संसदमा दिनहुँ उठ्छ ट्राफिक जामको कुरा, सांसदले दिए काठमाडौंको जाम हटाउने उपाय

काठमाडौं, २ जेठ–काठमाडौं उपत्यकाको सवारी अस्तव्यस्तता (ट्रफिक जाम)ले सर्वसाधारण मात्र होइन, सांसदहरू समेत प्रभावित छन् । संसदको विशेष समयमा प्रत्येक दिनजसो काठमाडौं उपत्यकाको ट्रफिक जामको कुरा उठ्ने गरेको छ ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा पनि नेमकिपाका सांसद प्रेम सुवालले काठमाडौं उपत्यकाको ट्रफिक जाम हटाउनुपर्ने भन्दै सुझाव पेश गरेका हुन् । ‘काठमाडौं उपत्यकामा सडक जामको समस्या समाधानका लागि बिहान ८ बजे देखि ११ सम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म माल सामान बोक्ने ठूला गाडि रोके लाखौं मानिस सहजै गन्तव्यमा पुग्ने थिए,’ उनले भने ।

सांसद सुवालले यसअघि पनि काठमाडौंको सवारी व्यवस्थापनको विषयमा आवाज उठाउँदै आएका थिए । ‘डेढ घण्टामा परिकर्मा गर्न सकिने चक्रपथमा अहिले ३ घण्टाभन्दा बढी समय लाग्छ । यसले इन्धनमा लाखौ रुपैयाँ खर्च भएको छ,’ उनले भने । 

नेकपा एमालेका महेश बस्नेत लगायतका सांसदहरूले पनि संसदमा सवारी जामको विषयमा कुरा उठाएका थिए । कार्यालय समयमा कोटेश्वरको जाम ठिमीसम्म पुग्ने गरेको भन्दै यसको व्यवस्थापन गर्न संसदमा आवाज उठ्ने गरेको हो ।

कार्यालय समयमा हुने सवारी जामले सर्वसाधारणलाई सास्ती पुग्ने गरेको छ । 
 

जेठ २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस