इंग्लिश प्रिमियर लिग : म्यान्चेस्टर सिटीको नयाँ कीर्तिमान, पछि पर्‍यो चेल्सी

बैशाख २७, २०७५

काठमाडौं, २७ वैशाख– इंग्लिश प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलबाट म्यान्चेस्टर सिटीले नयाँ कीर्तिमान बनाएको छ । खेलमा ब्राईटनलाई ३–१ गोलले हराउँदै लिग च्याम्पियन सिटीले प्रिमियर लिग फुटबलको एकै सिजनमा सर्वाधिक अंक जोड्ने कीर्तिमान बनाएको हो । 

यसअघि सर्वाधिक अंकको कीर्तिमान चेल्सीको नाममा थियो । जोजे मौरिन्हो प्रशिक्षक हुँदा चेल्सीले २००४–०५ को सिजनमा जोडेको ९५ अंक प्रिमियर लिगको सर्वाधिक अंक थियो । तर, अहिलेको सिजनमा एक खेल बाँकी छँदा नै सिटीले ९७ अंक पुर्याेएको छ ।

गएरातिको जितसँगै सिटीले एकै सिजनमा सर्वाधिक १०४ गोल गर्ने कीर्तिमानसमेत राखेको छ । 

गएराति भएको अर्को खेल जित्दै टोटनह्याम हट्सपरले अंक तालिकाको शीर्ष चारभित्र रहेर लिग सकाउने निश्चित भएको छ । लण्डन क्लव टोटनह्यामले गएराति न्युकासल युनाईटेडलाई १–० ले हरायो ।

गएराति भएको अर्को खेलमा चेल्सीले हडर्स्फिल्ड टाउनसँग १–१ गोलको बराबरी खेलेपछि टोटनह्यामले शीर्ष चारमा पर्ने निश्चित गरेको हो । प्रिमियर लिगकै अर्को खेलमा आर्सनललाई लेष्टर सिटीले ३–१ ले हराएको छ ।
प्रिमियर लिग फुटबलमा आज राति वेष्ट ह्याम युनाईटेड र म्यान्चेस्टर युनाईटेड भिड्नेछन् ।

बैशाख २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार