नेपालमा चीनको हस्तक्षेप बढ्यो, अब भारतले ओलीसँग सम्बन्ध बढाउनुपर्छ : अशोक मेहता [अन्तर्वार्ता]


भारतीय सेनाका अवकाशप्राप्त जनरल अशोक मेहता नेपालको राजनीतिक मामिलामा गहिरो चासो राख्छन् । नेपाली भाषा बोल्नसक्ने मेहता नेपालका विषयमा नियमित कलम चलाउँछन् । भारतको द पायोनियर पत्रिकामा उनका लेखहरू नियमित प्रकाशित हुन्छन् । उनको भनाइ भारतीय संस्थापनको आवाजसँग मिल्दोजुल्दो पाइन्छ । नेपालमा वामपन्थी गठबन्धनले भारी बहुमत पाएको सन्दर्भमा नयाँ बन्ने सरकारसँग भारतले कस्तो व्यवहार गर्ला भनेर लोकान्तरका लागि  अजय अनुरागीले सोमवार साँझ  मेहतासँग टेलिफोन अन्तर्वार्ता गरेका थिए । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश :

नेपालमा भर्खरै सम्पन्न भएको निर्वाचन परिणामलाई तपाईंले कसरी लिनुभएको छ ?
म त त्यो परिणामलाई धेरै राम्रो दृष्टिकोणले हेरिरहेको छु । धेरै लामो समयपछि नेपालमा बहुमतको सरकार बन्नेछ । अब देश राजनीतिक स्थिरतातर्फ अगाडि बढ्नेछ । संविधान निर्माण भइसकेको छ । अब नेपाल आर्थिक उन्नतिको बाटोमा अगाडि बढ्नेछ । जसरी हाम्रो प्रधानमन्त्री मोदीजीले भन्नुहुन्छ नि ‘सबका विकास’, त्यसैगरी नेपाल पनि विकासको बाटोमा अग्रसर हुनेछ । राजनीतिक स्थिरता भएमा मात्र विकास सम्भव हुन्छ । गठबन्धन सरकारको प्रस्ट बहुमत हुन्छ । 

माओवादी र एमालेबीच एकता हुन्छ भने झन् राम्रो हो तर मलाई तिनीहरूबीच अहिले नै पार्टी एकता हुन्छ जस्तो लाग्दैन । तैपनि तिनीहरूबीच गठबन्धन कायमै रहन सक्यो भने त्यो नेपालको लागि पनि धेरै राम्रो कुरा हुनेछ । त्यसले नेपालको उन्नतिका लागि बाटो खोल्नेछ । अर्को कुरा म के भन्न चाहन्छु भने नेपालको संविधानअनुसार पनि सरकारविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव संसदमा लान सकिन्न । त्यसले पनि राजनीतिक स्थिरता कायम रहन मद्दत गर्नेछ अनि देशको आर्थिक उन्नति हुनेछ ।     

तपाईंले माओवादी र एमालेबीच तत्कालै पार्टी एकता सम्भव छैन भन्नुभयो । किन एकता सम्भव छैन तत्कालै ? 
मलाई के लाग्छ भने ती दुई पार्टीहरूबीच सम्झौता भइसकेको भएपनि एकता चाहिँ तत्कालै सम्भव छैन । एकता बिल्कुलै असम्भव छ पनि म भन्दिनँ ।  तिनीहरूबीच पार्टी एकता पनि हुनसक्छ । तर फेरि केही दिन बितेपछि अलग्गिने सम्भावना पनि जीवितै रहेको कुरालाई नकार्न पनि त सकिन्न । 

नेपालमा भारतको प्रभाव बिस्तारै कम हुँदै गएको हो ?  

यो त पूरै दक्षिण एसियामै देखिएको छ । चीन अहिले आफ्नो आर्थिक शक्तिको भरपूर प्रयोग गरिरहेको छ । अपÞm्गÞानिस्तानलाई सामिल गर्दै चीनले दक्षिण एसियाका देशहरूमा आफ्नो प्रभाव बढाइरहेको छ । चाहे त्यो पाकिस्तान, श्रीलंका, बंगलादेश, बर्मा वा नेपाल नै किन नहोस् — त्यहाँ उसले आफ्नो प्रभाव बढाइरहेको छ । भुटानबाहेक अन्यत्र सबैतिर उसको प्रभावशाली उपस्थिति छ । चीनले पहिलेपहिले ‘हामी अरू देशको आन्तरिक मामिलामा कुनै चासो राख्नेछैनौं’ भन्ने गर्थ्यो । तर अब चीन पहिलेजस्तो छैन । चीन १०(१५ वर्ष पहिले ‘नो पोलिटिकल इन्टरफेरेन्स इन् देयर इन्टर्नल अफेयर्स’ भन्थ्यो । तर अब त्यो कुरा छैन । अब हरेक ठाउँमा आफ्नो आर्थिक तागतका कारण उसले हस्तक्षेप गरिरहेको छ । नेपालमा पनि उसको हस्तक्षेप पछिलो समयमा अत्यन्तै बढेको छ ।   

एक जमानामा ओलीजी विदेशमन्त्री हुँदा भारतसँग उहाँको धेरै नै राम्रो सम्बन्ध थियो । पछिल्लो समय नाकाबन्दी भएपछि नेपाली जनतालाई धेरै  नै चोट पुगेको थियो । त्यो चोटको राजनीतिक फाइदा ओलीजीले धेरै राम्रोसँग उठाउनुभयो ।

नेपालमा अब बन्न गइरहेको वामपन्थी दलहरूको नेतृत्वको सरकारसँग भारतको सम्बन्ध कस्तो होला ? 

अहिले बन्न गइरहेको सरकार ‘लेफ्ट अलायन्स’ (वाम गठबन्धन) को हो । त्यो अलायन्सको सोच चीनसँग मिल्दोजुल्दो छ भन्ने कुरामा धेरै मानिसलाई शंका नभएको होइन । तर नेपाली वामहरूको सोच फरक किन पनि छ भने नेपालका लेफ्ट पार्टीहरू ‘डेमोक्रेटिक सोसियलिजम’ (लोकतान्त्रिक समाजवाद) मा विश्वास गर्छन् । चीनको र नेपालका लेफ्ट पार्टीहरूको राजनीति गर्ने तरिकामा नै फरक छ । केही कÞुराहरूमा तिनीहरूबीच समानता पनि हुन सक्छ । तर राजनीति र लोकतन्त्रको कुरा आउँदा उनीहरूबीचको फरक देखिन्छ । 

माओवादी अब मूलधारमा आइसकेको छ । एमाले पनि लोकतान्त्रिक पार्टी नै हो । चाहे त्यो लेफ्ट पार्टी नै किन नहोस् । यो कुरा पनि सत्य हो — नेपालका लेफ्ट पार्टीहरूको प्रभाव चीनसँग मिल्दोजुल्दो हुनसक्छ ।  तपाईंलाई थाहा होला नेपालका निर्माता पृथ्वीनारायण शाहले १७४६ मा भनेका थिए — नेपाल दुई ढुङ्गाबीचको तरुल हो । अनि नेपालले चीन र भारत दुवैलाई सन्तुलन गर्नुपर्छ । पृथ्वीनारायण शाहले भनेका कुरा अहिले पनि त्यत्तिकै सान्दर्भिक छ । केपी ओलीजी प्रधानमन्त्री बन्दै हुनुहुन्छ र त्यसमा अब कसैलाई शंका पनि नहोला । उहाँले भनिसक्नु भएको छ — ‘वी विल फलो अ ब्यालेन्स्ड पोलिसी बिटवीन इन्डिया  एन्ड चाइना’ (हामी भारत र चीनबीच सन्तुलनको नीति अपनाउँछौं) । मलाई लाग्छ, ओलीजीले जे भनिरहनुभएको छ त्यसैगरी विदेशनीति पनि कार्यान्वयन गर्नुहुनेछ । 

अनि भारतले पनि अब नेपाल कम्युनिस्ट देश बन्नेछ, चीनतर्फ बढ़ी बफादार हुनेछ भनी सोच्नु भएन । भारतले अब नेपाललाई बड़ो ध्यानपूर्वक हेर्नुपर्ने हुन्छ । चीनले श्रीलंका, पाकिस्तान, बर्मा, अफगानिस्तान अनि अफ्रिकी देशहरूमा के गरेको छ भनी भारतले हेर्नुपर्छ । नेपाललाई श्रीलंकाको दृष्टिकोणले हेर्नुभएन नि भारतले । अर्को कुरा के हो भने भारत र नेपालबीच लक्ष्मणरेखा पनि छ ।

मलाई लाग्छ, ओलीजीले जे भनिरहनुभएको छ त्यसैगरी विदेशनीति पनि कार्यान्वयन गर्नुहुनेछ ।

नेपाल र  भारतबीचको सम्बन्धमा चीनका लागि केही रेड लाइन्स अर्थात् लक्ष्मणरेखाहरू पनि छन् । चीनले त्यो कुरा स्मरण गर्नु जरूरी छ । चीनले नेपालमा केही हाइड्रो प्रोजेक्ट वा एक्सप्रेसवे वा हाउजिङ प्रोजेक्ट्स लगायत थुप्रै परियोजना लागू गर्न चाहेको छ । चीनले रेल्वे लाइन लुम्बिनीसम्म लग्न चाहेको छ । अन्य थुप्रै कतिपय परियोजनाहरू ऊ लागू गर्न चाहन्छ । त्यो परिस्थितिमा भारतसँग नेपालले अवश्य नै कुरा गर्नुपर्ने हुन्छ । 
दोस्रो कुरा के हो भने नेपालको तराई मधेश क्षेत्रमा  नेपाल र भारतबीच समझौता नै भएको छ । सम्झौताअनुसार, चीनको कुनै पनि परियोजना तराईमा बन्दैन । जस्तै, सन् १९८५ मा पूर्व–पश्चिम कोहलपुर राजमार्ग बन्न लाग्दा  चीनले सबभन्दा कम बोली लगाएको (लोवेस्ट बिडर) थियो । तैपनि राजा वीरेन्द्रले चीनलाई त्यो परियोजना दिएनन् । भारतले मधेशमा चीनको लगानी होस् भन्ने चाहँदैन किनभने चीनको मजदूर सँगसँगै सेना पनि परियोजनामा काम गर्न आउने गर्छ । चिनियाँ सेना र नेपाली सेनाबीच साटासाट भयो भने वा सेनाको संख्या बढ्यो भने भारतले त्यसको विरोध गर्नेछ ।  

नेपालले भारतमा थुप्रै नेपाली सैनिकहरू कार्यरत छन् भन्ने बुझ्नुपर्छ । त्यसैले नेपाली सेना र चिनियाँ सेनाबीचमा बड़ो सावधानीपूर्वक सम्बन्ध स्थापित हुनुपर्दछ । त्यसको कुनै पनि नकारात्मक असर भारतलाई नपरोस् भनी सचेत हुनुपर्छ । चीन नेपालको तराईसँग सम्पर्क (कनेक्टिभिटी) को बहानामा आफ्नो क्रियाकलाप (एक्टिभिटी) गर्न चाहन्छ ।  त्यसैले नेपालमा बन्ने नयाँ सरकारले यी कुराहरूमाथि अवश्य नै सोचविचार गर्नेछ । सन् १९५० को शान्ति तथा मैत्री सम्झौता अझै पनि कायम छ । दुवै देशले यो कुरा बिर्सनुहुँदैन । केपी ओलीजी प्रधानमन्त्री भएको बेलामा चीनसँग  १० वटा सम्झौता गर्नुभएको थियो, त्यसैले स्वाभाविक रूपमा भारतमा पनि के भावना छ भने ओलीजीले  चीनतर्फ  बढ़ी झुकाव राख्नुहुनेछ । चीनसँग वहाँले भारतको स्वार्थ र सुरक्षाको सरोकारमाथि प्रश्न उठ्नेगरी सम्झौता गर्नुहुँदैन ।  

विगतमा भारतसँग ओलीजीको सम्बन्ध तिक्ततापूर्ण रह्यो । के अब सम्बन्धमा सुधार आउला  ? 

अवश्य नै सुधार आउँछ । उहाँले नेपालमा सरकार बनाउनुहुनेछ । ओलीजी नेपालको प्रधानमन्त्री बन्नुहुनेछ । कमसेकम दुईदेखि पूरै पाँच वर्षका लागि प्रधानमन्त्री उहाँ नै रहनुहुनेछ । नेपालको जनताले वाम गठबन्धनलाई भोट दिएका छन् । लेफ्ट अलायन्सको प्रधानमन्त्री केपी ओली नै हो ।  एक जमानामा ओलीजी विदेशमन्त्री हुँदा भारतसँग उहाँको धेरै नै राम्रो सम्बन्ध थियो । पछिल्लो समय नाकाबन्दी भएपछि नेपाली जनतालाई धेरै  नै चोट पुगेको थियो । त्यो चोटको राजनीतिक फाइदा ओलीजीले धेरै राम्रोसँग उठाउनुभयो । नाकाबन्दीकै कारण उहाँ आफ्नो देशमा राष्ट्रवादी नेताको रूपमा उदाउन सफल हुनुभएको हो । 

उहाँलाई नेपाली जनताले पत्याएका छन् । नाकाबन्दीबाट यदि कसैलाई फाइदा पुगेको छ भने त्यो ओलीजीलाई मात्र हो । नाकाबन्दीकै कारण उहाँको नजर चीनतर्फ पुग्यो । नाकाबन्दी नभइदिएको भए शायद उहाँले चीनसँग ती सम्झौताहरू नै गर्नुहुन्थेन  । उहाँले केही सम्झौता नाकाबन्दीको दबाबका कारण गर्नुभयो भने केही सम्झौता भारतलाई सन्तुलनमा राख्नका लागि गर्नुभयो । यो त राजनीतिको तरिका नै हो । त्यो त पृथ्वीनारायण शाहले  सिकाएको तरिका नै हो  ।  

तर अब उहाँले दुई छिमेकीबीच सन्तुलन कायम राख्छु भनिसक्नुभएको छ  । त्यसैले अब सम्बन्ध सुध्रिन्छ ।  उहाँ प्रधानमन्त्रीको रूपमा भारतको भ्रमणमा आउनुभएको बेलामा थियो मैले उहाँलाई सोधेको पनि थिएँ — भारतसँग तपाईंको सम्बन्ध कस्तो छ ? अनि उहाँले मलाई भन्नुभएको थियो — केही असमझदारी मात्र भएको हो । त्यो असमझदारी हामीले हटाइसकेका छौं । तर मलाई त्यो असमझदारी अझै पनि छँदैछ जस्तो लाग्छ । तर कÞुराकानीको माध्यमले त्यो हट्नसक्छ । 

भारतबाट अलिकति गल्ती त भएकै हो । भारतले संविधानलाई जसरी स्वागत गर्नुपर्ने थियो, त्यो नगरेर गल्ती गरेकै हो ।

मलाई लाग्छ, उहाँले नेपाल र भारतबीचको सम्बन्धलाई राम्ररी बुझ्नुभएको छ । नेपाल र भारतबीच खुला सिमाना छ, १९५० को सन्धि छ, हाम्रो इतिहास, भूगोल, रोटीबेटीको सम्बन्धको तुलना चीनले कहिल्यै पनि गर्न सक्दैन । त्यसैले भारत आफ्नो ठाउँमा छ, चीन आफ्नो ठाउँमा छ । त्यो कुरालाई ओलीजीले राम्रो तरिकाले बुझ्नुभएको छ । 

भारतको नेपाल नीति फेल खायो भनेर यहाँ टिप्पणी हुन्छ । के भारतले नेपाल नीतिमा समीक्षा गर्ला त ? 

भारतबाट अलिकति गल्ती त भएकै हो । भारतले संविधानलाई जसरी स्वागत गर्नुपर्ने थियो, त्यो नगरेर गल्ती गरेकै हो । त्यसको ठाउँमा भारतले खासगरी मधेशी समुदायको आधारभूत अधिकारहरू संविधानमा समेटेर समावेशी संविधान बनाओ भनेर  भनेको हो । भारतले त्यसैको प्रचार गर्ने कोशिश ग–यो । भारतको भनाइ ठीक थियो तर तरिका एकदमै गलत थियो । नाकाबन्दी नगर्नुपर्ने थियो । भारतको कूटनीति त्यहाँ फेल भएकै हो । 
नाकाबन्दीका कारण नेपाली जनताले जे झेल्नुप–यो, त्यो कुराले नेपालमा भारतविरोधी भावना बढ्यो । त्यसले गर्दा आज ओलीजीको पक्षमा बहुमत आएको छ । मलाई लाग्छ, त्यसपछि भारतले संविधानको विषयमा धेरै कुरा भनेको छैन । समावेशी बनाऊ मात्र भनेको हो । संविधान संशोधनको विषय संसदमा लगिएको पनि थियो तर ओलीजीको विरोधका कारण पारित हुनसकेन  । 

के संविधान संशोधनको विषय अब सकियो ?

त्यो मुद्दा त रहिरहन्छ । ओलीजीले अहिले तत्कालै संशोधन नगरेपनि पछि त गर्नैपर्छ किनभने लेफ्ट अलायन्समा प्रचण्डजी पनि हुनुहुन्छ । उहाँले संशोधन प्रस्तावलाई समर्थन गर्नुभएको छ । केही वर्षपछि भएपनि संशोधन त गर्नैपर्छ ।
 

पुस ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस