोे थियो, तर त्यतिबेला जनताको स्ट्रेन्थ पुगेन, जनताको रिपब्लिक घोषणा गर्ने काम हुन सकेन । स्ट्रेन्थ नपुगेपछि फेरि खोजखाज गरेर राजतन्त्र ल्याइराखियोे । वास्तवमा त्यो खोजेको राजतन्त्र हो । पछि त्यसलाई पुनःस्थापित संसद्ले अन्त्य गर्‍यो र त्यसको विधिवत् अन्त्यचाहिँ संविधानसभाले गर्‍यो । यो क्रम कम्प्रमाइजिङ् बाटोबाटै गयो । यसरी हाम्रो समाज कम्प्रमाइजिङ् एटिट्यूडका साथ जाने गरेको छ । कम्प्रमाइजका साथ जाने, कम्प्रमाइजिङ्बाट जाने हाम्रो सामाजिक एटिच्यूड रहेको स्पष्ट छ ।

अहिलेको सरकारले धेरै कुराहरूमा कम्प्रमाइज पनि गरेको छ । अन्तर्राष्ट्रिय स्थितिलाई हेरेर, भूराजनीतिको कुरा साथीहरूले गर्नुभयो, हामीले अत्यन्त सफलतापूर्वक, अत्यन्त ब्यालेन्स गरेर आफ्नो पोलिसीलाई अगाडि बढाएका छौं र  सफलतापूर्वक अगाडि बढेका छौं । डेमोक्रेसीलाई हामीले अत्यन्तै ब्यालेन्स गरेर अगाडि बढाएका छौं । यो नयाँ प्रणाली जो स्थापना भएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र, यो प्रणाली आफैँमा नयाँ छ ।

यस प्रणालीमा पनि खिचातानी हुन्छ । यसमाथि यसको पृष्ठभूमिमा के के भएर आएको थियो ? हामी इतिहासलाई सम्झिऔं । हामीले जातका कुरा गरेनौं कि ? भूगोलका कुरा गरेनौं कि ? केका कुरा गरेनौं ? यी सबै पृष्ठभूमिबाट आएर अहिले सानोतिनो प्रयासले यसलाई शान्तिपूर्ण र सन्तुलित ढंगले अगाडि बढाउन सजिलो कुरा छैन । हामीले सफलताका साथ यसको म्यानेज गरेका छौं ।

संविधान कार्यान्वयनबारे...

संविधान कार्यान्वयनको कुरा तपाईंहरूलाई थाहा छ । चुनावपछि म आउँदा कुनै पनि कानून बनेको थिएन । सन् २०१५ मा संविधान जारी भयो, तर २०१८ को फेब्रुअरीसम्म कुनै पनि कानून बनेका थिएनन् । कानून बनाउन र कार्यान्वयन गर्न  त फेरि एकैचोटी सन् २०१५ बाटै थाल्नुपर्‍यो, जबकि त्यसै वर्षको सेप्टेम्बर २० भित्र यति कानून बनाइसक्नु पर्ने, मौलिक हक कार्यान्वयनसम्बन्धी कानून बनाइसक्नु पर्नेजस्ता कुराहरू थिए । त्यसो भएको हुनाले यो अत्यन्तै च्यालेन्जिङ् स्थिति थियो ।

मैले सकेसम्म हेरेर र सकेसम्म त्रुटिरहित गर्न खोजेको हुँ । तर यति धेरै कानून संविधान कार्यान्वयनका लागि बनाउनु पर्दथ्यो, जसमा फिनिसिङ् टचको कुरा होइन कि त्यसभन्दा अगाडिको मस्यौदा पनि हेर्न नभ्याइने अवस्था थियो । किनभने त्यसो गर्नै पर्दथ्यो । त्यसैले यसमा तपाईंहरूले भनेजस्तै एकदमै परिपक्वताका साथ, व्यापक छलफल र अन्तरक्रिया गरेर हेर्न, गर्न भ्याइएकोे स्थिति होइन ।

अहिले पनि हामीले कतिवटा नमूना कानून बनाएर पठाउनुपरेको छ । संघीयताको नयाँ प्रयोग चलिरहेको बेला थियो, बसिसकेको सिस्टमको अवस्थामा रन गर्ने कुरा थिएन । हरेक कुरा नयाँ आयो । हरेक कुरा नयाँ गर्नुपर्‍यो, त्यसले गर्दा धेरै कामको चापको बीचमा कानूनहरू बनाउनु पर्‍यो । अर्काेतिर हामीले कानून बनाउँदछौं भनेर मात्र हुँदैनथ्यो, विकास निर्माणको काम पनि गर्नुपर्दथ्यो ।

अहिलेका लागि मात्रै होइन, ६ महिनाका लागि मात्रै होइन, एकछिनका लागि केही वाहवाही पाउनभन्दा दीर्घकालीन योजनाहरू अघि सारेर र प्लानिङ गरेर गर्नु पर्दथ्यो । विकास निर्माणका काम पनि तत्काल पपुलर हुनभन्दा अलिक दीर्घकालका लागि कसरी जाने भन्ने कुरा नै मुख्य हुनै नै भए । यसरी हामी दीर्घकालीन काममा छौं, जस्तै कनेक्टिभिटीको कुरा रहेको छ । र, हामी त्यतापट्टि क्रियाशील रहेका छौं ।

हामी वास्तवमा थुप्रै कुरामा नयाँ युगमा प्रवेश गरेका छौं । हामी टनेल एरामा प्रवेश गरेका छौं । एउटा टनेल शिलान्यास गर्‍यौं, अरू ६ वटा टनेलहरू हामी तुरुन्तै शुरू गर्दैछौं । कोही सर्वे हुँदैछन् र छिट्टै नै हामी तिनलाई अगाडि लान्छौं । बाटोलाई छोटो बनाउने र दीगो बनाउने, हामी मुलुकलाई त्यस ढंगले एउटा नयाँ युगमा लैजाँदै छौं ।

हाम्रो व्यापार विविधिकरण, राष्ट्रको विविधिकरण, आइटमको विविधिकरण र थुप्रै चिजहरूको विविधिकरण भएको छ । अर्थतन्त्रको हिसाबले हामी त्यसमा जानुपर्ने जरुरी छ । त्यसमा हामीले ध्यान दिएका छौं । रेलको पनि काम गर्नुपर्ने छ, पानीजहाजको पनि काम गर्नुपर्ने छ । नदीको बाटोबाट हामीले लिएर आउँँदा थुप्रै सस्तो पर्नजाने र छिटो हुनजाने हुन्छ ।

अर्को हामीले कोलकातामा खोल्न नपर्ने, सोझै आउने जुन सुविधा गरेका छौं, यसले व्यापारलाई जुन अनुकूलता सिर्जना भएको छ, जो हामीले नयाँनयाँ क्षेत्रमा गरेका छौं । विमानस्थलहरूको छिटो निर्माणमा हामीले जोड दिएका छौं ।

कतिपय रात्रि उडानहरूमा जोड दिएका छौं । दिउँसो मात्रै भयो भने त एउटा मात्रै विमानस्थल छ, त्यसले अप्ठ्यारो हुने नै भयो । दिउँसो मात्रै गर्दा पुगेन । हामीले २४ घन्टा उडाउनेगरी कतिवटा आन्तरिक विमानस्थललाई राति पनि उडाउन सक्नेगरी लगेका छौं । 

हामीले जगदेखि नै विद्यालय भर्नाको अभियान चलायौं । अढाई तीन लाखभन्दा बढी स्कूल नजाने नयाँ बालबालिकालाई हामीले स्कूल पुर्‍याएका छौं । दुई वर्षमा यो लगभग टुंगिन लागेको छ र हामी टुंङ्ग्याउँछौं भन्दैछौं ।

८० प्रतिशतनागरिकमा विद्युत् पुर्‍यायौं । विद्युत् प्रयोगकर्ता  र प्रयोग गर्ने क्षमता किन वृद्धि भएन भन्नुभयो । अहिले यो दुई वर्षमा क्षमता १४५ बाट २४५ पुगेको छ । ८० प्रतिशत घरहरूमा बिजुली पुर्‍याएका छौं । अब दुई वर्षभित्रै बिजुली सबै ठाउँमा पुर्‍याउँछौं । त्यसका निम्ति काम हुँदैछ ।

अन्तरदेशीय लाइनका लागि जोे एमसीसीको कुरा भइरहेको छ, त्यसमा अन्तरदेशीय लाइनमा विद्युत् उत्पादनसँगै हाम्रो व्यापार दीर्घकालीन सांचका साथ अघि बढ्छ । हामीले यो काम गरेका छौं ।

राजधानीको धूलोधुवाँ र खाल्डाखुल्डीका सम्बन्धमा

म यतिमात्र अनुरोध गर्छु, अहिले काठमाडौंका शहर, यद्यपि एकदम विकसित शहरको तुलना या दाँजोमा उठाइसें, म त्यसो भन्दिनँ । तर काठमाडौंका शहर पहिलेजस्तो अहिले पक्कै पनि छैनन् । यहाँहरूले महसूस गर्नुभएको छ, खाल्डाखुल्डी पुर्ने, बाटो बन्ने कुरामा साथीहरूले अहिले सडकबत्तीको स्थितिमा पक्कै पनि सुधार देख्नुभएको होला, यसमा भिन्नता आएकैै छ ।

सडक लाइट राख्दा मलाई के फरक पर्‍यो त ? मलाई त केही फरक परेन । मलाई के फरक पर्‍यो भनेर हेर्दाखेरी मलाई केही फरक परेन । यदि मान्छेले हेर्‍यो भने यो आफैंलाई पनि फरक पर्ने काम हो । पहिले म सरकारमा हुँदा २५ प्रतिशत तनखा बढाएको थिएँ, अहिले फेरि २० प्रतिशत तनखा बढाएको छु कर्मचारीलाई पनि फरक परेको छ । काम लगाइएको छ ।

एउटा मेकानिज्म एकैचोटी कन्भर्ट भएर त परिवर्तन हुँदैन । व्रतबन्ध गरेर चौकामुनि बसेको छोरालाई बाहुनले माथि चढाउँछ नि ! ब्रतबन्ध गरेको भोलिपल्ट ठ्याक्कै छोरो चौकामाथि हुन्छ । देशलाई व्रतबन्ध गरेर ठ्वाक्क चौका चढाएजस्तो त हुँदैन, विकास त्यसरी त हुँदैन । डेमोक्रेसीले त जीवनमा प्रतिफल आउनका निम्ति खासमा व्यक्तिको आर्थिक र सामाजिक जीवनमा प्रतिफल पाउनका निम्ति त्यसको अलिकति प्रोसेस त हुन्छ ।

रोजगारीका अवसर सिर्जना गरिएको छ, जीवन बीमा गरिएको छ र बैंक खाताका कुराहरू गरिएको छ  । अहिले इनोभेसनका लागि हिजो मात्रै हामीले ऐन पास गरेका छौं । हामी ५० लाख युवालाई इनोभेसनका लागि वतावरण दिने भनेर लागेका छौं । यसरी हाम्रो यात्रा कतापट्टि छ भनेर साथीहरूले देख्न सक्नुहुन्छ । राष्ट्रियताको सवाल होस्, डेमोक्रेसीको सवाल होस् अथवा विकासको सवाल होेस् वा सुशासनको सवाल होस्, प्रगतिकै स्थिति नै छ । 

बालुवाटारको जग्गा, यती, वाइडबडी र सुनकाण्डबारे ...

अब म तपाईंहरूले एउटा इन्साफ गर्नुपर्छ भन्छु । ललिता निवास के मेरो सरकार बनेपछि बेचेर व्यक्तिलाई दिएको हो र ? उहिले हिनामिना गरिएको जग्गा अहिले मैले छानबिन गराउँदै छु । यसमा एकातिर सीआइबीलाई छानबिन गर्न लगाएको छु, अर्कोतिर अख्तियारलाई छानबिन गर्न लगाएको छु । दुईतिरबाट छानबिन हुँदैछ । मुद्दा त मैले गर्ने होइन, अदालतले किनारा गर्ने हो । यो सबै छानबिन गरेर अदालतमा मुद्दा पेश हुन्छ ।

मैले त छानबिन गराउने हो । योभन्दा अगाडि पनि सरकार थिए, तर कसैले छानबिन त गराएनन् । मैले छानबिन गराउँदै छु । अनि जसले यो छानबिन गराउँदैछ, त्यसैलाई आरोप ? तपाईंहरू इन्साफ गरिदिनुस्, न्याय गरिदिनुस् न ! एकपटक खोई ३८ क्विन्टल सुन खुब चल्यो ? ३८ क्विन्टल सुन त भागिसकेछ ! तर, उहिल्यै भएको त्यो तस्करीलाई मैले आएर छानबिन र खोजतलासी गर्दा सुनको चोरी निकासी हुँदो रहेछ । आयात हुने र निर्यात पनि हुने रहेछ ।

त्यसलाई म आएपछि नै रोकियो । त्यसको छानबिन गर्दा पत्ता लगाइयो र कारवाही गरिएको छ– ७५/७६ जना मानिस जेलमा छन् । कतिलाई त मुद्दा नै चलाइएको छ । अनि त्योभन्दा गर्ने के ? छानबिन गर्दा जे पत्ता लाग्यो, प्रहरीले जे छानबिन गर्छ, अदालतले जे छानबिन गर्छ, त्यसैगरी गर्ने होइन र ? त्यसका लागि एउटा छुट्टै समिति बनाएर छानबिन गराइयो र अदालतमा मुद्दा पनि चलाइयो, जे फेला पर्‍यो, त्यही कारवाही गरियो ।

अख्तियारकै आयुक्तमाथि कारवाही भएको छ  । १२ वर्ष अघिदेखिका मुद्दाहरूमा कारवाही भएका छन् । विभिन्न ओहदामा रहेका र ठूलो ओहदामा रहेका व्यक्तिहरूमाथि कारवाही भएको छ । स्टिङ अपरेशन गरेर पैसा समाउँदासमाउँदै र खाँदाखाँदैको अवस्थामा कारवाही गरिएको छ र ठूलाठूला ओहदाका मान्छेहरू पनि कारवाहीमा परेका छन् । जो इन्भल्भ (संलग्न) रहेको पाइन्छ, छोडिएको छैन ।

ललिता निवास के मेरो सरकार बनेपछि बेचेर व्यक्तिलाई दिएको हो र ? उहिले हिनामिना गरिएको जग्गा अहिले मैले छानबिन गराउँदै छु । यसमा एकातिर सीआइबीलाई छानबिन गर्न लगाएको छु, अर्कोतिर अख्तियारलाई छानबिन गर्न लगाएको छु । दुईतिरबाट छानबिन हुँदैछ । मुद्दा त मैले गर्ने होइन, अदालतले किनारा गर्ने हो ।

जुनसुकै अपराधमा होस्, जुनसुकै तहका मान्छे हुन्, इतिहासमा पहिले कहिल्यै नभएको तहका मान्छेहरू कारवाहीमा परेका छन् । मोलाहिजा गरिएको छ र ? कानूनी राजको सिद्धान्तमा मोलाहिजा गरिएको छ र ? छैन । त्यसकारण भ्रष्टाचार बढेको होइन, भ्रष्टाचार नियन्त्रण गर्दा गिरफ्तार हुने र कारवाही हुने प्रक्रिया भएको छ ।

हिजो थाहै नभई हुने भ्रष्टाचारका घटनामा कारवाही हुँदा बढी थाहा भएको छ । त्यो थाहा भएको हुनाले हो रहेछ भन्ने कुरा देखिएको हो । भ्रष्टाचार बढेको होइन, नियन्त्रण गर्ने सिलसिला अगाडि बढेको छ । 

वाइडबडी खरिद मेरो समयमा भएको हो र ? यती होल्डिङ्सको दरबार अगाडिको जग्गा लिजमा दिनु हुन्थ्यो कि हुँदैनथ्यो ? त्यो बेग्लै कुरा हो । ६ अर्ब कति त त्यस ठाउँको मूल्य पनि पर्दैन । त्यो लिजको त्यस्तो कुरा होइन । त्यो मभन्दा अघिल्लो सरकारले गरेको काम होे, तर विधि प्रक्रिया पुर्‍याएरै गरेको रहेछ । अहिले कुरा उठेपछि मैले हेरेँ । त्यसको मैले प्रारम्भिक हिसाबमा हेर्दाखेरी विधि प्रक्रिया पुर्‍याएरै गरेको देखेँ ।

सोल्टीनजिक ताहाचलको जमिन लिजमा दिएको रहेछ । यतीको के भएको रहेछ त भनेर मैले त्यो पनि हेरेँ । त्यसमा पनि विधि प्रक्रिया पुर्‍याएर नै गरेको रहेछ । गोकर्ण रिसोर्ट एउटा विदेशीलाई दिएको थियो, विदेशीबाट नेपाली कम्पनीले किन्यो र थोरै समय बाँकी रह्यो । त्यो थोरै समय बाँकी रहेपछि उसले किन्यो र उसलाई लिज अवधि बढाइदिन्छु भनेरै त्यतिबेलाको सरकारले भनेको हुनाले नै उसले किन्यो । नत्रभने त्यत्रो पैसा हालेर उसले किन किन्थ्यो ?

विभिन्न स्वतन्त्र किसिमका निकायबाट मूल्यांकन गराएर त्यसमार्फत कति पर्छ ? त्यसको प्रतिस्पर्धात्मक मूल्य कति हुन सक्छ ? चार्टर एकाउन्टेन्ट संस्थाका मान्छेबाट मूल्यांकन गराएर त्यसको लिज अवधि थप भएको छ । त्यसमा कुनै घोटाला भएको मलाई विश्वास छैन ।

एउटा कुरा मैले घोटला गर्छु वा मैलेचाहिँ भ्रष्टाचार गर्छु भन्ने कमसेकम साथीहरूले ठान्नुहुन्न होला भन्ने मलाई विश्वास छ । किनभने मेरो जुन कमिटमेन्ट छ, त्यसमा चाहिँ शंका गर्नुहुन्न भन्ने म ठान्दछु । जुनसुकै सरकारको सम्बन्धमा जेसुकै होस्, मेरो सम्बन्धमा त्यसरी प्रश्न उठ्दैन भन्ने मेरो विश्वास छ । किनभने मलाई त्यस्तो गर्नु केही छँदा पनि छैन । बदमासी गर्नु, भ्रष्टाचार गर्नु र कमिसन खानु केही पनि छैन । 

'निर्वाचन प्रणाली खर्चिलो भयो'

तपाईंहरूले भनेको एउटा कुरा के ध्यान दिनयोग्य छ भने अस्तिको दिन सकिएको हाम्रो केन्द्रीय कमिटीको बैठकमा पनि यो कुरा चल्यो । वास्तवमा यो निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भयो । यो भन्ने नभन्ने बेग्लै कुरा हो, तर निर्वाचन यति खर्चिलो भयो कि यदि कुनै हिसाबले हामी यसमा खर्च नहुने बाटो खोज्दैनौं भने यसले भ्रष्टाचार बढाउने र भ्रष्टाचार गराउने अनिवार्यजस्तो खतरा हुन्छ ।

यो बहुत खर्चालु भयो  । चुनाव जोसुकैले लड्न नसक्ने खालको स्थितिमा जाँदैछ । अलिक सोच्नुपर्छ भन्ने कुरा आएको छ  । तर निर्वाचन खर्चिलो भए पनि वा जेसुकै भए पनि त्यसको नाममा राज्यकोषबाट कमिसनगिरी हुन्छ भने त्यो म प्रधानमन्त्री हुँदासम्म चल्दैन । म तपाईंहरूलाई भनौं, राज्यको कोष मारेर पार्टीको, वा व्यक्तिको र संस्थाको कोष बढाउने काम हुँदैहुँदैन । यो राज्यकै विकासको बजेट हो र यसको खर्च विकासमा नै हुन्छ । 

धन्न बालुवाटारमा जग्गा किनिएन छ !

म भाग्यमानी रहेछु, म पनि घडेरी खोज्दैखोज्दै हिडेको थिएँ । धन्न बालुवाटारमा परिनछु । त्यसबेला यो किनबेच भइराखेको रहेछ र म पनि खोज्दै हिडेको थिएँ । जग्गा किन्नेले हेर्ने धनीपूर्जा हो । पास गर्ने गएर मालपोत कार्यालयमा नै हो । धन्न तपाईंहरू पनि कोही पर्नु भएनछ । किन्न त अन्तै किन्नु भएको होला, यहाँ पर्नु भएनछ । यहाँ परेको भए ! बालुवाटारको जग्गा हिनामिना गर्नेमा नाम आउँथ्यो । हेर्ने त तपाईंहरूले पनि धनीपूर्जा हो । धनीपूर्जा हेर्ने हो, मालपोत कार्यालयमा गएर नै किन्ने हो ।

म धन्न बँचेछु, बालकोट गएर किनेँ । यहाँको जग्गाको प्रकरण आएपछि मैले साथीहरूलाई सोधेँ– होइन कतै बालकोटको पनि यस्तै त अवस्था छैन ? सार्वजनिक जग्गा त परेको छैन भनेर सोधेँ । तर, त्यस्तो रहेनछ र ढुक्क भयो । आफ्नो हिसाबले भन्दा पनि भवितव्यले गर्दा त्यस्तो नपरेको हो । नत्र भने नेपाल त यस्तो भएको छ, व्यक्तिको धनीपूर्जाबाट किन्दा पनि उहिल्यै कसले सरकारीबाट व्यक्तिको जग्गा बनाएको पर्नसक्ने डरसमेत हुन्छ ।

यस्तो अवस्थामा मैले अहिले सार्वजनिक जमिनहरू फिर्ता ल्याउँदैछु । मान्छेले निजी गराएका जमिनहरू फिर्ता ल्याउँदैछु । एउटा कोरियन कम्पनीलाई अपर त्रिशूली थ्री एमा वनले कन्स्ट्रक्सन वर्क र ट्रान्स्मिसनको लागि वनक्षेत्र पनि प्र्रयोग गर्नुपर्ने हुन्छ भनेर जमिन दिएको रहेछ । एक्सेस रोडका लागि वनले जमिन दिएको रहेछ । त्यसरी दिएपछि गुठी खडा गरेर त्यसका नाममा मोही खडा गरेर अहिले त धनीपूर्जा नै बनिसकेछ । अघिल्लो सरकारले नक्कली गुठीलाई जमिन दिइसकेको रहेछ । त्यस निर्णयमा टेकेर रसुवा मालपोत कार्यालयले मोही सदर गरी जमिन उनीहरूलाई दिन ठिक्क परेर बसेको रहेछ ।

अहिले कन्स्ट्रक्सन कार्य गर्ने भनेपछि तिनीहरू मुअब्जा चाहियो भन्न आए । हामीले नभएको जंगलको जमिन लिएको कसरी मुअब्जाको कुरा आयो भन्दा २०७४ पुस ९ गते चुनाव सकिएपछि ११० रोपनी जमिन एउटा गुठी खडा गरी दिएर, मोही खडा गरेर तमासा पो गरिएको रहेछ । त्यो जमिन फिर्ता लिइयो । सर्लाहीमा त्यसैगरी कब्जा गरेको जमिन रहेछ । तिनीहरू सबै फिर्ता लिइयो । यसरी विभिन्न ठाउँमा फिर्ता लिने क्रम चलेको छ । म साथीहरूलाई भन्न चाहन्छु, सार्वजनिक, सरकारी सम्पत्तिको सुरक्षा गर्ने काम भइरहेको छ । त्यसको हिनामिना गर्न र भ्रष्टाचार गर्न नपाऊन् भन्ने कुरामा अहिलेको सरकार सजग छ । त्यसैकारण यो ललिता निवासको जमिन हामीले रोक्का गर्‍यौं ।

हामीले गर्ने भनेको रोक्का नै हो । रोक्का गरेर छानबिन हुँदैछ र अब छिट्टै नै अदालतमा जान्छ । त्यसकारण साथीहरू यसमा ढुक्क हुनुभएहुन्छ कि जसको जे दोष छ, जसको त्रुटि छ, यसमा विनादबाब नै कारवाही हुन्छ । सरकारले यसो गर वा उसो गर, फलानोलाई यसो गर वा उसो गर भन्ने कुरा हुँदैन । हामीले कुनै संस्था बनाएका छौं भने तिनीहरूलाई स्वतन्त्ररूपमा काम गर्न दिन्छौं । काम गर्न दिनुपर्छ ।

मैले प्रहरी र सरकारी निकायमा दबाब वा हस्तक्षेपको काम नगर्न निर्देशन गरेको छु । दबाब र हस्तक्षेपमा काम नगर्ने, भ्रष्टाचार र कमिसन हुन नदिने गरेको छु ।

एमसीसी ठीक छ, अनुमोदन हुन्छ !

अब जहाँसम्म एमसीसीको कुरा छ, हाम्रो नेपालको चलन कस्तो छ भने सम्झौता गर्नुभन्दा अगाडि पर्याप्त अध्ययन गर्ने, अनि सम्झौता गर्नुपर्ने हो । हामी सम्झौता आदि सबै सिध्याउँछौं र अन्तिममा अनुमोदन गर्ने बेलामा बहस शुरू गर्छाैं र अध्ययन थाल्छौं ! सबै सम्झौताहरू आमनागरिकले अध्ययन गरेर, पढेर कण्ठ पारेर बस्छन् भन्ने कुनैै दुनियाँमा कहीँकतै हुँदैन । आम नागरिकले सबै सम्झौता वा सन्धि पढ्छन्, कण्ठ पार्छन्, राम्रो नराम्र्रो छुट्याउँछन्, त्यस्तो हुँदैन । त्यसका लागि वार्ता गर्न विशेषज्ञहरू पठाइएको हुन्छ र मूल्यांकन गरिएको हुन्छ । यसका आफ्नै प्रक्रिया हुन्छन् र त्यसैअनुरूप सबै कार्य भएका हुन्छन् ।

त्यही प्रक्रिया अघिल्लो सरकारले पूरा गरेको थियो । हामी सबैलाई हिस्ट्री थाहा छ, यो कहिलेदेखि आयो, कसरी आयो भन्ने कुरा मैले बताइरहनु पर्दैन । अब अहिले केही समय यता आएर यो एमसीसीचाहिँ इन्डोप्यासिफिक पोलिसीअन्तर्गत भयो भनेर साथीहरूले भनिरहनु भएको छ । अमेरिका हामी सबैलाई थाहा छ । हामी बुझ्छौं नि अमेरिकाको ग्लोबल स्ट्राटेजी र ग्लोबल पोल्टिक्स छ । किन इन्डोप्यासीफिक मात्रै ? ग्योलब नै छ । अमेरिकाको ग्लोबल पोलिटिक्स् र ग्लोबल पोलिसी छ, ग्लोबल स्ट्राटेजी नै छ । अमेरिका सुपरपावर हो । उसलाई संसारको सबैभन्दा धनी र सबैभन्दा बलियो देश भनेर जानिएको छ । संसारका कुनाकुनामा उसका फौजी अखडा छन् ।

साधारणतया अब तर्कले काम गर्दैन, कानूनले काम गर्दैन । त्यस हिसाबले अमेरिका चल्छ र चलिराखेको छ । सुपर पावर हो भन्ने थाहा छ नि ! अब त्यस्तो सुपर पावरका ग्लोबल स्ट्राटेजी हुन्छन्, रिजनल स्ट्राटेजी हुन्छन् र होलान् नै । हामीले गरेको एग्रिमेन्ट के हो ? हाम्रो एग्रिमेन्टले के भन्छ ? त्यस सम्झौताले के भन्छ ? एमसीसीसम्बन्धी कम्प्याक्टले के भन्छ ? हामीले हेर्ने त्यसलाई नै हो । यो पाँच वर्षको सम्झौता हो, ५ वर्षभित्र हामीले कार्यान्वयन गरिसक्नुपर्छ ।

म सरकारमा नभएको बेला मात्र होइन, मलाई हटाइएर बनाइएको सरकार रहेको बेला थियो । तर त्यसो भए पनि ठीक कुरालाई त ठीक भन्नुपर्छ । त्यसकारण मैले त्यसबेला पनि ठीक भनेको हुँ । त्यसबेला पनि मैले हेरेको हुँ, ठीक छ भनेको हुँ र अहिले पनि यो मैले ठीक छ भनेको छु । अब यसलाई अनुमोदन गर्नुपर्छ, यो अनुमोदन हुन्छ ।

यदि गरिसकिएन भने जहाँ पुगेको छ, त्यहीँ रोकिएर पैसा फिर्ता जान्छ । त्यसकारण हामीले हतारहतार यो काम गर्नुपर्छ । हामी विद्युत् उत्पादन गर्दैछौं । हामी जलस्रोतको धनी देश, हामीलाई ट्रान्स्मिसन लाइन चाहिन्छन् । त्यस निम्ति पर्याप्त पैसा चाहिन्छ । त्यसका लागि अमेरिकाले ट्रान्स्मिसन लाइन बनाइदिन्छु भनेको छ । जुन यहाँदेखि गोरखपुरसम्म जान्छ । यसमा इन्डिया सम्बन्धित कुरा किन भयो प्रश्न पनि आउँछ । इन्डियासँगको कुरा, अझ इन्डियासम्म बिजुली निर्यात् गर्नका लागि यो ट्रान्समिसन लाइन बन्ने हो । गोरखपुरसम्म लाइन विस्तार गर्नुपर्छ, अनि न इन्डिया चाहियो ।

यसमा हामीले सुनौली–गोरखपुर लाइनको एग्रिमेन्ट गरिसकेका छौं । यो एग्रिमेन्ट भइसकेको हुनाले अब खाली एलाइन्मेन्ट पूरा गर्ने र त्यहाँको वन र बाटो क्लियरेन्स दिने कुरा जुन हो, त्यसमा काम भइराखेको छ, यो काम अन द प्रोसेसमा छ । यो हुँदै जान्छ । अरू सबै शर्त पूरा भएका छन् । हामीले लिँदाखेरी शर्त के हुन्छ ? सम्भव कसरी हुन्छ ? अमेरिकाका आफ्ना शर्त छन् । उसले आफ्नो कानून बनाउँदा भनेको छ, लोकतन्त्र हुनुपर्छ, जनताआधारित विकास हुनुपर्छ । सुशासन हुनुपर्छ । जनताका विरुद्ध तानाशाही चलाउनका लागि सहयोग गरिँदैन । तानाशाही हुनुहुँदैन ।

मानवअधिकारको स्थिति राम्रो हुनुपर्छ । सुशासन हुनुपर्छ र सुशासनतर्फ देश अग्रसर हुनुपर्छ । देश सुशासनतर्फ अग्रसर भएको हुनुपर्छ । भ्रष्ट्राचार नियन्त्रणको बाटोमा अघि बढेको हुनुपर्छ । यी सबै उसका शर्तहरू रहेका छन् । यी शर्तहरू पूरा गरेर हामीले अनुदान प्राप्त गर्नु भनेको त नराम्रो होइन । ती शर्त पूरा गरेर हामीलाई सन् २०१२ मा अमेरिकाले उपयुक्त भन्यो । हामी सन् २०१२ मा इलिजिबल छौं भनेपछि २०१५ बाट हाम्रा संवादहरू सघन ढंगले शुरू भए र २०१७ मा तत्कालीन अर्थमन्त्री वासिङ्टन गएर सम्झौता भयो । त्यसो गर्दा उचित नै सम्झौता भएको छ ।

त्यसबेला म सरकारमा नभएको बेला मात्र होइन, मलाई हटाइएर बनाइएको सरकार रहेको बेला थियो । तर त्यसो भए पनि ठीक कुरालाई त ठीक भन्नुपर्छ । त्यसकारण मैले त्यसबेला पनि ठीक भनेको हुँ । त्यसबेला पनि मैले हेरेको हुँ, ठीक छ भनेको हुँ र अहिले पनि यो मैले ठीक छ भनेको छु । अब यसलाई अनुमोदन गर्नुपर्छ, यो अनुमोदन हुन्छ । यसमा सैनिक प्रयोजनमा खर्च गर्न नपाइनेसमेत शर्त छ ।

यो कुनै हिसाबमा सैनिक प्रयोजनमा प्रयोग हुने अथवा विकास कार्यबाहेक अरूतिर खर्च गर्न पाइने अनुदान होइन । हामीले अझ स्पष्ट गरेर कि बाटो र ट्रान्समिसन लाइनमा, कहाँदेखि कहाँसम्मको बाटो र कहाँदेखि कहाँसम्मको ट्रान्समिसन लाइनमा भन्ने पनि निश्चित भइसकेको छ । यसकारण यो नकारात्मक छैन ।  यो सकारात्मक कुरा हो । र, यसै अधिवेशनबाट र छिट्टै पारित हुन्छ, पारित गरिन्छ ।

हाम्रा केही साथीहरूमा केही कन्फ्युजन देखियो । कन्फ्युजन देखियो भने ठीकै छ, अध्ययन गरेर व्यवस्थित गरेर बुझ्दा भयो । त्यसकारण हामीले व्यवस्थित गरेर तथ्य प्रमाणहरू, त्यसको हिस्ट्री, त्यसको सहमति, त्यसको व्यवस्था सबै कुरा ल्याउनका निम्ति एउटा कार्यदल बनाएका छौं । त्यसले १० दिनमा भनेको ३ दिन भइसक्यो, अब ७ दिनभित्र आफ्नो रिपोर्ट यस्तो–यस्तो भएको रहेछ भनेर दिन्छ, त्यसपछि सबैलाई स्पष्ट हुनका लागि सजिलो हुन्छ । यो ठूलो समस्याको विषय होइन ।

भैँसेपाटी बैठकबारे ...

एउटा कुरा म तपाईंहरूलाई भन्न चाहन्छु, तपाईंहरूलाई लागेको त्यस्तो हो कि ? तपाईंहरूले सुनेको त्यस्तो हो कि ? विश्लेषकहरू कसैले तपाईंलाई सुनाएका हुन् कि ? तपाईंहरूको कुरा कस्तो छ भन्दा यहाँ मेरो टेबल अगाडि रेकर्ड गर्न तपाईंहरूले १२ वटा टेलिफोन राख्नु भएको छ । १२ वटामा ७ वटा यता दायाँ राख्यो, ५ वटा उता बायाँ राख्यो भने ५ वटा अल्पमतमा पर्छ । हिसाब सजिलो छ । तपाईंहरू यसरी हिसाब निकाल्नुहुन्छ, तर यसरी राखेको हो कि होइन ? साथीहरू चारपाँच जना भैँसेपाटीमा एकफेर जम्मा हुनुभएछ, अनि नेपालको पोलिटिक्स नै त्यही हो जस्तो गरेर अब भैँसेपाटी बैठक, भैँसेपाटी बैठक भन्न थाल्ने ?

भैँसेपाटी बैठक हुन्छ, खुमलटार बैठक हुन्छ, कोटेश्वर बैठक हुन्छ, डल्लु बैठक हुन्छ, बालुवाटार बैठक हुन्छ, अन्त बैठक हुन्छ र सिंहदरबारमा पनि बैठक हुन्छ । यस्ता बैठकहरू त हुन्छन् नि ! यो एकता हामीले यताउति गोटी सारेर, त्यहाँ खेल खेलेर, स्टे«न्थ लुज गर्नका लागि गरेको होइन । र, त्यस्तो कमजोर छैन । तपाईंहरूलाई भ्रम नरहोस् है ! त्यस्तो कुनै प्रकारको कन्फ्युजन नरहोस्, त्यस्तो केही पनि छैन ।

मैले डावोसबाट फर्किदाखेरि आपत्ति गरिनँ, (डावोसबाट फर्कंदा प्रचण्डको भेनेजुयलासम्बन्धी वक्तव्यमा सम्पादकहरूको जिज्ञासा) आपत्ति के मात्र गरेँ भने, एउटा अभिव्यक्ति आयो अध्यक्षजीको, भोलि नै म आउँदै छु भनेपछि अघिल्लो दिन त्यस्तो अभिव्यक्ति नआउनु पर्दथ्यो । मैले उहाँलाई त्यस्तो नआउनु पर्दथ्यो भनेर भनेको हो । त्यो पब्लिकलाई भनेको होइन, उहाँलाई भनेको कुरा अलिकति पब्लिक भएको होला ।

मैले एयरपोर्टमै भनेको छु सरकारको भनाइ के हो र पार्टीको भनाइ के हो ? मैले एयरपोर्टमा आउँदा आउँदै त्यो कुरा भनेको छु । के सान्दर्भिक छ, के सान्दर्भिक छैन भन्ने कुरा त्यसबेला भनेको हुँ । तर त्यसको अर्थ दुईजना तीनजना भेट हुने बित्तिकै सशंकित भइहाल्ने ?

भर्खरै लभ गर्न लागेका केटाकेटीले गर्छन नि ! अर्कासँग यस्सो बोल्या देख्यो भने हँ गर्ने ? हामीहरू त्यस्तो खालको होइन । हामी धेरै वर्ष राजनीति गरेर र चुनावसँगै लडेर, सिट बाँडेर, तालमेल गरेर, त्यसैबेला पार्टी एकीकरण गर्छौं भनेर र एकीकरण गरेर यहाँसम्म आएका हौं । यो एकीकरण कसो गर्दा मजबुत हुन्छ भन्ने हामीलाई थाहा छ । कसो गर्दा कमजोर हुन्छ भन्ने त्यो पनि थाहा छ । यसलाई मजबुत बनाइन्छ, कमजोर हुन दिइँदैन । 

‘छिट्टै किड्नी फेर्छु, ३ वर्ष सरकार चलाउँछु’

म साथीहरूलाई के भन्छु भने, चुनावपछिका कुरा नगरौं । तीन वर्षपछि चुनाव हुन्छ । तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो । तपाईंहरूलाई बताइदिऊँं, म अब छिट्टै किड्नी ट्रान्स्प्लान्ट गर्छु । अहिले किड्नीमा अलिक समस्या छ । आजको जमानामा अलिअलि समस्या किन राख्ने ? एउटा किड्नी ल्याएर फेरि थप राख्छु । यो ठूलो कुरै होइन । तपाईंहरू ढुक्क हुनुहोस् । अनि तीन वर्ष.. ।  मैले किड्नी छिट्टै किन राख्ने भने बेस्सरी काम गर्न सजिलो होस् भनेर हो । अहिलेभन्दा बढी सजिलोसँग काम गर्नका लागि हो । यसमा हाम्रो पार्टीमा कुनै विमति छैन ।

पहिले त मैले प्रचण्डजीलाई आलोपालो गरौंला नि भनेर भनेको थिएंँ । तपाईं आएर चलाउनु होला आधा भनेको थिएँ । अस्ति भर्खरै उहाँले भन्नुभयो– यो त (इनस्टेबिलिटी) अस्थिरता हुन्छ, त्यस्तो नगरौं । उहाँकै प्रस्तावमा यो आलोपालो भन्ने कुरालाई हामीले हटाइदियौं । र, अब (कन्टिन्यू) निरन्तर बाँकी अवधि मैले नै सरकारको नेतृत्व अगाडि लैजाने भन्ने पनि हामीले विधिवत् निर्णय गर्‍यौं । प्रचण्डजीले नै आलोपालो छाडेर अब स्थिर ढंगले लाने भन्नुभयो र अस्थिरता नदेखाउने भन्ने कुरा उहाँकै प्रस्तावमा निर्णय गरेर हामी अगाडि गइराखेका छौं ।

एउटा किड्नी ल्याएर फेरि थप राख्छु । यो ठूलो कुरै होइन । तपाईंहरू ढुक्क हुनुहोस् । अनि तीन वर्ष.. ।  मैले किड्नी छिट्टै किन राख्ने भने बेस्सरी काम गर्न सजिलो होस् भनेर हो । अहिलेभन्दा बढी सजिलोसँग काम गर्नका लागि हो । यसमा हाम्रो पार्टीमा कुनै विमति छैन ।

अनि तपाईंहरूले पनि देख्नुभयो– १५ गते केन्द्रीय कमिटीको बैठक यतिबेला शुरू गर्छौं, १९ गते यति बजे अन्त्य गर्छाैं भन्यौं । अनि त्यतिबजे नै अन्त्य गर्‍यौं । एकताबद्ध भएर शुरू गर्छौं, शुरू गर्‍यौं । एकताबद्ध भएर अन्त्य गर्छाैं, अझ सुदृढ एकताका साथ अन्त्य गर्‍यौं । त्यो त साथीहरूले देख्नुभएको नै छ ।

अलिकति के छ भने पचासौं वर्ष राजनीति गरेका, खली खाएका नेताहरू छन् । एउटाले भनेको आदेश अर्काेले मान्ने तहका छैनन् । यहाँ सम्पादक र सहसम्पादकजस्तो पनि होइन, हामी सबै सम्पादकभन्दा माथिका छौं । त्यसो भएर एक खालको पर्सनालिटीको फिलिङ हुन्छ नि ! मभन्दा अगाडि प्रधानमन्त्री भइसकेकाहरू छन् । मभन्दा अगाडि पार्टी प्रमुख भइसकेकाहरू छन्, अनि त मैले एकदम खुरुक्क यसो गर् भनेर आदेश दिन त मिल्दैन । त्यसो भएर मैले विचार गरेर, मानभाउ पुर्‍याएर काम गर्नुपर्ने हुन्छ । पार्टीमा यस्ता अलिअलि कम्प्लिकेसन त हुन्छन् । पार्टी भनेको त त्यही हो नि ! समस्या कहाँ छैन र ?

तपाईंहरू कल्पना गर्न सक्नुहुन्छ । एमाले कहाँ थियो, माओवादी कहाँ थियो ? वल्लो डाँडो र पल्लो डाँडोबाट तोप हानाहान गर्थे धुमधामसँग । अझ मैले त झन् साह्रो तोपका गोलाका गोला ठोक्ने गरेको नै हो ! त्यस ठाउँबाट हामी यहाँसम्म एकतामा आइपुगेका छौं । यो बाइचान्स मौकाले भेट भएको जस्तो त होइन नि ! यो त सचेत प्रयासबाट गरिएको एकता हो । त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु, ढुक्कले चलौं । अब म साथीहरूसँग कोअपरेसन र अलिक बढी कोअपरेट गर्न आग्रह गर्न चाहन्छु । र, भन्न चाहन्छु, तपाईंहरूको सहयोगको अपेक्षा गर्न चाहन्छु ।

मेरो कतिपय कुरा मन पर्दैन भने गाली गरे हुन्छ । तर, यस्तो नहोस् कि देशको अहित हुने खालका र देश अन्योलमा पर्ने खालका कुराहरूचाहिँ नजाओस् र जनताको मनोबल टुट्ने खालको स्थिति नजाओस् । हामीलाई राष्ट्रिय एकता चाहिएको छ । शान्ति चाहिएको छ । शान्ति र एकताको बलमा हामी विकास गर्न सक्छौं । हामीलाई विकास चाहिएको छ, त्यसका निम्ति हामीलाई सुशासन चाहिएको छ । तपाईंहरूको आलोचनाप्र्रति हामी असहिष्णु भएको होइन, कहिले–कहिले तपाईंहरूले गोदिरहँदा हो हो ठीकै गोदिराखेका छन् है साथीहरूले भन्नु पनि त हुँदैन नि ! अलिअलि जवाफ त हामीले पनि दिनुपर्छ नि ! तपाईंहरूले भनेजति सबै कुरा ठीक हुन्छ भन्ने हुँदैन । तपाईंहरूका इन्फरमेसन गलत हुन सक्छन्, सीमित हुन सक्छन् । त्यसमा हामीले कहिले काहीँ कमेन्ट गर्नुपर्ने पनि हुनसक्छ । यो त के भने तपाईंहरूले बलिङ गरेपछि ब्याटिङ त अलिकति गर्नु पर्‍यो नि ! तपाईंहरूले बलिङ दिएको दियै गर्ने, अनि एक ब्याट ब्याटिङ दियो भने तपाईंहरू फेरि प्रेसचाहिँ शत्रु हो ? हामी शत्रु हौं भनेर रिसाउने ? त्यसो पनि गर्न भएन ।

हामी सबैको उद्देश्य एउटै हो, सुशासन होस् र विकास होस् । तपाईंहरूका सुझावहरू मैले गम्भीरताका साथ सुनेको छु । समस्याहरू नभएका होइनन् । समस्याहरूमा तपाईंहरूले भनेका कुरामा अहिले अलिक विस्तृतमा जान भ्याइँदैन । तपाईंहरूले भनेका कुरामा सत्यता नभएको होइन, सत्यता छ । समस्या छन् । तर समस्यारहित ढंगले दुनियाँको कुन देश अगाडि बढेको छ ? बेलायत आज शान्त देखिन्छ । अनि त्यहाँको म्याडमटुसाध म्युजियम गएर हेर्नुभयो भने त्यहाँ मान्छे कसरी काटेको थियो ? के गरेको थियो भन्ने त्यो उनीहरूले आफ्नो हिस्ट्री देखाएका छन् । कसरी आएको थियो ? पढ्दाखेरि थाहा हुन्छ, त्यहाँको राजतन्त्र आज सम्मानित छ । टाउको काटेर बार्दलीबाट यसो कपालमा समाएर झुण्ड्याउँदै देखाएको देश पनि त्यही हो नि ! राजतन्त्रको राज...! त्यसकारण हिस्ट्रीमा उतारचढाव हुँदै आएका हुन्छन् । हाम्रोमा ट्रान्जिसनल फेज छ । सबै काम एकैचोटी गर्नुपर्ने भएको हुनाले त्यसले गर्दा अलिकति समस्याहरू देखिएका पनि हुन् । मलाई लाग्छ यो देखिनु स्वाभाविक हो ।

गोसाइँकुण्ड जाँदा झण्डै मरेको !

तपाईंहरू पनि अलिअलि बढ्ता भएकै हो । बढ्ता हुनु स्वाभाविक हो, किनभने लडेर डेमोक्रेसी ल्याइएको छ, लडेर स्वतन्त्रता ल्याइएको छ ! अघि राति नै निस्किएको भनेको होइन, खुशी भएर ? त्यसरी ल्याएको डेमोक्रेसी, त्यसरी ल्याएको फ्रीडम भएपछि त मान्छेले अलिकति इन्जोय त गरिहाल्छ ।

जेलबाट छुट्नेबित्तिकै म १४ वर्ष जेल बसेको मान्छे इन्जोय गर्न गोसाँइकुण्ड गएँ । फ्रीडमको इन्जोय गर्न त्यहाँ गएको, अरूथोक केही होइन । भर्खर जेलबाट छुटेको गोसाँइकुण्ड जाँदा झण्डै मरेको ! १४ वर्ष जेल बसेर कुँजिएको मान्छे गोसाँइकुण्डतिर लागेपछि झण्डै अमरसिंह थापाकोजस्तै हालत नभएको । यो नयाँ डेमोक्रेसीमा पनि यस्ता केहीकेही कुराहरू हुन्छन् । यसलाई हामीले अन्डरस्ट्याण्ड गर्नुपर्छ र मचाहिँ त्यो कुरा अन्डरस्ट्याण्ड गर्छु ।

तपाईंहरूलाई मैले बोलेका कुराहरूले अलि बिझाएको भए त्यसमा क्षमाप्र्रार्थी छु, नबिझाओस् । कहिलेकहिले घरमा पनि यसो ठाकठुक, भनाभन चल्छ नि ! अब हामी उतापट्टि जान्छौं भोजन पनि गर्छौं, एकछिन् सारङ्गीका धूनहरू पनि  सुन्छौं । छोटो प्रस्तुति हुन्छ, सारङ्गीको धुन । धेरै लामो हँुदैन । यससँग अरू धेरै केही मिसिएको छैन । साथीहरूलाई धन्यवाद ! 

(प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २१ गते मंगलवार सम्पादकहरूसँगको अन्तरक्रियामा गरेको सम्बोधनको सम्पादित अंश) 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x