राजाको निरंकुशता अन्त्य भएपनि व्यक्ति निरंकुश बन्ने खतरा कायम छ : शेखर कोइराला [अन्तर्वार्ता]

नेपालमा गणतन्त्र स्थापनाका लागि भएको जनआन्दोलनका नेतृत्वकर्ता नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाका निकटवर्ती थिए, कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला । २०६५ साल जेठ १५ गते संविधानसभाबाट गणतन्त्र घोषणाका क्रममा भएका औपचारिक अनौपचारिक वार्तामा सहभागीमध्येका एक हुन् । गणतन्त्र स्थापनाको एक दशक पूरा भएको समयमा लोकान्तरका प्रदेश नम्बर १ का प्रतिनिधिले कोइरालासँग सोमबार विराटनगरमा कुरा गरेका थिए । गणतन्त्रको सेरोफेरो र पार्टीको आन्तरिक राजनीतिका विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश :

गणतन्त्र स्थापनाको ११ वर्षे अवधिलाई कसरी समीक्षा गर्नुभएको छ ?

नौलो अनुभव त भयो । मैले हेर्दा, हामी त संवैधानिक राजतन्त्रमा हुर्केका हौं । पहिला निरंकुश राजतन्त्र पनि हेरियो । त्यसपछि संवैधानिक राजतन्त्र पनि हेर्यौं । पछिल्लो समय हामी गणतन्त्रमा प्रवेश गरेको पनि ११ वर्ष लागिसकेको छ । यसरी हेर्दा मानिसहरूको स्वाभाव नै गणतान्त्रिक हुन्छ । त्यो हिसाबले ठीकै लागेको छ । तर गणतन्त्र आउनेभन्दा पनि हामी लोकतान्त्रिक मार्गमा हिँड्न सक्यौं कि सकेनौं भन्ने कुरा मुख्य हो । गणतन्त्र त आयो तर, लोकतन्त्र कत्तिको दिगो बनाउन सक्यौं भन्ने कुरा हो । त्यसमा धेरै कुरा भर पर्छ ।

हामीले बाटो बिरायौं भन्न खोज्नुभएको हो ?

राजाको निरंकुशता त अन्त्य गर्‍यौं, तर अब व्यक्तिको निरंकुशता खेप्नुपर्‍यो भने त राम्रो भएन नि ! गणतन्त्रको त कुनै माने भएन नि !

व्यक्तिको निरंकुशता भनेर के बुझ्ने ?

व्यक्ति भनेको अहिलेको सरकार पनि हो । वर्तमान  सरकार कसरी अघि बढ्छ, राज्य कसरी सञ्चालन गर्छ, ऊ अधिनायकवादतर्फ गयो भने के गर्ने ? या अब आउने सरकारहरू पनि निरंकुशतातर्फ जानु भएन । संविधानलाई अक्षरंशः पालना गर्दै लोकतान्त्रिक मार्गमा हिँड्न सक्नुपर्छ ।

गणतन्त्रप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

धेरै मिडिया हेरिरहेको, पढिरहेको छु, मिडियामा आएको जस्तो होइन । तर यसो भन्दैमा हामीले केही प्राप्ति नै गरेनौं भन्ने पनि होइन । हामीले केही प्राप्ति पनि गरेका छौं । लोकतान्त्रिक गणतन्त्रमा राम्रा कुराहरू हाँसिल गरेका छौ । तिनीहरूलाई कसरी हामी अघि बढाएर लग्ने, अझ दिगो कसरी बनाउने ? लोकतन्त्र दिगो भयो भने गणतन्त्र दिगो हुन्छ, होइन भने अप्ठ्यारो पर्छ ।

गणतन्त्रलाई दिगो बनाउन त कांग्रेसको पनि भूमिका होला, तर चुनावमा तपाईंहरू नै कमजोर देखिनुभयो नि !

हो, नेपाली कांग्रेसको संसदमा भूमिका कमजोर देखिरहेको छु । सातै प्रदेशमा उपस्थिति छैन । संसदमा पनि कमजोर छौं भन्ने कुरा आउँछ । म त्यसरी हेर्दिनँ । संख्यामा हामी कमजोर छौं । तर हामीले संसदमा खेल्ने भूमिकाले लोकतन्त्रलाई मजबुत बनाउँछ कि बनाउँदैन भन्ने कुरा हो । तर त्यसले खासै अप्ठ्यारो पारेको जस्तो लाग्दैन । जुन हिजो नीति तथा कार्यक्रम पारित भयो, हामी किंकर्तव्य बिमुढजस्तो भयौं । न हामीले सहयोग गर्‍यौं, न विरोध गर्‍यौं । कुनै भूमिका खेल्न सकेनौं । यो नेपालको लोकतान्त्रिक इतिहासमा प्रतिपक्षले कुनैपनि भूमिका खेल्न नसक्नु नेपाली कांग्रेसको कमजोरी हो । नेपाली कांग्रेसको सभापति र त्यत्रा सांसदहरूले समर्थन र विरोध गर्नुभएन  । तर नेपाली कांग्रेसले विरोध गर्नुपथ्र्यो । कांग्रेसले भोटिङको बेलामा आफ्नो भूमिका देखाउन सक्नुपथ्र्यो । त्यो भूमिका देखाउन सकेन । कांग्रेसको त्यो कमजोरी हो । कमजोरी हो भनेर बोलिरहँदा पनि त्यही कुरा संसदमा देखाउन नसकेको र कमजोर मनस्थितिको नेपाली कांगे्रेस देखिइराखेको छ । त्यो राम्रो होइन लोकतन्त्रको लागि ।

कांग्रेस भनेकै कोइराला, कोइराला भनेकै कांग्रेस भन्नेजस्तो अवस्था थियो । अहिले पार्टीमा कोइराला परिवारको उपस्थिति कमजोर भएको हो ?

त्यो पनि होइन । त्यसरी बुझ्न हुँदैन । कुनै कालखण्डमा कोही कमजोर हुन्छ, कोही बलियो हुन्छ । तर म कोइराला परिवारको मात्र कुरा गरिरहेको छैन । नेपाली कांग्रेस विधान र सहमतिसम्मत हिँडेको छैन । विधान र सहमतिसँग हिँड्न थाल्यो भने त भइहाल्यो नि । संसदमा उपस्थिति बलियो छैन । नीति तथा कार्यक्रमलाई कागजको खोस्टा, कागजको पुलिन्दा भन्दाभन्दै पनि विपक्षमा भोट हाल्न सकेको छैन । नेपाली कांग्रेस एकदमै कमजोर अवस्थामा छ  ।

कांग्रेस कमजोर अवस्थामा कसरी आइपुग्यो ?

त्यसको जिम्मेवारी सबै नेतृत्व वर्गले लिनुपर्छ । त्यसको जिम्मेवारी मैले पनि लिन्छु, केन्द्रीय सदस्यको हैसियतमा । तर माथिका पोष्टमा हुनेले बढी जिम्मेवारी लिनुपर्छ, त्यति त हो ।

गणतन्त्र कार्यान्वयनमा जाने क्रममा तपाईं आफैं कांग्रेस कमजोर भयो भनेर स्वीकार गर्नुहुन्छ, अबको हिँड्ने बाटो के हो त ?

यसमा दुईवटा कुरा छ । अब नेपाली कांग्रेसले आफ्नो घर ठीक राख्नुपर्‍यो । आफ्नो घर ठीक राख्नका निम्ति जिल्ला सभापतिहरूको बैठक साउनको पहिलो हप्ता भन्या छ । त्यसपछि महासमिति बैठकले विधान संशोधन गर्ने भनेको छ । त्यसपछि  महाधिवेशनमुखी नेपाली कांग्रेस अघि बढ्यो भने एउटा गति लिन्छ र एउटा दिशामा अघि बढ्छ । यस बीचमा नेपाली कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउनका लागि हरेक विषयमा बोलेर मात्र होइन जनताले देख्ने गरी काम गरेर देखाउनुपर्छ । लोकतान्त्रिक इतिहासमा पहिलोपटक प्रतिपक्ष मौन बसेर नीति तथा कार्यक्रममा समर्थन गरेको छ ।

डा. कोइरालाले मात्र यस्ता कुरा किन गर्दैछन् ?

तपाईं कति बोल्या भनेर धेरैले सोध्छन् । तर मलाई मेरो  आफ्नो चिन्ता छैन । एउटै मात्र चिन्ता नेपाली कांग्रेसलाई भोलिका लागि बलियो बनाउनु हो । जो सुकै आउनुहोस्, नेपाली कांग्रेस लोकतन्त्रका लागि पहरेदारको काम गरोस्, त्यति मात्र हो मेरो चिन्ता । पहिला कुराबाट पाठ सिक्नुपर्‍यो र गल्ती गर्दिनँ भनेर अघि बढ्नुपर्‍यो । गल्ती कमजोरीलाई स्वीकार गर्नुपर्‍यो । हामीलाई एमाले र माओवादीले मात्र हराएको होइन, संगठनभित्रको संगठन कमजोर भएर यो अवस्था आएको हो । कमजोर भएको कुरा स्वीकार गर्नुपर्‍यो, त्यो खोजी तत्काल शुरु भइहाल्छ ।

पार्टीभित्र शक्ति सन्तुलन व्यवस्थापन गर्न नसकिएको भनिन्छ नि !

एउटा कुरा के बुझ्नुपर्‍यो भने हामी सामूहिक नेतृत्वको बाटोमा हिँड्दैछौं । तर सामूहिक नेतृत्व जति भने पनि  प्रेसिडेन्ट इज प्रेसिडेन्ट । सभापतिलाई त स्वीकार गर्नैपर्छ, पार्टीको सभापति भनेर ।  

त्यसो भए त सभापतिको विरोध किन ?

गलत कुराको विरोध गर्न त पाइन्छ नि ! हिजोको नीति तथा कार्यक्रमको विरोध पनि गरिनँ भने त कांगे्रस कसरी चल्छ ? एमाले र माओवादीमा जस्तो चुप लागेर बस्नुपर्ने बाध्यात्मक अवस्था कांग्रेसमा छैन, हामी बोल्छौं । उहाँहरूमा लोकतान्त्रिक चरित्र छैन, हामीमा लोकतान्त्रिक चरित्र छ भनेकै यही हो ।

तपाईंको सक्रियता र पछिल्ला अभिव्यक्ति हेर्दा कतै तपाईं आफू सभापति बन्नका लागि त 'वार्मअप' गर्दै हुनुहुन्न ?

हाहाहा.... होइन होइन । मेरा उहाँ आदरणीय सभापतिजी नै हो । म मान्छु, पार्टी बिग्रिराखेको छ । पार्टी कमजोर भइराखेको छ । पार्टी लोकतान्त्रिक पद्धतिबाट हिँडिराखेको छैन । त्यो हिँडाउनु पर्‍यो भनेर भन्दाखेरी शेखर अगाडि बढ्यो भन्नु गलत हो ।

गणतान्त्रिक चरित्र स्थापित गर्नका लागि के गर्ने ?

गणतन्त्र ठीकै छ, राम्रै छ । अगाडि बढेकै छ । सन्तोषजनक नहुने कुरा होइन नि ! यो त बिस्तारै हुने कुरा हो । आशा धेरै गरेका थिए जनताले । त्यो त पूरा हुन सक्दैन । २–३ वटा कुरा हामीले विचार गर्नुपर्छ, सुशासन, भ्रष्टाचारमुक्त समाज, दण्डहीनताको अन्त्य यी सवालमा हामीले जोड दिएर अगाडि बढ्न सकियो भने गणतन्त्र आफैं स्थापित भएर जान्छ ।

अहिले गणतन्त्रको धर्म र मर्मअनुसार काम भएको छ ?

गणतन्त्र मात्र त पूरा गरेको छ । तर लोकतन्त्रमा भने अझै हामीले प्रयास जारी राख्नुपर्छ । लोकतन्त्रका त धेरै कुराहरू हुन्छन् । त्यो कुराहरूलाई हामीले मनन् गर्नुपर्ने हुन्छ । जस्तो संविधानमा लेखिएका कुराहरू छन्, त्यसलाई लागू गर्नुपर्‍यो । प्रधानन्यायाधीशलाई कामु प्रधानन्यायाधीशका रूपमा ३/४ महिनासम्म राख्नु हुँदैन । संवैधानिक निकायमा एक महिनाभन्दा बढी खाली राख्न पाइँदैन भनेर संविधान मै लेखेको छ । यस्ता कुराहरूलाई हामीले हेर्नुपर्ने हुन्छ । अहिले आइसकेको छैन र मैले नभनेको मात्र हो  । यो आउने क्रममा छ ।

प्रधानमन्त्री कार्यालयमा अविशिष्ट अधिकार किन चाहियो ? संसदीय व्यवस्थामा प्रधानमन्त्री सर्वेसर्वा हो, यो जरुरत छैन । अर्को कुरा गृहमन्त्रीले कन्ट्याक्टरहरूलाई गृहमन्त्रालयमा बोलाएर तपाईंहरूलाई थुनिदिन्छु भनिरहनु पर्ने आवश्यकता छैन । कानून छ कानूनअनुसार छैन भने थुनिदिए भइहाल्यो । बोलाएर धम्क्याउने तर्साउने होइन । यो लोकतन्त्र होइन । विधिको शासनमा त सबै हिँड्नुपर्छ । संविधानमा लेखिएको छ, ऐन कानुनमा लेखिएको छ, त्यसअनुसार काम गरेको छैन भने दण्डित गर्ने अधिकार त छँदैछ ।

जेठ १५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस