भारतमा भारी वर्षाले २ दिनमै ७९ जनाको मृत्यु : नेपालले केही पाठ सिक्ला ?

जेठ २९, २०७५

काठमाडौं, २८ जेठ – भारतका विभिन्न ठाउँमा भारी वर्षाका कारण भएका घटनामा परी विगत २ दिनमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये १६ जनाको भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘भारी वर्षाका कारण गत २ दिनमा यस राज्यका विभिन्न ठाउँमा भएका घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ,’ राज्यका एक मन्त्री इ चन्द्रशेखरनले प्रदेश सभामा गरेको सम्बोधनमा भने । उनले आंशिक र पूर्ण गरी कुल १२ सयभन्दा बढी घरमा क्षति पुगेको पनि जानकारी दिए ।


ADVERTISEMENT

घटनामा परी ज्यान गुमाएकाको परिवारलाई ४ लाख रूपैयाँ राहत रकम उपलब्ध गराउने घोषणा पनि मन्त्रीले गरे । भारी वर्षाबाट प्रभावित र पीडित हुनेमा केरलासहित केही अन्य राज्य पनि पीडित भएका छन् । भारतको उत्तर प्रदेशमा वर्षाका कारण भएका घटनामा परी कुल २६ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । 

त्यसैगरी, छिमेकी राज्य बिहारमा पनि गत हप्ता २७ जनाको मृत्यु भएको बताइएको छ । भारतका ५ प्रदेशमा गरी कुल २ सय ५० भन्दा बढीको मृत्यु गत महिनाको वर्षा र बाढी पहिरोका कारण भएको थियो । घटनामा परी अरु ४ सय जना घाइते भएका थिए ।

छिमेकी देश भारतमा बाढीपहिरोले क्षति पुर्याइरहेको अवस्थामा नेपालले पनि विपद्बाट बच्न पूर्वतयारी गर्नुपर्ने देखिन्छ । मनसुन पूर्णरुपमा सुरु नहुँदै भारतमा वर्षाका कारण भएका घटनाले धेरैले ज्यान गुमाएका छन् । मनसुन सुरु भएपछि हुने भारी वर्षापछि आउने बाढी र पहिरोले नेपालमा पनि धेरै क्षति पुर्याउने गरेको छ ।

जेठ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस