अमेरिकाले सामुद्रिक नाकाबन्दी लगाउनु युद्धको घोषणा गरेसरह : उत्तर कोरिया

मंसिर २५, २०७४

काठमाडौं, २४ मंसिर — उत्तर कोरियाले अमेरिकाद्वारा प्रस्तावित सामुद्रिक नाकाबन्दीको आलोचना गर्दै यो युद्ध घोषणा गरेसरह हुने बताएको छ । 

अमेरिका, दक्षिण कोरिया र जापानले उत्तर कोरियाको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणलाई निगरानी गर्न रकेट ट्य्राकिङ  अभ्यास गरेपछि रोदोङ सिन्मुन पत्रिकामा कडा टिप्पणी आएको छ । 

कोरियाली प्रायद्वीपमा तनाव उच्च विन्दुमा पुगेको छ । अमेरिकाले उत्तर कोरियाविरुद्ध कुनै पनि बेलामा सैन्य कारवाही चलाउन सक्छ वा दुवै पक्षका अभ्यासका बेलामा लडाईं मच्चिन सक्छ भन्ने चिन्ताहरू व्यक्त भएका छन् । 

परम्परागत हतियार धेरै नभएपनि प्योङयाङले यसै वर्ष विकसित हतियारहरू निर्माण गरेको छ जसमा शक्तिशाली आणविक हतियार र अमेरिकालाई आक्रमण गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्रहरू पनि पर्छन् । 

नोभेम्बर महिनामा उत्तरले अहिलेसम्मकै विकसित क्षेप्यास्त्र ह्वासोङ १५ परीक्षण गरेको थियो । यसले अमेरिकामा हल्लीखल्ली मच्चाएको थियो । गृह मन्त्रालयले उत्तरविरुद्ध सामुद्रिक नाकाबन्दीको सम्भावना व्यक्त गरेको थियो ।

‘संयुक्त राष्ट्रसंघका सबै प्रतिबन्धलाई कार्यान्वयन गर्नुका अलावा अन्तर्राष्ट्रिय समुदायले सामुद्रिक सुरक्षाका लागि थप उपाय अपनाउनुपर्छ जसमा उत्तर जाने र उत्तरबाट आउने वस्तुमाथिको नाकाबन्दी पनि पर्छ,’ अमेरिकी गृह मन्त्रालयले एक वक्तव्य जारी गर्दै भन्यो । 

उत्तरले यसमा प्रतिक्रिया दिँदै नाकाबन्दी ‘हाम्रो पवित्र सार्वभौमसत्ता र मर्यादामाथिको क्रूर उल्लंघन र युद्धको सार्वजनिक घोषणा’ भनी लेख्यो ।

एजेन्सी 


ADVERTISEMENT

मंसिर २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस