अर्जेन्टिनाको लक्ष्य विश्वकपको सेमिफाइनल : तापिया

जेठ २८, २०७५

काठमाडौं, २८ जेठ – अर्जेन्टिना फूटबल एसोसिएसनका अध्यक्ष क्लाउडियो तापियाले विश्वकपको सेमिफाइनलमा पुग्ने लक्ष्य टीमले लिएको बताएका छन् । 

सन् २०१४ का उपविजेतालाई रुसमा हुने विश्वकपको प्रबल दाबेदार मानिएको छैन । उनीहरूलाई छनोटमा नै निकै मुश्किल परेको थियो । 

अर्जेन्टिनाका लागि सेमिफाइनल नै वास्तविक लक्ष्य रहेको तापियाको भनाइ छ । समूह डीमा अर्जेन्टिनाका प्रतिस्पर्धीहरू आइसल्यान्ड, क्र्रोसिया र नाइजेरिया छन् । 

लियोनेल मेस्सीले फेरि अर्जेन्टिनाको नेतृत्व गर्दैछन् । उनले देशका लागि प्रतिष्ठित उपाधि जित्नै बाँकी छ । रुसको विश्वकप नै आफ्नो अन्तिम विश्वव्यापी प्रतियोगिता हुने उनले संकेत दिएका छन् । 

तापियाले बार्सिलोनाका सुपरस्टार मेस्सीको चर्को प्रशंसा गर्दै उनी संसारकै सर्वोत्कृष्ट फरवार्ड भएको बताए । 

अर्जेन्टिनाले विश्वकपको पहिलो खेल शनिवार मस्कोमा आइसल्यान्डविरुद्ध खेल्दैछ ।

गोल डट्कमबाट 


जेठ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस