भाजपाले ग–यो कीर्ति आजादको ट्वीटको निन्दा

जेठ १, २०७५

काठमाडौं, १ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरिरहेको बेलामा आपत्तिजनक ट्वीट गर्ने कीर्ति आजादलाई भारतीय जनता पार्टी (भाजपा) ले निन्दा गरेको छ । 

भाजपाका महासचिव तथा परराष्ट्र विभाग प्रभारी विजय चौथइवालेले एक ट्वीटमार्फत आजादको ट्वीटको निन्दा गरेका हुन् ।

ट्वीटमा उनी लेख्छन्, ‘कीर्ति आजादलाई धेरैपहिले पार्टीबाट निष्काशन गरिसकिएको हो । भाजपा नेपालको भौगोलिक अखण्डताको पक्षमा छ । हामी कीर्ति आजादको यो बदमासीपूर्ण ट्वीटलाई कडा शब्दमा निन्दा गर्छौं ।’

ट्वीटमा उनले कीर्ति आजादलाई मेन्सन समेत गरेका छन् ।

मोदीले जनकपुर भ्रमण गरेको दिन शनिवार आजादले उनलाई र भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारलाई मेन्सन गर्दै जनकपुर र मिथिला क्षेत्रलाई भारतमा गाभ्नुपर्ने भनी आपत्तिजनक ट्वीट गरेका थिए ।

उनको ट्वीटको नेपालमा कडा भर्त्सना गरिएको थियो । मोदीसँगको भेटमा नेपालका नेताहरूले यो ट्वीटको प्रसंग उल्लेख गरेका थिए । 
 


जेठ १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार