नेप्सेमा उच्च अंकले गिरावट, बिश्लेषक भन्छन्, ‘सरकारले बजारको सेन्टिमेन्ट बुझेन’

जेठ २०, २०७५

काठमाडौं, २० जेठ- शेयर बजार परिसूचक नेप्से आईतबार पनि घटेको छ । सरकारले पूँजीगत लाभकर बोनस र हकप्रद शेयरमा कर बढाएपछि त्यसको असर बजारमा देखिएको हो । आईतबार ३३ दशमलव ७१ अंकले बजार घट्दै १२ सय ७३ दशमलव ९५ अंकमा झरेको छ । आइतबार सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ९ अंकले ओह्रालो लागेको छ । 


कारोबारमा आएका सबै उपसमूह झरेका छन् । आइतबारको बजारमा बैंकिङ समुह, होटल, फाइनान्स यन्सुरेन्स लगायत अधिकांश कारोबार समुहको परिसूचक घटेको छ । 



बीमा सबैभन्दा बढी २९० दशमलव ८३ अंकले घटेको छ । यस्तै होटल ६१ दशमलव ४४ लघुवित्त ५५ दशमलव ०७, अन्य १७ दशमलव ७७, हाईड्रोपावर ३३ दशमलव ०९ र बैंकिङ २७ दशमलव ०४ अंकले घटेको छ ।
सरकारले बजारको संबेदना बुझ्न नसक्दा समस्या देखिरशने बजार बिश्देषक अनलराज भट्टराईको तर्क छ ।  सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ७ दशमलव ५ प्रतिशत पुर्याएको कर आन्तरिक राजश्व विभागले आइतबारबाटै लगानीकर्तालाई बोनस र हकप्रद सेयरको लागतमूल्य एक सय रुपैयाँ मानेर त्यसभन्दा बढीमा विक्री भएको सेयरमा लाभकर असुल्न नेप्से र सम्बन्धित निकायलाई पत्राचार गरेपश्चात नेप्से उच्च अंकले घटेको हो ।


सरकारले ल्याएको यो नीति एकाउण्टिङ प्रिन्सिपलअनुसार ठिक भए पनि नेपाली सन्दर्भमा यसले असर पारेको बिश्लेषक भट्टराई बताउँछन् । उनले भने, ‘शेयर बजारमा साना साना कुराले प्रभाव पार्छ, बजारको सेन्टिमेन्ट बुझेर मात्रै सरकारले नीति ल्याउनुपर्छ । कुनै पनि नयाँ नीति आउँदा पूर्व जानकरी हुनुपर्छ । यसपाली पनि एकाउण्टिङ प्रिन्सपलअनुसार ठिक भए पनि नेपालमा पूर्व जानकारी नहुँदा बजारमा नकारात्मक प्रभाव परेको हो ।’ 

जेठ २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस