‘विमानस्थलमा आगो बलेको थियो, मानिसहरू बचाऊ बचाऊ भनिरहेका थिए’

जेफ्री गेटलम्यान (ह्यामिल्टन स्पेक्टेटर)

काठमाडौं, २९ फागुन — सोमवार भएको विमान दुर्घटनापछि विमानस्थलमा धूँवाका काला मुस्लाहरू उडे अनि उद्धारकहरूले कुच्चिएको विमानबाट सक्नेजति मानिसलाई बाहिर निकाले । 

‘नेपालीहरू बचाऊ बचाऊ भनिरहेका थिए,’ सैन्य उद्धारक बालकृष्ण उपाध्यायले भने । ‘बंगलादेशीहरू चाहिँ अंग्रेजीमा सहयोग गर, सहयोग गर भन्दैथिए । त्यो डरलाग्दो स्थिति थियो ।’

म त्यतिखेर काठमाडौंमै थिएँ तर घटनास्थलबाट तीन माइल जति पर थिएँ । आप्रवाससम्बन्धी एउटा स्टोरीको रिपोर्टिङ गरिरहेको थिएँ । विमान दुर्घटना भएपछि म विमानस्थलतिर दौडिएँ । विमानस्थलको गेटबाहिर हामीहरू ग्राभेलको
एउटा ढिस्कोमा चढ्यौं अनि आगो बलिरहेको विमानमा दमकलले पानी हालिरहेको हेर्न थाल्यौं ।

एक अग्निनियन्त्रकले हामीलाई अनि केही नेपाली फोटो पत्रकारलाई आफ्नो पिकअप ट्रकमा चढ्न लगाए र हामी दुर्घटनास्थलतर्फ गयौं । प्लास्टिक डढेको जस्तो गन्ध आइरहेको थियो, एकदमै विषालु । 

घाँस पूरै दबेको अनि कालो भएको थियो । च्यातिएका कागज, टुक्राटुक्रा भएका सीट, कच्याककुचुक परेको फोम छरिएका थिए । एउटा वाटर बोटल त्यत्तिकै मिल्किरहेको थियो । पुच्छरसहित विमानका केही ठूला टुक्राहरू चाहिँ
साबुतै थिए र धूँवा आइरहेको थियो । तर अन्य भाग पूरै जलेका थिए । 

डढेको घाँसमा पहेंला बडी ब्याग (लाश राख्ने बोरा) को लामै लश्कर थियो । 

यूएस–बंगला एयरलाइन्स फ्लाइट २११ विमानस्थलमा सबा २ बजे दुर्घटनाग्रस्त भएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार, त्यो हावामै हल्लिरहेको थियो र अवतरण गर्ने क्रममा असन्तुलित देखिन्थ्यो । 

विमानस्थल कर्मचारीहरूसँग हामीले कुराकानी गर्दा उनीहरूले विमान धावनमार्गबाट १५० फीट पर हुत्तिएको थियो अनि विमानस्थलको पर्खालबाहिरको सुनसान मैदानमा त्यसको नाक बज्रिएको थियो । केही मिनेटभित्रै
उद्धारकहरूको पहिलो टोलीले आत्तिएका यात्रुहरूलाई विमानको अघिल्लो भागबाट निकालिरहँदा पछिल्लो भागमा भयंकर आगो बलेको थियो ।

फागुन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस