काठमाडौंमा क्रिएसनका पहिरनको फेसन सो, थरिथरिका पहिरन प्रदर्शन

काठमाडौं, २८ जेठ – द क्रिएसन इन्स्टिच्यूट अफ फेसन डिजाइनले अन्नपूर्ण होटलमा ‘फेसन नोभा २०१८ : सिजन–७’ शीर्षकको फेसन सो आयोजना गरेको छ ।

फेसन डिजाइन क्षेत्रलाई प्रवद्र्धन तथा व्यावसायिक रुपमा विकास गर्न द क्रिएसनले  फेसन सो आयोजना गरेको संस्थाकी अध्यक्ष मनिता थापाले बताएकी छन् । फेसन सोमा डिजाइनरहरू निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योति अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जुमना नेपाली, निर्मादा स्याङतान तथा सजिना विष्टले तयार पारेका पहिरनहरू प्रदर्शन गरिएका छन् ।

डिजाइनरले फेसन सोका लागि विभिन्न ७ वटा थिममा विशेष डिजाइन तयार पारेका थिए । जसअन्तर्गत ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टिस्टिक, ब्राइडल तथा कक्टेल वेयर सिक्वेन्समा विभिन्न पहिरनहरू प्रदर्शन गरिएका हुन् । ती पहिरन ७ वटै वटा सिक्वेन्समार्फत् प्रदर्शन गरिएको हो ।

फेसन सोमा मोडल तथा अभिनेत्री रेनुकासिंह ठकुरी, अभिनेता पृथ्वीराज प्रसाईं, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेत्री रक्षा श्रेष्ठ, मोडल निलम चन्द तथा बाल कलाकार कुशाग्र भट्टराईले क्याट–वाक गरेका थिए । उनीहरूलाई डेढ दर्जन व्यावसायिक मोडलले क्याट–वाकमा साथ दिएका थिए । फेसन सोमा पहिलो मिस नेपाल रुवी राणा शाह सो–स्टपर्सको रुपमा प्रस्तुत भएकी थिइन् । जेनिफर बज्राचार्यद्वारा संयोजन गरिएको फेसन सोलाई मोडल तथा कोरियोग्राफर विपना थापाले कोरियोग्राफी गरेकी हुन् ।

फेसन सोको क्रममा हाँस्य अभिनेता तथा जादुगर महादेव त्रिपाठी, गायिका सिर्जना गुरुङ, गायक ध्रुव विश्कोले गीत–संगीत प्रस्तुत गरेका थिए भने कलाकार अभिषेक श्रेष्ठले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

जेठ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार