प्रहरीभित्र बेथिती– रिझाउन जान्ने मालामाल, खटिरहने गुमनाम

माघ २६, २०७४

प्रहरी प्रधान कार्यालयबाट पाँच मिनेटको दुरीमा रहेको राजधानीको मुटु दरबारमार्गमा प्रहरी अधिकारीहरुको मिलेमतोमा ढाकछोप गरिएको बलात्कारको घटना यतिबेला चर्चामा छ । काठमाडौँ परिसरका प्रहरी उपरीक्षक एसपी रामदत्त जोशीको नेतृत्वमा गठित कार्यदलले दरबारमार्ग वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी तिलक भारती, निरीक्षक लक्ष्मणसिंह ठकुरी र नायव निरीक्षक चन्द्र भण्डारीलाई दोषी ठहर गरी किटानी प्रतिवेदन तयार पारेको छ । तीनजनामध्ये भारतीलाई कारवाहीबिना सरुवा मात्र गरिएको छ भने दुईजना निलम्बनमा परेका छन् । 

यही बेलामा सुनसरीमा पनि बलात्कार ढाकछोप गर्न प्रहरी अधिकारी सम्बद्ध भएको समाचार सार्वजनिक भएको छ । त्यहाँका एसपी विद्यानन्द माझीलाई प्रहरी नेतृत्वले गृहमन्त्रालयमार्फत निलम्बन गरेको छ र घटनाको बाँकी छानबिन अघि बढाएको छ ।

प्रहरीका हाकिमहरु जब एकपछि अर्को गर्दै अख्तियारमा बयान दिन जानुपर्छ, अदालतबाट दोषी ठहर भएर जेल जान्छन्, अनि तल्ला तहका प्रहरीहरुको मनोबल कसरी उँचो हुन्छ ?

यी दुई घटना नेपाल प्रहरीको अनुहारमा कालो पोतिएका हालैका उदाहरण हुन् । तर, सुखद् कुरा के छ भने यससम्बन्धी समाचार सार्वजनिक हुनासाथ प्रहरी नेतृत्वले तदारुकताका साथ छानबिन अघि बढायो र आफ्ना कर्मचारीमाथि कारवाही गर्यो । यसबाट प्रहरीको छविमा लागेको कालो दाग केही मात्रामा भए पनि फिक्का भएको छ ।

जनतााको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएका कारण मानिसहरु प्रहरीका बारेमा धेरै कुरा जान्दछन् । त्यही भए पनि प्रहरीमा हुने साना कुराको पनि अरुभन्दा बढी चर्चा हुने गर्दछ । 

गृहमन्त्रालयको सचिव को छ भन्नेबारेमा मतलव हुँदैन तर फलानो वृत्तमा को डीएस्पीको सरुवा हुँदैछ, कोको दौडमा छन् वा कुन जिल्लामा को प्रहरी अधिकारी जाँदैछ भन्ने समाचारको विषय बन्दछ । त्यही भएर पनि होला, बेलाबेलामा प्रहरीको अधिक आलोचना पनि हुने गर्दछ । 

छिटो बढुवा, आकर्षक ठाउँमा सरुवा, विदेश मिसन जस्ता अवसरका लागि कुनै न कुनै नेताको दैलो नधाएको प्रहरी अधिकारी विरलै भेटिएला । जब तपाईंले कसैलाई एउटा काम लगाउनुहुन्छ, बदलामा तपाईंसँग उसले प्रतिदान मागिरहन्छ

राजनीतिक नेतृत्वले प्रहरीको दुरुपयोग गर्यो, प्रहरीमा अति राजनीतिकरण भयो भन्ने जस्ता कुरा सतहमा सुनिन्छन् । यसमा पनि असत्यता छैन । तर, मुख्य कुरा प्रहरी कस्तो बनाउने र कसरी चलाउने भन्ने कुरा प्रहरी नेतृत्वमा निर्भर हुन्छ । 

प्रहरीका लागि ऐन छन्, नियम छन्, नियवाली छन् । ती सबैलाई पन्छाएर जब प्रहरी नेतृत्वले कुनै अमूक नेता वा शक्ति केन्द्रले भन्नासाथ हस हजुर जयनेपाल भन्छ, तब उसले प्रहरी संगठनको मनोबल उठाउन सक्दैन । कानूनले दिएको अधिकार प्रयोग गर्ने र चेन अफ कमान्डका आधारमा मात्रै आदेश मान्ने परिपाटी लागू गर्नासाथ कसैले चाहेर पनि प्रहरीमा हस्तक्षेप गर्न सक्दैन । कतिपय निर्णयमा यसअघिका प्रहरी अधिकारीहरुले त्यस्तो उदाहरण देखाएका छन् । 

तर त्यस्तो गर्न सक्ने नैतिक बल थोरै प्रहरी अधिकारीमा छ । किनभने, छिटो बढुवा, आकर्षक ठाउँमा सरुवा, विदेश मिसन जस्ता अवसरका लागि कुनै न कुनै नेताको दैलो नधाएको प्रहरी अधिकारी विरलै भेटिएला । जब तपाईंले कसैलाई एउटा काम लगाउनुहुन्छ, बदलामा तपाईंसँग उसले प्रतिदान मागिरहन्छ ।

प्रहरीमा सरुवा, बढुवा र अवसरहरुको वितरणमा न्याय छैन । शक्ति केन्द्र धाउनेहरुले आकर्षक मानिने ठाउँ रोजीरोजी पाउँछन् भने त्यहाँसम्म पहुँच नभएकाहरुले दुःखैदुःख झेलेर अवकाश लिनुपर्छ । उदाहरणका लागि काठमाडौँभित्र र अरु केही छानिएका आकर्षक ठाउँमा पोस्टिंग पाउने प्रहरी अधिकारीहरुको विवरण हेर्दा हुन्छ । ती नामहरु संकलन गर्दा ५० को संख्या नाघ्दैन । 

दुई वर्षअघि विमानस्थलमा बसेको प्रहरी अधिकारी दुई वर्षपछि बौद्ध, स्वयम्भु, दरबारमार्ग, सातदोबाटो, थानकोट, कोटेश्वर कतै यतै पोस्टिंग हुन्छ । अनि रुमुकको दुर्गम चौकीमा काम गरिरहेको चाहिँ रोल्पा वा प्युठानको अर्को त्यस्तै ठाउँमा लखेटिन्छ । जबसम्म प्रहरीमा यस्तो प्रचलनको अन्त्य हुँदैन, तबसम्म कुनै प्रहरी पनि आफ्नो भविष्यप्रति आश्वस्त हुन सक्दैन । 

हालै सुर्खेतमा भेटिएका एक मध्यम तहका प्रहरी अधिकृतले आफ्नो यस्तै पीडा सुनाए । वर्षौंदेखि फिल्डमा खटिएका उनीहरु जस्तो पालो आउँदैन, जो प्रहरी प्रधान कार्यालयमा बस्छन्, हाकिम रिझाउँछन्, उनीहरुले पटकपटक विदेश जाने मौका पाउँछन् । जब कुनै तालिम आउँछ, तिनै जान्छन्, कुनै राम्रो ठाउँमा पोस्टिंग हुन्छ, तिनैले मौका पाउँछन् । 

अनि जब बढुवाको बेला आउँछ, स्वाभाविक रुपमा तिनीहरुको नम्बर बढी आउँछ । विदेशमा तालिम लिन पाउँदा व्यक्तिगत क्षमता पनि उनीहरुकै बढी हुन्छ । नेपाल प्रहरीमा यो विडम्बना छ । भावी आइजी कसलाई बनाउने भनेर प्रहरी निरीक्षक हुनेबेलादेखि खेल सुरु हुने प्रहरी अधिकारीहरुकै अनुभव छ । 

तिकडम गरेर होइन, काम गरेर स्वतः नेतृत्वमा पुग्ने परिपाटी बसाल्नुपर्छ । अनि मात्र प्रहरी अधिकारीहरु नेताको घर धाउन छाड्छन् र प्रहरीमा स्वतः सुधार हुन्छ

प्रहरी नेतृत्व कमजोर हुँदा समग्र संगठनकै मनोबल कमजोर हुन्छ । प्रहरीका हाकिमहरु जब एकपछि अर्को गर्दै अख्तियारमा बयान दिन जानुपर्छ, अदालतबाट दोषी ठहर भएर जेल जान्छन्, अनि तल्ला तहका प्रहरीहरुको मनोबल कसरी उँचो हुन्छ ? संगठन कस्तो बनाउने भन्ने कुरा धेरै हदसम्म नेतृत्वमा भर पर्दछ । 

जब प्रहरीको नेतृत्व परिवर्तनको बेला आउँछ, यो देशमा सत्ता परिवर्तन हुन लागे जस्तो कम्पन सुरु हुन्छ । शक्ति केन्द्र धाउनेदेखि अदालतलाई प्रयोग गर्नेसम्मका खेल चल्छन् । त्यसलाई हेरिरहेका प्रहरीहरु कुन मनोबलले आफ्ना हाकिमप्रति श्रद्धाभाव राख्न सक्छन् ? केही समयअघि आइजी प्रकरणमा देखा परेको अस्वस्थ खेलले समग्र प्रहरी संगठनलाई निकै घाटा पुर्याएको छ । 

फेरि पनि प्रहरीमा सुधार गर्ने र यसलाई प्रभावकारी बनाउने काम प्रहरी नेतृत्वकै हो । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बलात्कारका घटनामा छानबिन गर्ने र दोषीलाई प्रारम्भमै निलम्बन गरेर राम्रो काम गरेका छन् । यसबाट आगामी दिनमा अरु यस्ता घटनामा संलग्न हुनबाट प्रहरीलाई सचेत गराउनेछ । यस्तो काममा कुनै पनि मोलाहिजा नमानी कारवाही गर्दा प्रहरीलाई धेरै मात्रामा व्यावसायिक बनाउन सकिन्छ । माथिबाट संरक्षण हुने होइन र यसैगरी कारवाही हुने हो भने हम्मेसी त्यस्तो गर्ने हिम्मत कुनै प्रहरीमा आउने छैन । 

आज मुलुकमा मुख्य संस्थाहरु अविश्वसनीय बन्दै गएका छन्, उनीहरुमाथि जनविश्वासमा निरन्तर ह्रास आइरहेको छ । अदालतबाट के निर्णय आउँछ, मानिसहरु न्यायाधीशका अनुहार हेरेर सहजै अनुमान गर्न सक्छन् ।

निर्वाचन आयोगले के गर्छ ? कर्मचारीमा कसले बाजी मार्न सक्छ ? मानिसहरु त्यसमा कस्ता मान्छे छन् भन्ने आधारमा फ्याट्ट भन्न सक्छन् । यसमा प्रहरी त झन् अघि छ । अरुले हस्तक्षेप गरेर यस्तो भयो भन्ने होइन, आफैँ त्यो वातावरण बन्न नदिने काम प्रहरी नेतृत्वले गर्नुपर्छ । तिकडम गरेर होइन, काम गरेर स्वतः नेतृत्वमा पुग्ने परिपाटी बसाल्नुपर्छ । अनि मात्र प्रहरी अधिकारीहरु नेताको घर धाउन छाड्छन् र प्रहरीमा स्वतः सुधार हुन्छ । 
 

माघ २६, २०७४ मा प्रकाशित

विष्णु रिजाल

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल लोकान्तर डट् कमका नियमित स्तम्भकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस